• १० चैत २०८२, मङ्गलबार

तौल घटाउने औषधीमा भारतको चेतावनी

blog

नयाँदिल्ली, चैत १० गते । तौल घटाउने औषधीको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले औषधी प्रयोगमा अनियमितता बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन कडा बनाएको जनाएको छ ।

ओजेम्पिक र वेगोवी जस्ता औषधीमा प्रयोग हुने सक्रिय तत्व सेमाग्लुटाइडको पेटेन्ट मार्च २० मा समाप्त भएसँगै भारतमा यसको जेनेरिक उत्पादन तीव्ररूपमा बजारमा आएको छ । विश्वकै सबैभन्दा ठुलो जेनेरिक औषधी आपूर्तिकर्ता मानिने भारतमा यसले मूल्य घटाउँदै पहुँच बढाएको छ । जिएलपी-१ वर्गका यी औषधीले रगतमा ग्लुकोजको स्तर र भोक नियन्त्रण गर्ने हर्मोनलाई प्रभाव पार्ने भएकाले मोटोपना विरुद्ध प्रभावकारी मानिन्छन् । 

तर स्वास्थ्य मन्त्रालयले यस्ता औषधी चिकित्सकको सिफारिस बिना प्रयोग गर्दा गम्भीर साइड इफेक्ट देखिन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार हाल बजारमा विभिन्न जेनेरिक भेरियन्ट उपलब्ध भएसँगै खुद्रा औषधी पसल, अनलाइन प्लेटफर्म, थोक बिक्रेता र वेलनेस क्लिनिकमार्फत अनियन्त्रित रूपमा बिक्री हुने जोखिम बढेको छ । “उचित चिकित्सकीय निगरानी बिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ”, मन्त्रालयले स्पष्ट पारेको छ ।

यसैसँगै भारतको औषधी नियामक निकायले निरीक्षण कडा बनाउँदै उत्पादकलाई भ्रामक प्रचार र औषधीको गलत प्रयोगलाई प्रोत्साहन गर्ने गतिविधिमा प्रतिबन्ध लगाएको जनाएको छ । विश्व मोटोपना महासङ्घका अध्यक्ष साइमन बार्केराले औषधीले मात्र मोटोपनाको समस्या समाधान नहुने बताउनुभयो । उहाँका अनुसार मोटोपना जटिल र दीर्घकालीन रोग भएकाले स्वस्थ जीवनशैली र रोकथामका उपाय उत्तिकै आवश्यक हुन्छन् ।

भारतमा तौल घटाउने औषधीको बजार पछिल्ला पाँच वर्षमा तीव्ररूपमा बढेको छ । सन् २०२६ सम्ममा यसको कारोबार १५ करोड ३० लाख डलर पुगेको छ भने सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुपोषणको एक तिहाइ हिस्सा अझै भारतमै रहेको भए पनि बढ्दो आय र सहरी जीवनशैलीका कारण मोटोपनाको दर तीव्र रूपमा बढिरहेको छ । 

सरकारी तथ्याङ्क अनुसार भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा छन् । यस अघि यस्ता औषधीको मासिक खर्च १५ हजारदेखि २२ हजार भारतीय रुपियाँसम्म पर्ने भएकाले प्रयोग सीमित थियो । तर पेटेन्ट सकिएपछि जेनेरिक सेमाग्लुटाइड औषधीको मूल्य घटेर एक हजार ३०० देखि चार हजार २०० रुपियाँसम्म पुगेको छ, जसले प्रयोगको दायरा विस्तार गरेको छ । यद्यपि सस्तो मूल्यसँगै अनियन्त्रित प्रयोगको जोखिम बढेकाले भारतले औषधीको सुरक्षित प्रयोगमा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ । रासस/एएफपी