• १७ असार २०८२, मङ्गलबार

राष्ट्रिय सडक सञ्जालसँग जोडियो हुम्ला

blog

२६ वर्षपछि हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि नेपालगन्ज र सुर्खेतबाट हुम्ला पुगेको सवारीसाधन । तस्विर : नन्द सिंह

नन्द सिंह

रलिङ (हुम्ला), असार १७ गते । हुम्ला जिल्ला राष्ट्रिय सकड सञ्जालसँग जोडिएपछि हुम्ली नागरिकको सपना पूरा भएको छ । ७७ जिल्लामध्ये जोडिन बाँकी रहेको हुम्ला जिल्ला विसं २०८२ मा आएर राष्ट्रिय सकड सञ्जालसँग जोडिएको हो । 

खार्पुनाथ गाउँपालिका–५, खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भए पनि सो बेलिब्रिजको उद्घाटन भने हुनसकेको छैन । उक्त पुलको उद्घाटन असार २१ गते हुने जनाइएको छ । ठुला ट्रक र टिप्परसहितका सवारीसाधन भने नियमित वारपार हुँदै आएका छन् । नेपालगन्ज, सुर्खेतदेखि हुम्लाको सदरमुकाम सिमकोटमा गाडी सञ्चालनमा आएपछि यहाँका व्यवसायीलाई सहज भएको छ । हवाई माध्यमबाट ढुवानी हुँदै आएको सामग्रीभन्दा गाडीले ढुवानी गर्न सुरु गरेपछि व्यवसायीको सामान सस्तो मूल्यमा आउन थालेको स्थानीय लोग भण्डारीले बताउनुभयो । उहाँले गाडीबाटै सामान ढुवानी हुनथालेपछि उपभोक्तालाई सहज भएको बताउनुभयो ।

चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा भएको हो । राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोर विसं २०५६ मा शिलान्यास भएको थियो । दक्षिणको नेपालगन्ज–जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने यो कोरिडोर ६८२ किलोमिटर लामो छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली कोरिडोरको शिलान्यास भएको थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि हिल्सा नाका पुग्न ४१० किलोमिटरको यो सडक निर्माणको जिम्मा सुरुदेखि २०६६ सालसम्म सडक विभाग आफैँले लिएको थियो । नेपाली सेनाले बनाएकोबाहेक हिल्सा–सिमकोट खण्डको १४५ किलोमिटर ट्र्याक खोल्न र चार वटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९÷७० देखि आव २०७९÷८० सम्मको लागत चार अर्ब १० करोड रुपियाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदन अनुसार भौतिक प्रगति २२.५ प्रतिशत भएको देखिन्छ । कुल १४५ किलोमिटरमध्ये १३० किलोमिटर ट्र्याक खोलेको देखिन्छ । कर्णाली कोरिडोरका लागि सङ्घबाट तीन अर्ब २३ करोड २३ लाख २३ हजार ७१२ रुपियाँ बजेट आएको थियो । जसमा दुई अर्ब २१ करोड २५ लाख ३६ हजार १६० रुपियाँ खर्च भएको छ । एक अर्ब १९ करोड ७८ लाख सात हजार ५५१ रुपियाँ फिर्ता गएको हिल्सा–सिमकोट सडक योजना हुम्लाका प्रमख बेलबहादुर नेपालीले बताउनुभयो । हरेक वर्षको बजेट भाषणमा सिमकोट सडक सञ्जालमा जोड्ने विषयले प्राथमिकता पाएको छ तर हरेक सालको अन्त्यमा अपेक्षित प्रगति हुन नसक्दा स्थानीय स्तरमा बढेको चर्को दबाबका बिच सरकारले २०७१ साल चैत ९ गते कालीकोटको लैफु–लालुदेखि हुम्लाको सर्केगाडको सलिसल्लासम्मको १२३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय ग¥यो । नेपाली सेनाले जिम्मा पाएपछि कोरिडोरको ट्र्याक खोल्ने कामले तुलनात्मक रूपमा तीव्रता पायो । जसका कारण २६ वर्षपछि हुम्लीको सपना पूरा भएको छ । उक्त सडक निर्माणका लागि हुम्लाका सात वटै स्थानीय तहको पनि उत्तिकै उल्लेखनीय भूमिका खेलेका छन् ।