चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर ४ गते । कैलाली क्षेत्र नम्बर ३ मा आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले तोकिएको समय बिहान ७ बजे सुरु भई साँझ ५ बजेसम्म मतदान कार्य निर्बाध रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
४५ मतदान स्थलका १२७ मतदान केन्द्रबाट ३ नम्बर क्षेत्रका मतदाताले मतदान गरेका थिए । एक लाख सात हजार ६५९ मतदाता रहेको सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
आइतबार बिहान मतदानका लागि युवादेखि ज्येष्ठ नागरिकसम्म मतदान केन्द्र पुग्नुभएको थियो । क्षेत्र ३ मा १८ वर्षका युवादेखि ९७ वर्षका ज्येष्ठ नागरिकले मतदान गरेका छन् । घोडाघोडी नगरपालिका –४ सुन्दरपुरका ९७ वर्षीया चन्द्रप्रसाद सापकोटाले नातिको सहायताले मतदान गरेको बताउनुभयो । उहाँले जनज्योति आधारभूत विद्यालय सिम्थरी मतदानस्थलमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभयो ।
गत चुनावमानजस्तो यस पटकको चुनावमा मतदाताको उत्साह घटेको बताइए पनि पहिलो पटक मतदान गर्ने युवाहरूको उपस्थिति उत्साहजनक थियो । घोडाघोडी १ का सपना ढकालले संसदीय चुनावमा पहिलो पटक मतदान गरेको अनुभव सुनाउनुभयो । उहाँले पुरानाभन्दा नयाँ अनुहारलाई काम गर्न दिनुपर्ने प्रतिक्रिया समेत दिनुभयो ।
अपाङ्ग, अल्पसङ्ख्यक, मुक्त कमैयालगायतले मतदानमा भाग लिएका छन् । घोडाघोडी ८ मा रहेको अल्पसङ्ख्यक राजी समुदायका ७० जनाले मतदान गरेका छन् । राजी समुदायका अगुवा दुर्गा राजीले मेलघट्टी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफूहरूले मतदान गरेको बताउनुभयो । हाम्रोभन्दा राम्रोलाई चुन्ने हिसाबले मतदान गरेको उहाँको भनाइ छ । चुनावमानजस्तो परिणाम आए पनि आफूहरूको रोजगारीको व्यवस्था गर्ने नीति, कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
त्यसैगरी क्षेत्र नम्बर २ को समेत आइतबार मतदान शान्तिपूर्ण सम्पन्न भएको छ । निर्वाचन अधिकृत तेज प्रकाश जोशीले छिटफुट रूपमा सामान्य विवाद भए पनि समाधान गर्दै मतदान सम्पन्न भएको बताउनुभयो । कैलाली क्षेत्र नम्बर २ मा ५१ वटा मतदान स्थलमा रहेका १२२ मतदान केन्द्रबाट मतदान भएको छ ।
एक लाख पाँच हजार मतदाता रहेको क्षेत्र नम्बर २ मा पनि ५५ प्रतिशतको हाराहारीमा मतखसेको जनाइएको छ । मतदान सकिएलगतै मतपेटिका मतदान अधिकृत, सुरक्षाकर्मीहरूले मतगणना स्थलसम्म सुरक्षित लग्ने काम भएको छ । मतगणना सबै मतदान स्थलबाट मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बसी सुरु हुने जनाइएको छ ।
क्षेत्र नम्बर २ को मतगणना स्थल लम्कीचुहा नगरपालिका भवनमा राखिएको छ । क्षेत्र ३ को मतगणनास्थल घोडाघोडी बहुमुखी क्याम्पसको हलमा राखिएको छ । कैलालीका पाँच निर्वाचन क्षेत्रमा ५२९ मतदान केन्द्रमा तोकिएकै समयमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेम भट्टले बताउनुभयो । पाँच लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा अनुमानित ६० प्रतिशत मत खसेको उहाँको भनाइ छ ।