• ५ जेठ २०८१, शनिबार

अर्जुनचौपारीमा निःशुल्क लोकसेवाको कक्षा

blog

युवाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, भदौ १४ गते । युवाहरू सरकारी जागिर तयारी कक्षाका लागि हजारौँ खर्च गरिरहँदा अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । 

गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको तयारीका लागि निःशुल्क तीन महिने कक्षा सञ्चालन गरेको हो । युवामा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार तथा देशभक्ति युवाका रूपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । 

गाउँपालिकाका भित्रका युवाको लोकसेवा आयोगमा पहुँच र सहभागिता उल्लेख्य रूपमा हुन नसकेको भन्दै गाउँपालिकाले युवाका लागि पहिलो चरणमा जनपथ प्रहरी, आर्मी र सशस्त्र प्रहरीको तयारी कक्षा सञ्चालन गरेको हो । 

गाउँघरमै लोकसेवा तयारी कक्षा पालिकाले सञ्चालन गरेपछि यहाँ युवाहरू खुसी भएका छन् । तयारी कक्षामा ३८ जना सहभागिता २४ जना पुरुष र १४ जना महिलाको सहभागिता रहेको छ । 

गाउँपालिकाले युवाका लागि गरेको प्रयास सकारात्मक भएको परीक्षार्थी अस्मिता विकले बताउनुभयो । पालिकाले युवाका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि काठमाडौँ, पोखरा, बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको छ । गाउँपालिकाले पहिलो चरणमा फिजिकलसम्बन्धी तालिम उपलब्ध गराएर उत्तीर्ण सफल युवालाई निःशुल्क लिखित परीक्षाको लागि तालिम सञ्चालन गरेको हो । 

अब दोस्रो चरणमा खरदार, सुब्बा, अधिकृत र शिक्षक सेवा आयोगको पनि तयारी कक्षा सञ्चालन गर्ने पालिकाले बताएको छ । सहभागी परीक्षार्थीलाई लिखितको लागि लाल केसी र दीपक पौडेलले सहजीकरण गर्नुभएको छ । फिजिकलमा भूपू इन्डियन आर्मी रामु विष्टले प्रशिक्षण दिनुभएको छ ।