• १५ असार २०८१, शनिबार

रोकिएन कालीगण्डकी दोहन

blog

पर्वत समाचारदाता 

पर्वत, भदौ १३ गते । विश्वमै एक मात्र शालिग्राम पाइने नदी कालीगण्डकीको दोहन वर्षामा पनि रोकिएको छैन। म्याग्दी, बागलुङ र पर्वतका अधिकांश स्थानमा नदी दोहन गरी बालुवाका पहाड निर्माण गरिएको छ। स्थानीय प्रशासन भने नदीमा प्रहरी खटाएर राखेको बताउँदै आएको छ।

असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ। प्रहरीदेखि स्थानीय तह र जिल्ला समन्वय समितिसमेत देखेर पनि नदेखेजस्तै गरिरहेको आमनागरिकको गुनासो छ। 

जिल्ला समन्वय समिति पर्वतका उपसंयोजक सोमबहादुर जिसीले भन्नुभयो, “असारदेखि भदौको १५ गतेसम्म कुनै पनि नदीजन्य पदार्थ निकाल्न पाइँदैन यहाँ त मध्यबर्खामै धमाधम दोहन भइरहेको छ। अदालतको आदेशपछि स्थानीय तहले ठेक्का नलगाएको अवस्था थियो, मध्यबर्खामा त ठेक्का नै खुल्दैन तर दोहन झन् बढेर गएको छ।” 

सर्वोच्च अदालतले कालीगण्डकी नदी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन गर्नु अवैध भएको फैसला गरेको छ। अदालतको आदेशपछि म्याग्दी, बागलुङ र पर्वत खण्डको क्षेत्रमा नदी उत्खननका लागि स्थानीय तहले ठेक्का लगाउन सकेका छैनन्। अदालतले कालीगण्डकी नदी दोहन रोक्ने आदेशपछि यहाँका क्रसर व्यवसायी र बालुवा तस्करी गर्नेले रातमा र सरोकारवालालाई प्रभावमा पारेर दिउँसै नदीजन्य पदार्थ उत्खनन गरेको पाइन्छ। 

पर्वतका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार अहिले खोलामा बालुवालगायतका सामग्री झिक्न रोकिएको छ। तर, सडकमा बालुवाका रास भने यत्रतत्र देखिन्छ। अहिले जिल्लाको कुस्मा नगरपालिका, जलजला गाउँपालिका र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा उत्खनन भइरहेको छ। 

गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि त्यो पालना हुन सकेको छैन। संवेदनशील क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर, बहत्तर उत्खनन गर्दा डोजर, एक्साभेटर, लोडरजस्ता भारी उपकरण प्रयोग गर्न नपाइने उल्लेख छ। 

ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन तथा सञ्चालन व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले तयार गरेको कार्यविधि, २०७५ अनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्रमा यस्तो व्यवस्था गरेको हो। अन्य क्षेत्रको हकमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिमका मेसिन र औजार मात्र प्रयोग गर्नुपर्ने छ।

नियमविपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घरसमेत उच्च जोखिममा पर्न थालेका छन्। 

पर्वत जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुसदन न्यौपानेले नदीजन्य पदार्थ उत्खननको अनुगमनका निमित्त छुट्टै प्रहरी परिचालन गरिएको बताउनुहुन्छ। न्यौपानेले भन्नुभयो, “प्रहरीलाई सादा पोसाकमा मोटरसाइकलमा परिचालन गरिएको छ। बर्खाको समय मालढुङ्गा बेनी सडक निर्माणका क्रममा भएकाले केही समस्या भएको हो। 

प्रहरीले नेपाल सरकारको कानुन र सर्वोच्च अदालतको आदेश अनुसार नदीजन्य पदार्थ दोहनलाई नियन्त्रण गर्न खटिरहेका छौँ।” उहाँले भन्नुभयो, “रातको समयमा समेत प्रहरी नदी छेउछाउमा हुन्छन् तर प्रहरी थोरै छन्। दोहन गर्ने स्थान धेरै ठाउँ छ, एकातिर अनुगमन गर्दा अर्कोतर्फ दोहन हुन्छ, दोहन रोक्न सबै सरोकारवालाको साथ र सहयोग चाहिन्छ।”