• १९ असार २०८१, बुधबार

तडकभडक र खर्चिलो तीज कार्यक्रम गर्नेलाई कारबाही

blog

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ १२ गते । जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । मङ्गलबार सूचना निकालेर कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्ने बाहेकका कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो ।

हिन्दु महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ । तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर भइरहेका छन् । हरितालिका तीज व्रतको अघिल्लो दिन दर खाने चलन छ । एक दिन घर, माइतमा पुगेर खाइने मिष्टान्न भोजनको नाममा महिनाभर भोज गर्नु अनुचित भएको नारी जागरण अभियान गण्डकी संयोजक अञ्जु केसी बताउनुहुन्छ । 

अभियानको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर तीज लक्षित भड्किला कार्यक्रम रोक्न पहल गर्ने माग गरेको थियो । सार्वजनिक स्थल, पार्टी प्यालेसमा तीजको नाममा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव नगर्नसमेत प्रशासनले निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सूचनामा कसैले सूचना विपरीत गरे-गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।