• १७ असार २०८२, मङ्गलबार

दुबईमा दोस्रो अन्तर्राष्ट्रिय महिला संसद् सम्मेलन सम्पन्न

blog

दोस्रो अन्तर्राष्ट्रिय महिला संसद् सम्मेलनमा फोटोग्राफी विधामा अवार्ड लिनुहुँदै रमिता छुजू ।

दुबई, असार १७ गते । दोस्रो अन्तर्राष्ट्रिय महिला संसद् सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५ दुबईमा सम्पन्न भएको छ । यो सम्मेलनले महिला नेतृत्व, उद्यमशीलताल र अन्तर्राष्ट्रिय सहयोगको नयाँ युगको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय महिला संसद् संस्थाद्वारा सोमबार दोस्रो अन्तर्राष्ट्रिय महिला संसद् सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५ दुबईमा अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा आयोजना गरिएको थियो ।

यो कार्यक्रम नेपालका नमिता घिमिरेद्वारा स्थापित अन्तर्राष्ट्रिय महिला संसद् संस्थाको आयोजनामा र परियोजना (प्रजोक्ट) १०० नामक अन्तर्राष्ट्रिय महिला सशक्तीकरण पहलको सुरुवातमा सम्पन्न भएको हो । जसले सय देशमा महिला नेतृत्वलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।

“महिलाद्वारा, महिलाका लागि, महिलाका पक्षमा“, जसले महिला नेतृत्व, समावेशी शासन, उद्यमशीलता, शिक्षा, प्रविधि, कूटनीति र सामाजिक रूपान्तरणमा महिलाको भूमिकालाई कार्यक्रमले उजागर गरेको थियो ।

कार्यक्रममा विभिन्न देशबाट प्रतिष्ठित अतिथिहरूको उपस्थिति थियो । मुख्य अतिथिहरुमा मालावीका पूर्व अमेरिकी राजदूत जर्ज मकोंडिवा,  भारतका लागि उच्चायुक्त तथा अफ्रिका क्याबिनेट सरकार सञ्जालका उपाध्यक्ष हुनुहुन्थ्यो भने विशेष अतिथिहरू विश्वप्रसिद्ध प्रविधि उद्यमी सैयद मोहम्मद सियाम अल हुसेनी, इन्भेस्टमेन्ट म्यानेजमेन्ट एसएफका सीईओ र मेनकोर एआई संस्थापक शेख माना सहभागी हुनुहुन्थ्यो ।

यसैगरी, कार्यक्रममा नेपालका पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी सहभागी हुनुहुन्थ्यो ।अन्तर्राष्ट्रिय संसदीय दिवसको दिनमा आयोजना गरिएको यस सम्मेलनले लोकतन्त्र, महिला सहभागिता र समावेशी नेतृत्वको नयाँ युगको सङ्केत दिएको छ ।

अन्तर्राष्ट्रिय महिला संसद् संस्थाका संस्थापक नमिता घिमिरे महिलाहरू लोकतान्त्रिक परिवर्तनका अभिन्न हिस्सा भएको बताउनुभयो । उहाँले प्राेजेक्ट १०० मार्फत विश्वव्यापी रूपमा महिला नेतृत्वको सञ्जाल निर्माण गर्ने जानकारी दिनुभयो ।