• १३ असोज २०८१, आइतबार

मकवानपुरको सबै मतदान केन्द्रमा सुरक्षा प्रबन्ध

blog

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नं. २ को हेटौँडा उपमहानगरपालिका १ रोपवेस्थित मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : राममणि दाहाल ।

राममणि दाहाल

हेटौँडा, मङ्सिर ४ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुरमा आइतबार बिहानैबाट मतदान जारी रहेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएसँगै मतदान केन्द्र र वरपरको क्षेत्रमा चहलपहल सुरु भएको हो । 

मतदान शान्तिपूर्ण सम्पन्न गर्न तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना सुरक्षाका लागि रहेका छन् । सुरक्षाकर्मीले मतदातासँगै, मतदान केन्द्र मतपत्र र मतपेटिकाको सुरक्षा गर्नेछन् । मकवानपुरमा म्यादी प्रहरी एक हजार ६९९, जनपथ प्रहरी एक हजार ६९, सशस्त्र प्रहरी चार सय र नेपाली सेना खटाइएको छ ।

जिल्लाको १६७ मतदान स्थल र दुई अस्थायीसहित ३६६ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाको सबै मतदान केन्द्रमा मतदाताले निर्बाध रूपमा मतदान गरिरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाको प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १७ जना र क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १० जना प्रतिस्पर्धामा छन् ।

यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा दुई स्वतन्त्रसहित १० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ स्वतन्त्रसहित १५ जना तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा तीन स्वतन्त्रसहित आठ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ तीन स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएको छ ।

मकवानपुरमा आइतबार जारी निर्वाचनका लागि एक लाख ५३ हजार ५२८ पुरुष, एक लाख ४७ हजार दुई सय महिला र अन्य पाँच जना गरी तीन लाख ७३३ मतदाता कायम भएको छ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ७४ हजार ९३० पुरुष, ७५ हजार २२१ महिला र अन्य चार गरी एक लाख ५० हजार १५५ मतदाता मतदानमा सहभागी हुँदै छन् । निर्वाचन क्षेत्र नं. २ मा ७८ हजार ५९८ पुरुष, ७१ हजार ९७९ र अन्य एक जना गरी एक लाख ५० हजार ५७८ मतदाता रहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १७२ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. २ मा मतदान स्थल १०५ र मतदान केन्द्र १९२ वटा रहेको छ । 

यसैगरी मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष ४० हजार १११, महिला ३७ हजार ८७७ र अन्य एक गरी कुल मतदाता ७७ हजार ९८९ जना तथा प्रदेश सभा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३४ हजार ८१९, महिला ३७ हजार ३४४ र अन्य तीन जना गरी ७२ हजार १६६ मतदाता छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा पुरुष मतदाता ४२ हजार ८४३, महिला मतदाता ४० हजार २५५ र अन्य एक जना गरी ८३ हजार ९९ जना तथा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३५ हजार ७५५ र महिला ३१ हजार ७२४ गरी ६७ हजार ४७९ जना रहेका छन् । 

प्रतिनिधि सभा १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा मतदान स्थल ४७ र मतदान केन्द्र ९५,  क्षेत्र नं. २ मा मतदान स्थल १५ र मतदान केन्द्र ७७ तथा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ मा मतदान स्थल ५६ र मतदान केन्द्र १०८, प्रदेश सभा २ मा मतदान स्थल ४९ र मतदान केन्द्र ८४ रहेको छ ।