• १८ असार २०८२, बुधबार

निकुञ्जभित्र जिप सफारी बन्द

blog

चितवन राष्ट्रिय निकुञ्जको मेघौलीमा जिप सफारी गर्दै पर्यटक । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असार १७ गते । बर्सातमा जोखिमको समस्या आउने भन्दै चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराको प्रजननको समय र बर्सातमा यात्रा गर्ने बाटो जोखिम हुने भएकाले असार १६ गतेदेखि लागु हुने गरी जिप सफारी बन्द गरेको जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले असारमा बस्न गरिएको सफारी असोजको पहिलो हाप्ताबाट सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । त्यस समयमा बर्सातको अवस्थालाई ध्यान दिएर सञ्चालन गर्ने बताउनुभयो । बर्खायामको समयमा निकुञ्जका बाटो बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ । निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौ वटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्छन् । निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जिप सफारी नियमित सञ्चालन हुने छ ।

निकुञ्जभित्र सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्रमा भने सफारी सञ्चालनमा रहने छ । क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले जनावर हेर्न आउनेलाई सामुदायिक वनमा हेर्न पाइने जानकारी दिनुभयो । हात्ती सफारी, जिप सफारी मध्यवर्ती वनमा सञ्चालन हुने बताउनुभयो । “यस समयमा पर्यटक कम भएकाले सौराहा सुनसान झै भएको बताउनुभयो । बर्सातले गर्दा पर्यटक कम भएका छन्,” उहाँले भन्नुभयो, “अहिले १० प्रतिशत मात्र पर्यटक आएका छन् । बुटवल–नारायणगढको बाटोमा भएको समस्याका कारण यहाँको पर्यटन क्षेत्रमा समस्या परेको छ ।”