• १७ असार २०८२, मङ्गलबार

घरमै धारा पुगेपछि धुपुवासीको फेरियो दैनिकी

blog

रेडक्रसले जडान गरिदिएको धारा प्रयोग गर्दै स्थानीय । तस्बिरः सुजन बज्राचार्य

सुजन बज्राचार्य
सङ्खुवासभा, असार १७ गते ।
केही वर्ष अघिसम्म बिहान सबेरै उठेर आधा घण्टाको उकालो ओरालो हिँडेर कुवाबाट पानी ल्याउनु धुपुकी मञ्जु शर्माको दैनिकी थियो । दैनिक दुई घण्टा खानेपानीको जोहोमै बित्ने गर्थ्याे । तर अहिले उहाँ घरकै आँगनमा जोडिएको धाराबाट सजिलै पानी प्रयोग गर्न सक्नुहुन्छ ।

नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको सहयोगमा सञ्चालन गरेको ‘एक घर, एक धारा’ परियोजनाले धुपुलगायतका स्थानीयवासीको जीवनमा ठुलो परिवर्तन ल्याएको छ । रेडक्रस सङ्खुवासभाको पहलमा सभापोखरी गाउँपालिका – १ र २ नम्बर वडाका विभिन्न टोलका करिब सात सय २८ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । तीमध्ये हालसम्म चार सय घरमा धारा निर्माण भई सञ्चालनमा आइसकेको छ ।

स्थानीय बासिन्दा केदार अधिकारीले विगत सम्झिँदै भन्नुभयो, “पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्थ्यो, अहिले घरमै धारा जडान भएपछि बिहान–बेलुकै पानी लिन सकिन्छ ।,” उहाँले भन्नुभयो, “एकघर एक धारा भौतिक पूर्वाधार मात्र होइन, यो गाउँको आत्मसम्मान र परिवर्तनको पाइला हो, यसका लागि रेडक्रसलाई धन्यबाद दिन्छु ।” नेपाल रेडक्रस सोसाइटीको एक घर एक धारा परियोजनाले उनीहरुको दैनिकी फेरिएको हो ।

रेडक्रस सङ्खुवासभा शाखाका सभापति सरोजकुमार बज्राचार्यका अनुसार परियोजना सफल बनाउन स्थानीय सरकार, समुदाय र रेडक्रसबिच त्रिपक्षीय साझेदारी गरिएको हो । रेडक्रसले ५० प्रतिशत, सभापोखरी गाउँपालिकाले ३० प्रतिशत तथा समुदायले २० प्रतिशत लगानी गरेको छ । कोरियन रेडक्रसको वित्तीय तथा प्राविधिक सहयोगले यस परियोजना सम्भव भएको सभापति बज्राचार्यले बताउनुभयो । “यो परियोजना केवल खानेपानीमै सीमित छैन, हामी स्वच्छता र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई पनिसँगै अघि बढाइरहेका छौँ ।” उहाँले थप्नुभयो ।

यो परियोजना सम्पन्न गर्न कुल तीन करोड ८२ लाख ३५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । अन्य वडामा पनि परियोजना विस्तारको तयारी गरिरहेको रेडक्रसले जानकारी दिएको छ ।  

धुपुका ३ वटा मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको हो । प्रयोगकर्ताले मासिक ५० रुपियाँ तिर्छन् । जसबाट मर्मत तथा सञ्चालनका लागि कर्मचारीको व्यवस्था गरिएको छ ।

स्थानीयवासी सुनिता राई भन्नुहुन्छ, “पहिले पानी ल्याउने क्रममा बच्चाहरू ढिलो विद्यालय पुग्थे । धेरैपटक स्कुल नै छुट्थ्यो । अहिले भने उनीहरू समयमै विद्यालय पुग्छन् ।” उहाँका अनुसार महिलाहरूको श्रमभार कम हुनुका साथै पानीजन्य रोगमा पनि उल्लेखनीय सुधार आएको छ । रेडक्रसले ६ वटा विद्यालयमा समेत ट्याङ्कीसहित धारा निर्माण गरेको छ । यसले विद्यार्थीलाई स्वच्छ पानी मात्र होइन, सरसफाइको अभ्यासमा पनि सहयोग पुर्‍याएको बताइएको छ ।

परियोजना दीर्घकालीन र दिगो बनाउने उद्देश्यले स्थानीय युवाहरुलाई पम्प जडान, पाइप मर्मत र अन्य प्राविधिक तालिम दिइएको छ । स्थानीय युवाहरुलाई सीप प्रदान गरिएकाले भविष्यमा नियमित मर्मत सम्भव हुने विश्वास गरिएको छ ।