• १३ असोज २०८१, आइतबार

डोटीमा तीन प्रतिशत मत खस्यो

blog

शिखर नगरपालिका – ७ लाटामाण्डौं मावि मतदान केन्द्र । तस्विर : केशवचन्द्र महरा ।

केशवचन्द्र महरा 

दिपायल, मङ्सिर ४ गते । डोटीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाका एक सय ७८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया हुँदै गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।

“शान्तिपूर्ण र भयरहित वातावरणमा मतदाताले मतदान गरिरहेका छन्," उहाँले भन्नुभयो,"कुनै पनि स्थानमा अप्रिय घटना नहुन सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।"

मतदान सुरु भएदेखि ३ घण्टाको अवधिमा ३ प्रतिशत जति मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । बिहानको समय भएका कारण मतदाताहरू कमै मात्रामा मतदान केन्द्रमा पुग्नुभएको छ," उहाँले भन्नुभयो,"यहाँका मतदाता ढिलो गरी मतदान गर्न आउनु हुँदो रहेछ । मतदान केन्द्रमा त्यस्तो भीडभाड देखिँदैन ।  लाइनमा मतदाता काम देखिन्छन्।"

जिल्लाका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । हालसम्म जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।

डोटीमा मतदानका लागि एक सय १५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित एक सय ७८ वटा मतदान केन्द्र तोकिएको छ । 

१० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र एक सय ३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रूपमा छुट्याएको हो ।