• १७ असार २०८२, मङ्गलबार

आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक छैन : सांसद भुसाल

blog

नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडाैं, असार १७ गते । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक नरहेको टिप्पणी गर्नुभएको छ । 

राष्ट्रिय सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले यस्तो बताउनुभएको हो । 

उहाँले अगामी आर्थिक वर्षको विनियोजन समेत मन्त्रालयगत र क्षेत्रगत हिसाबले सन्तुलित नरहेको टिप्पणी गर्नुभयो । अगामी आर्थिक वर्षको बजेट विनियोजन किसानमैत्री नभएको समेत उहाँको भनाइ छ । सांसद भुसालले २०२८ सालदेखि सधैं घाटाको बजेट आइरहेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बजेटमा घाटाको अनुपात बढ्दै गएको छ । हामीले घाटाको बजेट बनाउन थालेको २०२८ सालदेखि हो । २०२७ सालको बजेटमा हाम्रो केही करोड रुपैयाँ बचत थियो । आर्थिक वर्ष २०२८-२०२९ को बजेटमा ११.८१ प्रतिशत घाटा थियो । त्यो बढ्दै गएर आर्थिक वर्ष २०८०-२०८१ मा २५.८५ प्रतिशतमा पुग्यो र अहिले ३०.३२ प्रतिशतमा पुगेको छ । 

यसले बजेटमा हामीले प्रत्येक वर्ष घाटाको अनुपात बढाउँदै गएको छ । अब कसरी यस बजेटलाई यथार्थपरक भन्ने प्रश्न उठिरहेकै छ । त्यसकारण बजेटमा चित्त बुझाउने ठाउँ चाँही देखिदैन । दोस्रो कुरा यो विनियोजन पनि सन्तुलित छैन । मन्त्रालयगत हिसाबले पनि सन्तुलित छैन, क्षेत्रगत हिसाबले पनि सन्तुलित छैन । सबैभन्दा चित्त दुख्ने के भने यो विनियोजन किसानमैत्री छैन ।’

कुल गार्हस्थ्य उत्पादनको मुख्य संवाहक कृषि भनिएपनि बजेटमा उपेक्षा गरिएको भन्दै आपत्ति जनाउनुभयो ।