सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय
वासुदेव पौडेलरगण्डकी, भदौ १५ गते । पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने क्रम बढ्दै गएको छ । विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय ।समुदायको सक्रियतामा २०५८ सालमा बाचनालयका रूपमा स्थापित भई पछि यसलाई पुस्तकालयका रूपमा विकास गरिएको थियो । पाठकहरूलाई लक्षित गरी पुस्तकालयलाई समयसापेक्ष थप व्यवस्थित बनाइएको पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिनुुभयो ।उहाँका अनुसार पुस्तकालयमा विभिन्न कक्षहरू तयार गरिएको छ । ती कक्षहरूमा दिनानुदिन विद्यार्थी तथा पाठकहरू आउने गरेका छन् । पुस्तकालयमा प्रवेश गर्नासाथ भित्तामा झुन्ड्याइएका पोखरा र आसपासका तालतलैयाका तस्वीर, यस आसपासका क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका तस्वीर तथा वेषभूषा आदिले जो कोहीलाई यस क्षेत्रको मौलिकता बुझ्न सहयोग पुर्याउने गरेको छ ।पुस्तकालयमा रहेको बालकक्षमा बालबालिकालाई बाल मनोवैज्ञानिक प्रविधिबाट सिक्न सक्ने तवरबाट खेलौनालगायतका सामान राखिएका छन् । यसका अतिरिक्त पुस्तकालयले कथा, चित्रकला, खेलकुद र हाजिरी जवाफ प्रतियोगितासमेत समय–समयमा गर्दै आएको भण्डारीले जानकारी दिनुुभयो । पुस्तकालयमा आएर बालबालिकाले आफ्ना रुचिअनुसारका पुस्तक पढ्नुका साथै खेल्ने र विभिन्न मौलिक सिर्जनासमेत गर्ने गरेको उहाँले बताउनुभयो ।पुस्तकालयको महिला कक्षमा महिलासम्बन्धी बैठक, तालिम, गोष्ठी गरिनुका साथै त्यहाँ महिला अधिकार, महिला स्वास्थ्य, शिशु स्वास्थ्यजस्ता पत्रपत्रिका, पाठ्यसामग्री आदि राखिएको छ । उक्त कक्षबाटै हरेक महिना महिला तथा शिशु स्वास्थ्य सेवा प्रदान गर्दै आइएको छ । पुस्तकालयकै सक्रियतामा दीपशिखा महिला कृषि सहकारीसमेत सञ्चालनमा आएको र सहकारीमा हाल चार सय ५० जना महिला आबद्ध रहनुुभएको पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले जानकारी दिनुुभयो । सहकारीले कृषिसम्बन्धी तालिम साथै आलुको बीउ उत्पादन गर्दै बिक्री–वितरणसमेत गर्दै आएको छ । यस वर्षमात्रै सहकारीले आफ्ना सदस्यलाई वितरण गरी ५० किलोग्राम तौलका एक सय १४ बोरा आलुको बीउ बिक्री गरेको थियो ।पुस्तकालयले रिड नेपालसँगको सहकार्यमा ५५ जना किरोशीलाई प्रविधि, नेतृत्व विकास, सशक्तीकरण एवं जीवनोपयोगी तालिमसमेत सञ्चालन गर्दै आएको छ । उक्त तालिमले उनीहरूमा सशक्तीकरण एवं विभिन्न क्षमता अभिवृद्धि गराएको पुस्तकालयका कार्यालय प्रमुख धनु पहारीले बताउनुभयो ।पुस्तकालयमा रहेको श्रव्यदृश्य कक्षमा कृषि, वातावरणजस्ता उपयोगी श्रव्यदृश्य सामग्री देखाइने र निरक्षर व्यक्तिसमेत यसबाट लाभान्वित बन्ने गरेका छन् । पुस्तकालयमा श्रव्यदृश्यसमेत देखाउन मिल्ने सुविधा सम्पन्न ८० जना व्यक्ति बस्न सक्ने किसिमको तालिम कक्षको व्यवस्था गरिएको छ । तालिम कक्षमा विभिन्न सङ्घसंस्थाले बैठक तथा सेमिनार गर्ने गरेका छन् । बैठक तथा सेमिनार कक्ष प्रयोग गरेवापत सेवा शुल्क रु दुई हजार ५०० लिने गरिएको र उक्त रकमले पुस्तकालयको सञ्चालनमा राहत पुग्ने गरेको छ ।