काठमाडौं, वैशाख २ गते । सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।उहाँले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने छ सय ५९ मिलियन (करिब ७९ अर्ब ७१ करोड) अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।त्यस्तै, बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत ऋण साहयता स्वीकार गर्ने निर्णय गरेको छ ।यसैगरी, सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्ति गर्ने र राष्ट्रिय आवास कम्पनी लिमिडेटको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
काठमाडौं, वैशाख २ गते । नेकपा (माओवादी केन्द्र) को शुक्रबार कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा निर्वाचन सम्बन्धमा विशेष छलफल भएको छ । माओवादी केन्द्रका नेता लीलामणि पौडेलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सैद्धान्तिक निर्णय भइसकेको अवस्थामा अब यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले आजको बैठकबाट ठोस निर्णयभन्दा पनि तलको रिपोर्टिङ लिने र गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताउनुभयो । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलका शीर्ष नेताहरुबीच चुनावमा गठबन्धनका दलरुबीच मात्रै तालमेल गर्ने निर्णय भएको थियो । शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा ती विषयमा करिब दुई घण्टा छलफल भएको थियो ।
हरि कोइराला उर्लाबारी, वैशाख २ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकामा १५ देखि १५ वर्ष उमेर समूहका बालबालिलाई टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । यही वैशाख ११ देखि १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने कार्यक्रम तय भएको नगर खोप समन्वय समितिले जनाएको छ । नगर खोप समन्वय समितिको बैठकले ५६ वटा खोप केन्द्र तय गरी टाइफाइडविरुद्धको खोप लगाउने निर्णय गरेको छ । एलर्जी, एचआइभी–एड्स, ज्वरोका विरामी र कोरोनासहितका अन्य खोप नलगाएका १४ महिना मुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन नमिल्ने स्वास्थ्य प्राविधिकले जनाएको छ ।
विजयकुमार साह ढल्केवर, वैशाख २ गते । मिथिला क्षेत्रमा शुक्रबार परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ ।नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन बिहीबार ‘सतुवाइन’ र आज दोस्रो दिन आज ‘जुडशीतल’मनाइएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यसपर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशिर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हालेर सिँचाई पनि गर्ने गरिन्छ । सो अवसरमा शुक्रबार विहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखि वर्षभरि ‘मगज ठण्डा रहोस्’ भनेर आशिष दिने चलन छ । यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजन नै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोको पूजा पनि गरिन्छ । सो अवसरमा घरका देउताका साथै चुलो र चौंखटको पूजा गरी खाना, दही र चिनी प्रसादका रुपमा चढाउने गरिन्छ । प्रसादका रुपमा चढाइएका खानाको परिकार नयाँ माटाको भाँडोमा एक दिनअगावै पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।
वासिङ्टन, वैशाख २ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् ।बुधबार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने बिचार गरिरहेको छ । उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ । ‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं, साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन् । थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् ।
