काठमाडौँ, साउन १४ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले प्रकोपको पूर्वानुमानसँग आर्थिक विकासको लक्ष्यको अन्तरसम्बन्ध रहेको बताउनुभएको छ । कार्यक्रममा विश्वका एकतिहाइ जनसङ्ख्या प्रकोपको पूर्वानुमान र पूर्वसूचनाबाट वञ्चित रहेको जानकारी दिइयो ।
बुधबार जल तथा मौसम विज्ञान विभागद्वारा काठमाडौँमा आयोजित ‘पिलर दुई अन्तर्गतको ग्याप विश्लेषणसम्बन्धी परामर्श कार्यशाला : पहिचान, अवलोकन, अनुगमन, विश्लेषण र पूर्वानुमान’ कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रकोपको पूर्वानुमान नभए यसबाट हुने जोखिमको ज्ञानसमेत अपुरो हुने भनाइ राख्नुभयो ।
‘सबैका लागि प्रारम्भिक चेतावनी (अर्ली वार्निङ फर अल)’ का नेसनल को–अर्डिनेटर समेत रहनुभएका बमले अधिकांश विकासका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेका र यसको एउटा मुख्य कारण प्राकृतिक प्रकोप रहेको औंल्याउनुभयो ।
उहाँले भन्नुुभयो, “सम्पन्न आयोजनाहरू कुनै पनि क्षेत्रको हेर्ने हो भने ३० देखि ४० प्रतिशतसम्म समयमै सकिने छ जस्तो लाग्छ । प्रकोपको अवस्था भने हाहाकार छ । कतिपय रुपमा त्यो खालको महत्त्वलाई आत्मसात् गर्ने भनेर सरकारले ‘अर्ली वार्निङ फर अल’ मा नगई साध्य छैन भन्ने हिसाबले अगाडि बढेको अवस्थामा पुगेको हुन सक्छ ।”
उहाँले प्रकोपलाई रोकथाम गर्ने दृष्टिकोणबाट अघि नबढे प्रकोपका कारण आर्थिक विकासको लक्ष्यमा समेत असर पुग्ने निष्कर्षमा सरकार पुगेको हुनसक्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकारले अहिले प्रिभेन्टिभ एप्रोचमा हामी गएनौं भने डिजास्टरले कार्यक्रम गर्न सकिँदैन र समग्र आर्थिक विकास गर्ने जुन लक्ष्य लिएको छ, त्यसमा पूरा हुँदैन । त्यो दूरी बढ्दै जान्छ भन्ने हेतुले नै यसलाई अगाडि सारेको जस्तो लाग्छ । बढीभन्दा बढी जनतासँग हामी कसरी जोड्न सक्छौं ? यो आफैंमा महत्त्वपूर्ण छ ।”
उहाँले कार्यशालामा सङ्कलन भएको सुझाव एवम् पाँच वर्षका लागि बनेको नीति तीनै तहको सरकारले कार्यान्वयन गर्ने भएकाले यो महत्त्वपूर्ण विषय भएको बताउनुभयो ।
विभागका महानिर्देशक कमल राम जोशीले समयमै प्रकोपको पूर्वसूचना पुर्याउन सके विपदबाट हुने ३० प्रतिशत क्षति कम गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जतिसुकै पूर्वसूचना समयमै र सही दियौं त्यसले समयमै कार्य गरेर जन र धनको क्षति न्यूनीकरण गर्न सक्दैन भने त्यो पूर्वसूचनाको काम छैन ।” उहाँले दिनानुदिन प्रकोपको चुनौती बढ्दै गएको भनाइ समेत राख्नुभयो ।
उहाँले समुदायसम्म दोहोरो सञ्चार हुनेगरी तथा जोखिम न्यूनीकरण हुनेगरी पूर्वसूचना पुग्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलले विश्वका एक तिहाइ जनसङ्ख्या प्रकोपको पूर्वानुमान र पूर्वसूचनाबाट वञ्चित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बेलैमा गरिएको पूर्व सूचना र पूर्वअनुमानले जन र धनको क्षति कम गर्ने तथ्य हामी सबैलाई थाहा नै छ । तर विश्वमा रहेका एक तिहाई मानिसहरू प्रकोपको पूर्वानुमान र पूर्वसूचनाबाट वञ्चित हुनुपरेको तितो यथार्थ चिर्नुपर्छ भन्ने उद्घोषका साथ संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा सुरुवात भएका सबैका लागि पूर्वसूचना अभियान निकै महत्वपूर्ण रहेको छ ।”
कार्यक्रममा प्रकोपको पूर्वानुमान र पूर्वसूचनाको अन्तर विश्लेषणका सम्बन्धमा समूहगत रूपमा छलफल भएको थियो ।