खेलकुद तथा सङ्गीत कक्षमा युवाहरूलाई लक्षित गरी विभिन्न खेलकुद र वाद्यवादनका सामग्री राखिएका छन् । पुस्तकालय क्षेत्रका बाल क्लब तथा युवा क्लबहरू यस कक्षबाट लाभान्वित भएका छन् । पुस्तकालयको कम्प्युटर कक्षबाट इमेल, इन्टरनेट, कम्प्युटर शिक्षा उपलब्ध गराइएको छ । यस कक्षमा महिला, शिक्षक, बालबालिका र युवाहरूलाई कम्प्युटर शिक्षा तथा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको उहाँले बताउनुुभयो । पुस्तकालयमा आएर आधारभूत कम्प्युटर तालिमसमेत निःशुल्क उपलब्ध गराइने गरिएको र त्यसबाट धेरै व्यक्तिहरू स्वरोजगार बन्न सफल बनेका छन् ।पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार पाँच सयभन्दा बढी पुस्तक रहेका छन् । पुस्तकालयमा एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको बताउँदै कार्यालय प्रमुख पहारीले विभिन्न विधाका पुस्तकका अतिरिक्त विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यपुस्तक र राष्ट्रिय तथा स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका उपलब्ध रहेको जानकारी दिनुभयो ।पुस्तकालयमा समाजमा प्राचीनकालदेखि दैनिक जीवनमा प्रयोगमा आउने गरेका सामग्रीबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ सङ्कलन गरी राखिएको छ । “पुस्तकालयमा पाठक सदस्यता निःशुल्क व्यवस्था गरिएको छ, परिचयपत्रवापत रु एक सयमात्र लिने गरेका छौँ”, उहाँले भन्नुुभयो, “विद्यार्थी तथा पाठकका लागि पुस्तक घरमा लान सकिने व्यवस्था मिलाइएको छ ।”पुस्तकालयले अघिल्लो वर्ष देशकै नमूना सामुदायिक पुस्तकालयको कदरपत्र नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयबाट पाएको थियो । नगर विकास कोष, तत्कालीन लेखनाथ नगरपालिका र स्थानीय जनसहयोगबाट पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भएसँगै यसको दीर्घकालीन सञ्चालनमा सहयोग पुुगेको हो । विभिन्न दाताबाट प्राप्त सहयोगसँगै भवनमा रहेका सटरलाई भाडामा लगाएर पुस्तकालयको सञ्चालनमा आर्थिक स्रोत जुटाउने गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।“सानो–सानो सहयोगबाट बचत गर्दै पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि रु १८ लाखको अक्षकोष स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “पुस्तकालयको व्यवस्थापनलाई चुस्तदुरुस्त राख्नका लागि करार सेवामा एक र स्थायी सेवामा दुई जना कर्मचारीको व्यवस्था गरिएको छ ।”पुस्तकालयमा हालसम्म एक सय ५२ जना आजीवन सदस्य रहनुुभएको छ भने २५ वटा संस्था संस्थागतरूपमा आजीवन सदस्य रहेका छन् । हाल साधारण सदस्यको सङ्ख्या दुई सय रहेको छ भने दैनिक पुस्तकालयमा आउने पाठकको सङ्ख्या ४० देखि ५० जना रहेको छ । पुस्तकालयले वार्षिकपमा पाठकको रुचिअनुसारका नयाँ–नयाँ पाठ्पुस्तक नियमित किन्दै आएको छ ।नवीनतम् प्रविधिको प्रयोग गरिएको पुस्तकालयले प्रत्येक वर्ष पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ हाजिरी जवाफ, हिज्जे, निबन्ध, वक्तृत्वकला, वादविवाद प्रतियोगिताका साथै निरन्तर शिक्षा कक्षा सञ्चालन गर्दै आएको छ । पुस्तकायलकै सक्रियतामा युवाका लागि जीवनोपयोगी सीपमूलक तालिम, मोबाइल मर्मत, हाउसवायरिङ, ब्यूटीपार्लर, सिलाइकटाइ, गुडिया बनाउने मौरीपालनजस्ता थुपै तालिम प्रदान गरिसकिएको छ ।