• १४ मंसिर २०८१, शुक्रबार

हराएका सदस्य आउने आसमा परिवार

blog

मीना कँडेल

कावासोती, भदौ १४ गते । नवलपुरको देवचुली नगरपालिका–१५ की टीका रानाभाट सम्पर्कविहीन भएको २५ वर्षभन्दा बढी भयो। २०५५ सालमा बिहान साथीकहाँ हिँडेकी १७ वर्षीय रानाभाट त्यसपछि सम्पर्कमा आउनुभएको छैन। उहाँको अहिलेसम्म अत्तोपत्तो नहुँदा आफन्त चिन्तित छन्। उहाँसँगैका साथीहरू गाउँघरमा देख्दा अभिभावकका आँखा रसाउँछन्। 

परिवारका सदस्य अझै पनि छोरी आउने आशामा बाटो हेरिरहेका छन्। आमा उतरकुमारी रानाभाटले भन्नुभयो, “छोरी एकाएक सम्पर्कविहीन भइन्। घरमा त्यस्तो केही पनि भएको थिएन। खोइ के भयो अहिलेसम्म बुझ्न सकेका छैनौँ। २५ वर्ष बित्यो, केही पत्ता लागेको छैन। आशा छ एक दिन छोरी पक्कै आउने छिन्।” 

देवचु्लीकै कृष्णप्रसाद श्रेष्ठ बेपत्ता भएको २५ वर्ष भयो। कृष्ण २२ वर्षको उमेरमा घरबाट नै हराउनुभयो। उहाँकी ८० वर्षीया आमा इन्द्रमायादेवी अझै पनि छोरा घर आएर आमा भनेर बोलाउँछ कि भन्ने आसमा हुनुहुन्छ। कसैले आमाभन्दा मेरै छोरा आएर बोलाएको हो कि भन्दै बाहिर आउने गरेको उहाँले बताउनुभयो। 

कलिलो उमेरमा विवाह गर्नुभएकी पार्वती सिग्देल पनि आफ्नो श्रीमान् बेपत्ता भएपछि आउने आसमा बसेको ३० वर्ष पुग्यो। उहाँ भन्नुहुन्छ, “न त श्रीमान् घर आउनु भो, न त उहाँका बारेमा केही पत्ता लाग्न सकेको छ। जीवन जिउन निकै कठिन भएको छ। बेपत्ता पारिएको परिवारप्रति केही गर्न सकेको छैन।” नवलपुरमा छ वर्षदेखि हराएका महिला र बालबालिका अझै फेला पर्न सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले भन्नुभयो, “हामीले उजुरी पर्ना साथ घटनाको प्रकृति अनुसार अनुसन्धान अगाडि बढाउने गरेका छौँ। जिल्लाबाट हराएकामध्ये १६९ जना बेपत्ता रहेका छन्। जसमध्ये १०१ जना महिला, ४० पुरुष, २४ बालिका र चार बालकको अवस्था अज्ञात छ।” 

हराएका भनिएका व्यक्तिको खोजतलासको काम र परिवारबाट अवस्था यकिन गर्ने काम जारी रहेको उहाँको भनाइ रहेको छ। जिल्लामा द्वन्द्वपीडित १७ घरपरिवार सूचीकृत भएका छन्। अन्य सूचीकृत नभएका परिवार पनि धेरै रहेको बताइएको छ। अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस बुधबार मनाइरहँदा सरकारले बेपत्ता परिवारप्रति चासो दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। जिल्लामा बेपत्ता परिवारजनको सम्झनामा दीप प्रज्वलन गरिएको छ।