• १४ मंसिर २०८१, शुक्रबार

संस्कृति जोगाउन युवा सक्रिय

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), भदौ १४ गते । यहाँका युवा तीन सय वर्षभन्दा पुरानो संस्कृति जोगाउन सक्रिय भएका छन्। नेवारी समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरणका लागि बेनीका युवाले सक्रियता देखाएका हुन्। युवाले अहिले बेनीमा बर्खे नाच अन्तर्गतका विभिन्न नाच प्रदर्शन गरिरहेका छन्। बर्खे नाच नेवारी समुदायको मौलिक कलासंस्कृति हो। बर्खे नाच देखाउने सबै कलाकार १३ वर्षदेखि २४ वर्षको उमेर समूहका छन्। १२ देखि १५ वर्ष भित्रकाले मृदङ्ग, मादल, -याली र ढोलकी बजाइरहेका छन्। एक जना युवाले तीन सय वर्षदेखि प्रयोग गर्दै आएको खप्पर (मुखौटो) लगाएर बाजाको तालमा लाखेनाच देखाउँछन्। एक जना अन्दाजी नौ वर्षका र अर्का १७ वर्षका युवा पनि मुख्य लाखेसँगै नाचिरहेका देखिन्थे। 

नेवारी कला, संस्कृतिलाई समाजको पहिचान सम्झेर नाच्न र बजाउन अग्रसर भएको नेवारी समुदायका युवा जेनेस श्रेष्ठ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “नेवार समुदाय मात्र नभएर अन्य समुदायका युवाले पनि हाम्रो संस्कृतिलाई जोगाउन साथ सक्रियता देखाउनुभएको छ।” नेवारी कलासंस्कृति जोगाउन युवा सङ्गठित भएर केही वर्षयता बेनीमा विभिन्न नाच, कला र संस्कृति प्रदर्शन गर्दै आएका छन्। जेनेसले भन्नुभयो, “यस पटक हामीले नयाँ कलाकार उत्पादन गरेका छौँ। एक महिनादेखि अग्रज कलाकारबाट युवालाई तालिम दिँदै आएका छौँ।” बर्खे नाच अन्तर्गतका विभिन्न नाचमा गरेर करिब ६० देखि ७० जनासम्म कलाकार आवश्यक पर्ने उहाँले बताउनुभयो। 

नयाँ पुस्तामा पुस्तान्तरणका लागि युवालाई तालिम पनि दिने गरिएको छ। नेपाल भाषा मंकाखलका सदस्य सुविन श्रेष्ठले नागपञ्चमीका दिनदेखि हरितालिका तीजसम्म बेनीमा मौलिक कला, संस्कृति झल्किने विभिन्न नाच प्रदर्शन गर्ने प्रचलन रहेको बताउनुभयो। नेवार समुदायका अगुवा अङ्गद श्रेष्ठले भन्नुभयो, “नेवार समुदायको मौलिकता झल्किने कतिपय पुराना संस्कृति लोप हुन थालेका छन्। पाका पुस्ताबाट नयाँ पुस्तामा कलासंस्कृति हस्तान्तरण नहुँदा पहिचान नै लोप हुने अवस्थामा रहेको संस्कृतिलाई जोगाउन पछिल्लो समय युवाले संरक्षणमा चासो देखाउन थालेकाले आशा जागेको छ।” युवा जुटेपछि यस वर्ष लाखे नाचका साथै घोडा नाच, गोरु नाच, रोपाइँ नाच, गाईजात्रा, जोगी नाच र तिजका दिनमा धानको बाल नाच प्रदर्शनसँगै लाखे काटेर बर्खे नाचको समापन गरिने ल्यामःपुचका अध्यक्षसमेत रहनुभएका युवा जेनेस श्रेष्ठले बताउनुभयो।