• १७ असार २०८२, मङ्गलबार

चेपाङ समुदायका विपन्नलाई आवास

blog

इच्छाकामना गाउँपालिकाका चेपाङ परिवारलाई घर हस्तान्तरण गरिँदै । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असार १७ गते   ।  चेपाङ समुदायका विपन्नलाई आवासको व्यवस्था गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न ४५ चेपाङ परिवारलाई आवासको व्यवस्था मिलाएको छ । 

चेपाङको बाक्लो सङ्ख्या रहेको पालिकामा तीमध्ये विपन्न परिवारलाई घर निर्माण गरी गाउँपालिकाले हस्तान्तरण गरेको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुरक्षित आवासको अभावमा जोखिममा कष्टकर जीवन बिताइरहेका परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिनुभयो । अन्य समुदायभन्दा चेपाङले सामान्य जीवन बिताउँदै आएका, व्यापार व्यवसाय तथा अन्य आयमूलक काममा कम सहभागी हुने भएकाले उनीहरूको आवास असुरक्षित हुने गरेको बताउनुभयो । 

आवास सुरक्षित बनाउनकै लागि पालिकाले लगानी गरेर आवास निर्माण गरेको अध्यक्ष गुरुङले बताउनुभयो । तीन करोड १९ लाख ६३ हजार १२८ रुपियाँको लागतमा घर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । पालिकाको वडा नम्बर १ मा सात वटा, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर ४ मा छ, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा नौ वटा गरी जम्मा ४५ वटा घर निर्माण गरिएको छ । पालिकाको ४ नम्बर वडाको खैरहनीटारमा कार्यत्रव्रmम आयोजना गरी कमला चेपाङलाई घर हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संविधानले दिएको आवासको व्यवस्था स्थानीय सरकारले पूरा गरेको बताउनुभयो । घर नहुनेलाई घर, उपचार गर्न नसक्नेलाई उपचार स्थानीय सरकार नै अभिभावक हुने उहाँले बताउनुभयो । अहिले विपन्न चेपाङलाई घर निर्माण गरे जस्तै अन्य विपन्न समुदायलाई पनि क्रमशः आवासको व्यवस्था पालिकाले गर्नुपर्ने प्रमुख अधिकारीले बताउनुभयो । घर निर्माणसँगै त्यहाँ बसोबास गर्ने परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष गुरुङले वडाले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा यो वर्ष दोब्बर सङ्ख्यामा घर बनाइएको छ । पहाडी भूभाग रहेको इच्छाकामनामा  चेपाङ समुदायको बसोबास बाक्लो रहेको छ ।  

फलफूलका बिरुवा हस्तान्तरण

इच्छाकामना गाउँपालिकाले स्थानीय किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीका बिरुवा वितरण गरेको छ । गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले यस वर्ष सुन्तलाको कलमी दुई हजार छ सय र बिजु १५ हजार, कागतीका कलमी आठ सय र बिजु दुई हजार छ सय र कफीका पाँच सय वटा बिरुवा वितरण गरिएको जानकारी दिनुभयो । वडा नम्बर ३ का कृषक भीमबहादुर गुरुङले गाउँपालिकाले कम मूल्यमा बिरुवा उपलब्ध गराएकामा खुसी व्यक्त गर्नुभयो ।