• २ असार २०८१, आइतबार

एक चौथाइ नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

blog

गणेश पौडेल

पर्वत, भदौ १५ गते  । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पर्वत जिल्लाका २८ प्रतिशत नागरिकले मात्रै सेवा लिएका छन्। बाँकी ७२ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर छन्। नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारले सुरु गरेको कार्यक्रम प्रभावकारी हुन नसक्दा एक तिहाइले पनि सेवा लिन नसकेका हुन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ३० हजार ८७८ मध्ये हालसम्म कुल ३६ हजार सात जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन्। 

जसमध्ये १८ हजार ८९२ महिला र १७ हजार ११३ पुरुषले बिमा गराएको स्वास्थ्य बिमा बोर्ड पर्वतका कार्यालय सहायक कमलाकुमारी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार १३ हजार ४३९ परिवारले मात्रै बिमा गराएका हुन्। नेपाल सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एचआइभीपीडितलाई समेत छुटको व्यवस्था गरेको छ। पर्वत जिल्लामा छ हजार ४८० ज्येष्ठ नागरिक, १७७ जना अपाङ्गता भएका र ५० जना एचआइभीपीडितले निःशुल्क बिमा गराएको शर्माले जानकारी दिनुभयो।  

बिमा गरिसकेपछि एक लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार हुने गर्दछ। पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले आधारभूत वर्गसम्म पुग्न नसक्दा नागरिक अझै पनि मोटो रकम खर्च गरेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यतामा रहेको बताउनुभयो। 

आमनागरिकसम्म स्वास्थ्य बिमाको प्रभावकारिताका विषयमा जानकारी नहुँदा अझै पनि लक्षित वर्गसम्म बिमाको पहुँच पुग्न सकेको छैन। स्वास्थ्य बिमाका लागि पाँच जनासम्मको परिवारले वार्षिक ३५ सय बिमा शुल्क तिर्नुपर्ने हुन्छ। कतिपय परिवारले बिमा बराबरको रकम तिर्न नसक्दा पनि पहुँच घटेको बताइएको छ। केही स्थानीय तहले विपन्न वर्गको पहिचान गरेर बिमा रकम तिरेको भए पनि त्यसलाई समेत निरन्तरता दिन नसक्दा एक वर्ष सेवा लिने तर अर्को वर्षदेखि नवीकरण नगरेको पाइएको हो।