निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार देशभर एकसाथ भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ।
निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ ।
प्रतिनिधि तथा प्रदेश सभाका लागि आइतवार यहाँ छिटपुट घटना वाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ प्रतिशतभन्दा वढी मत खसेको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि आज भएको निर्वाचन उदयपुरमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
धनुषा जिल्लामा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि आइतबार भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको प्रतिनिधि सभाका ४ र प्रदेश सभाको ८ वटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई मतपेटिका सङ्कलन गर्ने काम भइरहेको धनुषाका प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिनुभयो ।
सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको १ सय ६६ स्थानबाट ५ सय ९३ मतदान केन्द्रमा ६१ प्रतिशत मतदाताले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
बाजुराको त्रिवेणी नगरपालिकामा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सन्दीप अयडी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर ३ मा आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले तोकिएको समय बिहान ७ बजे सुरु भई साँझ ५ बजेसम्म मतदान कार्य निर्बाध रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदातामा स्थानीय तहको निर्वाचनजस्तो उत्साह देखिएन । स्थानीय तह निर्वाचन सम्पन्न भएको ७ महिनापछि भएको आमनिर्वाचनमा मतदातामा उत्साह नदेखिएको हो ।
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
भरतपुर –१० का भुवन आचार्य अपराह्न २ बजे भरतपुर १० स्थित भरतपुर माध्यमिक विद्यालय मतदान स्थलमा मतदान गरेर फर्कनुभयो । सोही वडाका विश्वनाथ ओझाले पनि सोही मतदान स्थलबाट बिहान सबेरै मतदान गर्नुभयो ।
निर्वाचन आयोगले राति पत्रकार सम्मेलन गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा जानकारी गराउन आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ।
बागलुङको जैमिनी नगरपालिका –४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ। बिहान ७ बजे शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको हो ।