• १७ असार २०८२, मङ्गलबार

एसइई नतिजा : कञ्चनपुरमा तीन विद्यालयको नतिजा शून्य

blog

शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुर । तस्बिर : भवानीदत्त भट्ट

कञ्चनपुर, असार १७ गते । कञ्चनपुरमा तीन विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका अनुसार शैक्षिक सत्र २०८१ मा भएको माध्यामिक शिक्षा परीक्षा (एसइई)को जिल्ला स्थित तीन विद्यालयमा नतिजा शून्य आएको हो ।

गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई नतिजाको तथ्याङ्कअनुसार, पुर्नवास नगरपालिकाका दुई विद्यालय र लालझाँडी गाउँपालिकाको एक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो ।

लालझाँडी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ । एसइई परीक्षामा सो विद्यालयबाट ३६ परीक्षार्थी सहभागी भएकोमा नतिजा भने शून्य आएको पालिकाको शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।

लालझाँडी गाउँपालिकामा सामुदायिक र संस्थागत गरी आठ विद्यालयबाट २६० विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । उक्त पालिकामा ३३.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  

शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले अङ्ग्रेजी र गणित विषयमा अत्यधिक विद्यार्थी फेला भएका बताउनुभयो । विद्यालयमा विषयगत शिक्षकको अभावलगायत विविध कारणले नतिजा शून्य आएको उहाँले बताउनुभयो । विद्यालयमा दरबन्दी अनुसार शिक्षकको अभाव रहेको उहाँले बताउनुभयो । शिक्षक, अभिभावक, विद्यार्थी सबैले सुधार गर्दे जानुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

पुर्नवास नगरपालिकामा सामुदायिक र संस्थागत गरी २६ विद्यालय रहेका छन् । जहाँ वडा नम्बर १ अंशुवर्माबस्तीको शान्ति मावि र पुरैनास्थित रामबुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एसइई परीक्षा उत्तीर्ण गर्न नसकेको पुर्नवास नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताउनुभयो ।

शान्ति माविबाट १७ जना र रामबुद्ध माध्यमिक विद्यालयबाट ११ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तर उनीहरूको नतिजा भने शून्य आएको हो । परिक्षाफल शून्य आएपछि अभिभावकहरूले भने शिक्षकहरू राजनिति तर्फ केन्द्रित हुँदै गएको आरोप लगाएका छन् । पुर्नवासका स्थानीय हरि विकले शिक्षकहरूले राजनीतिभन्दा पनि अध्यापनमा समय दिनुपर्ने सुझाव दिनुभयो ।