• १७ असार २०८२, मङ्गलबार

अदानचुली टुकीकै सहारामा

blog

मोहनसिंह बुढा

अदानचुली, (हुम्ला) असार १७ गते । गाउँपालिका भन्ने बित्तिकै सबैको सोचमा आउँछ टोल र बस्ती जोड्ने सडक, इन्टरनेटसँग सहज पहुँच, बस्तीभरि झिलिमिली बत्ती ! तर, हुम्लाको अदानचुली गाउँपालिकाको १, २ र ३ वडाका बासिन्दालाई भने गाउँपालिकामा हुनुपर्ने यी आधारभूत सुविधा अहिलेसम्म ‘आकाशको फल, आँखा तरी मर’झैं छ ।

गाउँपालिकाभित्रैका बासिन्दा भएर पनि अदानचुली वडा नं. १, २ र ३ का बासिन्दा अझै अँध्यारोमुनि नै छन् । गाउँमा बिजुली पुगेको भएपनि २ वर्षअघि आएको बाढीले बक्ती बल्न नपाउँदै पावर हाउस बगाएपछि अझै उनीहरु टुकी र लाल्टिनको सहारामा आफ्नो दैनिकी गुजारिरहेका छन् ।

अदानचुलीकै सबैभन्दा ढुलो बस्ती मानिएको सो वडाभित्र गाउँपालिकाको केन्द्रसमेत छ ।  सोही वडाको पूर्वमा कर्णाली नदी पारी मुगु जिल्ला र उत्तरमा जिल्लाकै सर्केगाड गाउँपालिका र दक्षिणमा बाजुरा जिल्लासँग जोडिएका क्षेत्र छन् ।

गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगर गाउँ पूरै अँध्यारोमै रहेको वडा नम्बर २ का वडा अध्यक्ष नन्द महताराले बताउनुभयो । ३ वडा गरेर गाउँपालिकाको आधाभन्दा बढी घरधुरी बसोबास गर्ने वडा हुन् । सो ३ वटा वडामा १७ सय ७५ घरधुरी अहिलेसम्म बत्तीबिहीन छन् । आफू निर्वाचित भएको पहिलो वर्ष बत्तीका लागि मर्मत गर्ने प्रयास गरेको भए पनि खोलाले १ सय किलोवाट क्षमताको छहराखेत लघु जलविद्युत् आयोजनाको पावर हाउस बगाउँदा आधा पालिकासँगै सिङ्गो पालिका केन्द्र अन्धकारमा छ । 

वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले सौया उर्जाको मिनिग्रेट पावर हाउस बनाउनेबारे छलफल भए पनि जनताले किनेर पनि बाल्न सक्ने अवस्था नरहेको वडाध्यक्ष महताराले सुनाउनुभयो । ‘कुनै ठाउँमा बिजुली नै नपुगेर बाल्न सकिरहेका छैनन् । बाँकी कसैले मिटरको शुल्कसमेत तिर्न नसक्ने अवस्था छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले हाम्रो वडाको ठूलो जनसङ्ख्या अहिले पनि टुकीकै सहारामा छ ।’

गाउँमा बिजुली बत्ती नहुँदा विपत् परेकाे बेला पनि पूरै बस्ती नै सम्पर्कविहीन हुनुपर्ने स्थिति छ । ‘बिजुली पुगे पो फोन हुन्छ, इन्टरनेट हुन्छ, वाइफाई होला ! अहिले त त्यहाँ केही पनि छैन । केही भइहाल्यो भने पनि थाहा हुनै गाह्रो स्थिति छ,’ । इन्टरनेटको पहुँच भए पनि वडा र गाउँपालिका केन्द्रमा मात्र छ । फोरजी सेवाको टावरले वडाका सबै बस्तीमा काम गरिरहेको छैन । 

अदानचुलीको कल्खे गाउँ, बुढागाउँ, भण्डारी गाउँ, महतारा गाउँ, साउबाडा, फडेराबाडा, बुमीबाडा, रोकाया गाउँ, गोरपाली, ढकानीकुना, गल्फागाड, मकै, थपाली र लेख बस्तीका गाउँलाई उज्यालो बनाउन तत्काललाई सोलार भए पनि उपलब्ध गराउन प्रदेश सरकारलाई वडा अध्यक्ष महताराले आग्रह गर्नुभयो । ‘वडाबाट हामीले मागिरहेका छौं । सक्दो कोसिस गरिरहेका छौं,’ उहाँले भन्नुभयो ।

बाढी पहिरोका कारण अबरुद्ध भएको छहराखेत विद्युत् मर्मतका लागि स्थानीय सरकारले समेत चासो नदेखाउँदा मर्मत हुन नसकेको गाउँपालिकाका पूर्व अध्यक्ष दल फडेराले बताउनुभयो । अघिल्लो सरकारले निर्माण गरेको बिजुली बल्ने तयारीमा रहेकै बेला बाढीले बगायो । सबै वडामा लाइन विस्तार गरियो । नागरिकका घरहरु धमाधम वायरिङ गरियो । तर पावरहाउस भने बाढीले बगाउदा गाउँपालिका अन्धकार भएको हो । यसका लागि उज्यालो गाउँपालिका बनाउन स्थानीय सरकारको पहिलो ध्यान हुनुपर्ने देखिन्छ । 

यसैगरी, गाउँपालिकामा भएका सबै जनप्रतिनिधिले निर्वाचित भएदेखि आफ्नो कार्यकालसम्म पालिकाका सबै वडामा बिजुली पुर्‍याउने बताउँदै आए पनि तिन वर्ष बित्दा पनि चासो देखाएका छैनन् ।  

यस वर्ष नभए पनि अर्काे वर्ष मर्मतका लागि आवश्यक बजेट आउने बताउनुभयो । पालिका केन्द्रमै बत्ती नभएका कारण हरेक असार मसान्तमा वर्षा भए पनि सोलार ब्याक अपको पावर नपुग्दा आफूले जेनेरेटरको प्रयोग गर्दा हैरान खेपेका छाैं ।