समाजमा पढ्ने भावनाको विकाससँगै आयोगको तयारी गर्ने पनि लाभान्वित पुस्तकालय सञ्चालनले आसपासका युवाहरू आफ्नो फुर्सदको समयलाई पढ्ने काममा उपयोग गर्ने गरेका छन् । विश्वविद्यालय तथा क्याम्पसको थप अध्ययन एवं छात्रवृत्तिका लागि तयारी एवं लोक सेवा आयोगको तयारी गर्ने विद्यार्थीले पुस्तकालयको उपयोग गर्ने गरेको भण्डारीले जानकारी दिनुभयो । “समाजमा जथाभावी हिँड्ने, होहल्ला गर्ने प्रवृत्तिलाई पनि पुस्तकालयले न्यूनीकरण गर्न मद्दत पुर्याएको छ”, उहाँले भन्नुभयो, “सामाजिक सचेतनासँगै पठन संस्कृतमा जागरण ल्याउन पुस्तकालय बरदान सावित बनेको छ ।”सामुदायिकस्तरबाट सञ्चालनमा आएको दीपशिखा पुस्तकालयले समाजमा सचेतनासँगै जागरणका लागि पुर्याएको योगदान देशका अन्य स्थान र समुदायका लागि पनि प्रेरणादायी रहेको पत्रकार विष्णुहरि पौडेलले बताउनुहुन्छ । “दीपशिखा पुस्तकालय समाजमा सचेतना अभिवृद्धि र जागरणका लागि सेतु बनेको छ”, पौडेलले भन्नुभयो, “सामुदायिक प्रयासबाट स्थापित बनेको यसको दीर्घकालीन सञ्चालन र प्रभावकारी व्यवस्थापनका लागि राज्यको सहयोग अपहिरार्य छ ।”संस्थागत रुपमा नै पुस्तकालय दिवसपछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा सरकारले संस्थागतरूपमा नै पुस्तकालय दिवस मनाउन थालेको १५ वर्ष पुगिसकेको छ । प्रत्येक वर्षको भदौ १६ गते मनाइने पुस्तकालय दिवस यस वर्ष पनि भव्यताका साथ मनाउने तयारी गरिएको छ । सरकारले देशैभरका स्थानीय तहलाई पठन संस्कृतिको विकासमा सहयोग गर्न विभिन्न कार्यक्रमका साथ पुस्तकालय दिवस मनाउन निर्देशन दिएको छ ।नेपालमा १८६९ भदौ १५ गते तत्कालीन राजा गीवार्णयुद्ध विक्रम शाहले हनुमानढोकामा ‘पुस्तक चिताइ तहबिल’ स्थापना गर्नुभएको थियो । उक्त समयमा पुस्तकालयको रेखदेखका लागि पं केदारनाथ झालाई जिम्मेवारी दिइएको थियो ।पुस्तक चिताइ तहबिलका रूपमा पुस्तकालयसम्बन्धी पहिलो कानुन बनेको उक्त त्यही दिनको स्मरण गर्दै नेपालमा २०६५ सालदेखि औपचारिकरूपमा पुस्तकालय दिवस मनाउँदै आइएको हो । पछिल्लो तथ्याङ्कले नेपालमा सामुदायिक पुस्तकालयको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ ।सामुदायिक जागरणका लागि पुस्तकालय अपरिहार्य भएको ठहर गर्दै तत्कालीन समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत केही बौद्धिक व्यक्तित्वहरूले प्रधानमन्त्री भीमशम्शेरका पालामा पुस्तकालय स्थापना गर्दा १९८७ सालमा ‘लाइब्रेरी पर्व’ भएको थियो । त्यस समयमा पुस्तकालय स्थापना गरेवापत तत्कालीन सरकारबाट उहाँहरूलाई जनही रु एक–एक सय जरिवाना तिराइएको थियो । सोह्रौँ पुस्तकालय दिवसका अवसरमा दीपशिखा पुस्तकालयमा नाटक प्रदर्शनी, गायन तथा नृत्य, कविता वाचन, पुस्तकालयसम्बन्धी चित्र प्रदर्शनी आदि कार्यक्रम आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । रासस
गुर्जामा स्याउखेतीको परीक्षण सफल
म्याग्दी, भदौ१५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिनुुभयो । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उहाँले भन्नुुभयो, “सबै बोटमा फल लागेको छ ।” गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार सात सय मिटर छ ।गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर घेराबार गरी स्याउको बगैँचा बनाएको थियो । नाइलीबाङमा २६ कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका हुन् । