नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । मतदानपछि पत्रकारसँग कुरा गर्दै उहाँले यस पटक विगतभन्दा बढी मत खस्ने बताउनुभयो ।
निर्वाचन आयोगले आइतबार मध्याह्नसम्म ३२ प्रतिशत मतदान भएको जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशभसा सदस्य निर्वाचन जारी रहेको बेला निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान स्थलमा उहाँले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्नुभएको हो ।
तेह्रथुममा ८८ वर्षीय वृद्धको मृत्यु भएको छ । मतदानका लागि हिँडेर मतदान स्थल पुग्नुभएको वृद्धको मृत्यु भएको हो ।
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नु भएको छ ।
पूर्व मन्त्री एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले मतदान गर्नुभएको छ । तिलोत्तमा वडा नम्बर ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
पश्चिम नवलपरासीको नगरपालिकाको मझौनीस्थित दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रका निर्वाचन अधिकृत मादक पदार्थ सेवन गरी कार्यस्थलमा फेला परेपछि निर्वाचन अधिकृत श्याममणीप्रसाद मण्डल मतदान अधिकृतबाट निलम्बनमा पर्नुभएको छ ।
निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री एवं झापा क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले मतदान गर्नुभएको छ ।
निर्वाचन आयोगले मतदान गर्ने क्रममा आफ्नो नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भएपछि गोली चलेको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाटै मतदान गर्नुभएको छ ।
माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन आयुक्तले काठमाडौंका विभिन्न मतदान केन्द्रमा पुगेर मतदान केन्द्रको अवलोकन गर्नुभएको छ ।
मुसीकोट नगरपालिका १ रुकुम कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ जना कैदीबन्दीहरुको मत खसेको छ ।