• १३ साउन २०८१, आइतबार

धनुषामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

blog

धर्बेन्द्र झा 

धनुषा, मंसिर ४ गते । धनुषा जिल्लामा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि आइतबार भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको प्रतिनिधि सभाका ४ र प्रदेश सभाको ८ वटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई मतपेटिका सङ्कलन गर्ने काम भइरहेको धनुषाका प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालय धनुषाका अनुसार जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । स्थानीय निर्वाचनभन्दा यस पटकको निर्वाचनमा मतदान गर्नेको प्रतिशत घटन सक्ने अनुमान निर्वाचन कार्यालयले गरेको छ । 

विगतको निर्वाचनभन्दा यस पटकको निर्वाचनमा मतदाताको उत्साहमा भने कमी देखिएको छ । महिला मतदाताको उत्साहजनक सहभागिता देखिए पनि पुरुष मतदाताको सहभागिता कम देखिएको छ । धनुषाबाट धेरै युवाहरू विदेश पलायन भएका कारण पनि पुरुष मतदाताको सहभागिता सङ्ख्या कम भएको राजनीतिक विश्लेषक मना झाको भनाइ छ ।

प्रतिनिधि र प्रदेश सभाका लागि आज भएको मतदानमा धनुषामा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बिहानै मतदान केन्द्रमा गई मतदान गर्नुभयो । कांग्रेसका नेता बिमलेन्द्र निधि, कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, एमालेका सचिव रघुवीर महासेठ, पूर्व मन्त्री उमाशङ्कर अरगरिया, माओवादी केन्द्रका मातृका यादव, नेकपा एकीकृत समाजवादीका रामचन्द्र झासहितकाले आज बिहानै सबैमा आग्रह गर्नुभएको थियो ।