• १७ असार २०८२, मङ्गलबार

‘बाल श्रम, महिला हिंसा र लागुऔषध जस्ता विकृति समाजका लागि घातक’

blog

बाल श्रम, महिला हिंसा तथा लागुऔषधविरुद्ध सचेतना कार्यक्रममा सहभागीहरू । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल
इटहरी, असार १७ गते ।
बाल श्रम, महिला हिंसा तथा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।कार्यक्रममा बालबालिकाको अधिकार, महिलामाथि हुने विभिन्न खाले हिंसा तथा युवामाझ बढ्दो लागुऔषध दुरुपयोगका असरबारे विश्लेषणात्मक प्रस्तुति दिइएको थियो । सहभागीहरूबिच लागु औषधलगायत विविध समस्याको सामाजिक, मानसिक तथा कानुनी पक्षमा गहिरो छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै इटहरीका सामाजिक अभियन्ता राधिका पौडेलले बाल श्रम, महिला हिंसा र लागुऔषधजस्ता विकृतिहरू समाजका लागि घातक रहेको हुँदा यस्ता समस्याहरूको समाधानका लागि सबै तह र तप्काबाट साझा प्रयास आवश्यक रहेको बताउनुभयो  ।  

कार्यक्रममा बाल अधिकारकर्मी, महिला अधिकारकर्मी, प्रहरी प्रतिनिधि, स्थानीय सामाजिक अभियन्ता, शिक्षक, अभिभावक तथा युवा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूलाई अभिमुखीकरण सत्रमार्फत बाल श्रमको कानुनी अवस्था, घरेलु हिंसा (महिला हिंसा)विरुद्धको कानुनी व्यवस्था र लागुऔषधको स्वास्थ्य र सामाजिक असरका बारेमा जानकारी दिइयो ।

कार्यक्रममा महिलामाथि हिंसा भएका घटनाका प्रत्यक्ष पीडितहरूको तीतो तर यथार्थ अनुभव सुनाइएको थियो, जसले सहभागीहरूलाई थप संवेदनशील र सचेत बनाएको विश्वास गरिएको छ ।

त्यस्तै, लागुऔषध प्रयोगबाट ज्यान गुमाएका वा पुनःस्थापना केन्द्र पुगेका युवाका उदाहरणहरूले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक कृष्ण कुमारी अधिकारीले लागुऔषध दुर्व्यसनबारे समाजमा पुर्याउने हानी, सेवन, बिक्री वितरण तथा ओसार प्रसार गर्दा लाग्ने कानुन र भोग्नुपर्ने सजायबारे प्रशिक्षण प्रदान गरिन । महिला हिंसा केवल शारीरिक मात्र होइन, मानसिक, आर्थिक, सामाजिक र साइबर माध्यमबाट पनि हुन सक्छ । पीडितले कानुनी सहायता खोज्न सकुन् भन्ने वातावरण बनाउन समुदाय स्वयम् जागरुक हुन जरुरी रहेको अधिवक्ता वर्षा भण्डारीले बताउनुभयो ।

लागुऔषध दुर्व्यसन र हिंसाबाट मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ । पीडितहरूमा डर, आत्मग्लानि, आत्महत्या गर्ने सोच जस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा मनोसामाजिक परामर्श र सहानुभूतिपूर्ण व्यवहार आवश्यक रहेको अधिवक्ता कल्पना पाण्डेको भनाइ थियो ।  

त्यसैगरी, बालबालिकालाई काममा लगाउनु कानुनतः अपराध भएको र  उनीहरूलाई शिक्षाबाट टाढा राखेर श्रममा लगाउनु भनेको सम्पूर्ण पुस्ताको भविष्य बिगार्नु हो । समाजले बाल श्रमको बहिष्कार गर्नुपर्छ र प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुर्ने अधिवक्ता बद्री पोखरेलले बताउनुभयो ।

सहभागीहरूबिच अन्तरक्रिया, अनुभव आदान–प्रदान तथा प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि प्रदान गरिएको थियो । सहभागीहरूले यस्तो कार्यक्रम निरन्तर रूपमा गर्नुपर्ने सुझाव दिँदै, समुदायभित्रैबाट समस्या समाधानका पहलहरू गर्न प्रतिबद्धता जनाएका थिए । इटहरी उपमहानगरपालिका-९ नम्बर वडा सदस्य कपिल घिमिरेले आगामी दिनमा वडा कार्यालयले यस्ता सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेर योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

कार्यक्रममा चार जना विषय विशेषज्ञ प्रशिक्षकहरूले बाल श्रम, महिला हिंसा तथा लागुऔषधसम्बन्धी विविध पक्षबारे प्रशिक्षण तथा विचार प्रस्तुत गर्नुभएको थियो । फरवार्ड मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष विकल रेग्मीले समाज परिवर्तनका लागि अनुसन्धानमूलक कार्यक्रमहरू र प्रत्यक्ष जनसरोकारका क्रियाकलापमा संस्थाले विशेष प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।