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती गरिएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८÷७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियोे ।आव २०७७÷७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पाँच सय ९२ बिरुवा रोपिएका थिए । कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुुर्मीले गुर्जामा जिल्लामै पहिलोपटक स्याउखेतीको परीक्षण सफल भएको बताउनुुभयो । “हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउखेती थालिएको थियो”, उहाँले भन्नुुभयो, “छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउखेती विस्तारको सम्भावना बढेको छ ।”यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “उच्च घनत्वको स्याउखेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौँ ।” रासस
एक चौथाइ नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा
सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पर्वत जिल्लाका २८ प्रतिशत नागरिकले मात्रै सेवा लिएका छन्। बाँकी ७२ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर छन्। नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारले सुरु गरेको कार्यक्रम प्रभावकारी हुन नसक्दा एक तिहाइले पनि सेवा लिन नसकेका हुन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ३० हजार ८७८ मध्ये हालसम्म कुल ३६ हजार सात जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन्।
दलित समुदायद्वारा पुरोहितबाट सामुहिक जनै धारण
यहाँका दलित समुदायले आफ्नै पुरोहितबाट सामुहिक रक्षाबन्धन तथा जनै धारण गरेका छन् । समाजमा जातीय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि आफ्नै पुरोहितबाट सामुहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको दलित अगुवाहरुले बताएका छन् ।
पोखरामा २३ वर्षपछि बाघ जात्रा
बिहीबार गाईजात्रा मनाएको नेवारी समुदायले सोमबार अर्को विशेष उत्सव बनाउँदै छन् । पोखरामा २३ वर्षपछि १८ गते सोमबारदेखि २० गते बुधबारसम्म बाघ जात्रा देखाइँदै छ ।
पहिरोले सात घर विस्थापित
जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठुलो क्षति पुर्याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
राजनीतिक आडमा मिटरब्याज, अनुचित लेनदेनमा बैङ्कका हाकिम
राजनीतिक आडमा मिटरब्याजको बिगबिगी भएको छ । समाजमा नाम र पैसा दुवै कमाएकाहरू नै बढी अनुचित लेनदेनमा सक्रिय रहेका छन् । मिटरब्याजलाई सरकारले गैरकानुनी धन्दा भनेपनि गाउँघरमा यसको संयन्त्र बढ्दो छ ।
उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला
उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज (बिहीबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ ।
उन्नाइस रोपनी जमिनमा सयपत्री फूल
तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो ।
अर्जुनचौपारीमा निःशुल्क लोकसेवाको कक्षा
युवाहरू सरकारी जागिर तयारी कक्षाका लागि हजारौँ खर्च गरिरहँदा अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।
स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान
एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् ।
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल
जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो ।
हराएका सदस्य आउने आसमा परिवार
नवलपुरको देवचुली नगरपालिका–१५ की टीका रानाभाट सम्पर्कविहीन भएको २५ वर्षभन्दा बढी भयो। २०५५ सालमा बिहान साथीकहाँ हिँडेकी १७ वर्षीय रानाभाट त्यसपछि सम्पर्कमा आउनुभएको छैन। उहाँको अहिलेसम्म अत्तोपत्तो नहुँदा आफन्त चिन्तित छन्। उहाँसँगैका साथीहरू गाउँघरमा देख्दा अभिभावकका आँखा रसाउँछन्।
संस्कृति जोगाउन युवा सक्रिय
यहाँका युवा तीन सय वर्षभन्दा पुरानो संस्कृति जोगाउन सक्रिय भएका छन्। नेवारी समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरणका लागि बेनीका युवाले सक्रियता देखाएका हुन्। युवाले अहिले बेनीमा बर्खे नाच अन्तर्गतका विभिन्न नाच प्रदर्शन गरिरहेका छन्। बर्खे नाच नेवारी समुदायको मौलिक कलासंस्कृति हो। बर्खे नाच देखाउने सबै कलाकार १३ वर्षदेखि २४ वर्षको उमेर समूहका छन्। १२ देखि १५ वर्ष भित्रकाले मृदङ्ग, मादल, -याली र ढोलकी बजाइरहेका छन्। एक जना युवाले तीन सय वर्षदेखि प्रयोग गर्दै आएको खप्पर (मुखौटो) लगाएर बाजाको तालमा लाखेनाच देखाउँछन्। एक जना अन्दाजी नौ वर्षका र अर्का १७ वर्षका युवा पनि मुख्य लाखेसँगै नाचिरहेका देखिन्थे।
‘जनतासँग गरिएको वाचा पूरा गर्न सकिएन’
नेपाली कांग्रेसका नेताहरूले संविधान कार्यान्वयन ढिलो भएका कारण जनअपेक्षाअनुरूप समृद्धिको काम हुन नसकेको बताउनुभएको छ । पोखरामा आज आयोजित टक सेन्टरको कार्यक्रममा वक्ताहरूले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय लोकमार्गको दुरवस्था : यात्रुलाई सास्ती
सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ ।
विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
विषालु च्याउ खाँदा चार जना बिरामी
नवलपुरमा विषालु च्याउ खाएर चार जना बिरामी भएका छन् ।
स्याङ्जामा बाह्रै महिना सुन्तला
सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा १२ महिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ ।
रोकिएन कालीगण्डकी दोहन
विश्वमै एक मात्र शालिग्राम पाइने नदी कालीगण्डकीको दोहन वर्षामा पनि रोकिएको छैन। म्याग्दी, बागलुङ र पर्वतका अधिकांश स्थानमा नदी दोहन गरी बालुवाका पहाड निर्माण गरिएको छ। स्थानीय प्रशासन भने नदीमा प्रहरी खटाएर राखेको बताउँदै आएको छ। असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ। प्रहरीदेखि स्थानीय तह र जिल्ला समन्वय समितिसमेत देखेर पनि नदेखेजस्तै गरिरहेको आमनागरिकको गुनासो छ।
जुवा खालबाट पक्राउ परेका पालिका अध्यक्ष धरौटीमा छुटे
जूवा खालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका छन् । जूवा खालबाट पक्राउ परेका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका हुन् ।
'गोल्डकप’मा तीन लाख बचत
सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ ।
च्याउ खेतीको आकर्षण : लगानी थोरै, आम्दानी धेरै
पूर्बी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ कृषकको आर्कषण बढ्दो छ । च्याउ खेती गर्ने कृषक मेहनत गरेमा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नेगरेका छन् ।
तडकभडक र खर्चिलो तीज कार्यक्रम गर्नेलाई कारबाही
जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ ।