• ३ असार २०८२, मङ्गलबार

रास्वपाका सांसदले निलो स्कार्फ लगाएपछि काँग्रेसको नियमापत्ति, बैठक स्थगित

blog

प्रतिनिधिसभाको मङ्गलबारको बैठक विरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद । तस्बिरः केशब गुरुङ

काठमाडौँ, असार  ३  गते । प्रतिनिधिसभाको मङ्गलबारको बैठक  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि आधा घण्टाका लागि स्थगित भएको छ ।

 निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् ।  

प्रतिपक्षी सांसदले विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई आफ्ना विषय राख्न समय दिनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन होस्”, उहाँले सदनको अवरोध अन्त्य गर्ने सूत्र सुनाउँदै भन्नुभयो । 

त्यसलगत्तै सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिनुभयो तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ‘बेल’ घेराउ गर्न पुग्नुभयो । 

सदनमा मर्यादित पोशाकमा आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्कार्फ’प्रति आपत्ति जनाउनुभयो । “सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसदबाट निष्कासन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । 

 रास्वपाको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक ३० मिनेटपछि बस्ने गरी स्थगन भएको घोषणा गर्नुभएको हो ।