काठमाडौं, वैशाख २ गते । हामी सबैले सुन्दै आएको शब्द हो, एलर्जी । सामान्यतः छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो जुनसुकै उमेरसमूहका मानिसलाई पनि हुने गर्छ । अध्ययनका अनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ । सामान्य रुपमा लिइने एलर्जीलाई हेलचेक्राई गरियो भने ज्यान पनि लिन सक्ने चिकित्सक बताउँछन् । एलर्जी विभिन्न कारणले हुने चिकित्सक बताउँछन् । मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने चिकित्सक बताउँछन् । वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा सन्जुबाबु श्रेष्ठका अनुसार खाना, धुलो, फुलको कण, बनस्पतिको पात र किराको टोकाईलगायतबाट एलर्जी हुन्छ । एलर्जी शरीरको जुनसुकै भागमा हुने भएपनि खुला भागमा बढी एलर्जी देखिने डा श्रेष्ठ बताउनुहुन्छ । छालाको एलर्जी के हो ? “कुनै पनि चिजको सम्पर्कमा आउनेबित्तिकै शरीरमा उल्टो असर देखिने अवस्था नै एलर्जी हो,” उहाँ भन्नुहुन्छ, “एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुराप्रति तत्काल प्रतिक्रिया जनाउँछ । शरीरमा एलर्जी पैदा गर्ने पद्धार्थलाई एलर्जन भन्ने गरिन्छ, जुन शरीरभन्दा बाहिरका बस्तुबाट बन्छ ।” एलर्जी हुनुको मुख्य कारण चिकित्सकका अनुसार विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ । किन हुन्छ एलर्जी ? चिकित्सकका अनुसार छालामा एलर्जी भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाछ्यूँ आउने, श्वास नलीमा भए खोकी र दम हुने, छालामा भए चिलाएर डाबर आउने र आँखामा एलर्जी भए आँसु आउने हुन्छ । कहिलेकाँही खानेकुरा, कीराको टोकाइ, कुनै धातुको प्रयोगले एलर्जी हुने गर्दछ । छालाको एलर्जी रगतको जाँच गरे पनि पत्ता लगाउन सकिन्छ । कुनै बेला एलर्जीक टेस्ट गरे पनि के कारणले गर्दा एलर्जी भएको भन्ने पहिचान हुने चिकित्सक श्रेष्ठ बताउनुहुन्छ । उपचार सुरुमा एलर्जी हुनुको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि मात्रै एलर्जीको उपचारमा सहज हुने चिकित्सक बताउँछन् ।
नारायण काफ्लेकाठमाडौँ, वैशाख २ गते । विगत दस वर्षको तुलनामा अदालतहरूको कार्यबोझ शतप्रतिशतसम्म वृद्धि भएको छ । नागरिकका आधारभूत विषयको प्रारम्भिक सुनुवाइ गर्ने जिल्ला अदालतको कार्यबोझ शतप्रतिशतले बढेको छ । सर्वोच्चको कार्यबोझ पनि दस वर्षको तुलनामा ७५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उच्च अदालतहरूको कार्यबोझ पनि ५७ प्रतिशतले बढेको छ । हालै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सर्वोच्चको कार्यबोझ कम गर्न उच्च र जिल्ला अदालतहरूको कार्यक्षेत्र वृद्धिको सुझाव दिए पनि सर्वोच्चको वार्षिक प्रतिवेदनले भने मातहतका अदालतको कार्यबोझ झनै बढेको देखाएको हो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वोच्चले हालै राष्ट्रपतिसमक्ष पेस गरेको थियो । प्रतिवेदनले सर्वोच्चभन्दा जिल्ला अदालतको कार्यबोझ दस वर्षको तुलनात्मक अध्ययनमा बढी देखाएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६८/६९ को तुलनामा २०७७/७८ मा सर्वोच्चमा ७५.६४ प्रतिशतले कार्यबोझ बढेको छ । कार्यबोझ बढे पनि न्यायाधीश सङ्ख्यामा भने २०६८/६९ र २०७७/७८ मा खासै अन्तर परेको पाइन्न । दस वर्षअघि १८ न्यायाधीश रहेकोमा अहिले सर्वोच्चमा २१ न्यायाधीश कार्यरत हुनुहुन्छ । दस वर्षको अवधिमा सर्वोच्चमा जिम्मेवारी सरेका मुद्दाको अनुपात भने शतप्रतिशतभन्दा माथि छ । यस अवधिमा जिम्मेवारी सरेका मुद्दाको अनुपात ११८.४८ प्रतिशतले बढेको छ । सर्वोच्चमा रिटको कार्यबोझ पनि बढेको छ । दस वर्षको अवधिमा ७४ प्रतिशतले रिट कार्यबोझ बढेको छ । आर्थिक वर्ष २०६८/६९ मा १८ हजार ८८ रिट कायम रहेकामा २०७७÷७८ मा ३१ हजार ४७३ पुगेको छ । कार्यबोझ बढ्दा फस्र्योट अनुपात भने घटेको छ । २०.६७ प्रतिशतले फस्र्योट अनुपात घटेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सर्वोच्चसँगै उच्च अदालतमा पनि कार्यबोझ बढेको छ । दस वर्षको अवधिमा उच्च अदालतको कार्यबोझ ५७.३५ प्रतिशतले बढेको छ । दस वर्षअघि कुल मुद्दा सङ्ख्या ३५ हजार ८५४ कायम रहेकोमा अहिले ५६ हजार ४१७ पुगेका छन् । कार्यबोझसँगै उच्च अदालतको मुद्दा फस्र्योट अनुपात पनि बढेको छ । उच्चमा अघिल्लो दस वर्षको तुलनामा ३६.९१ प्रतिशतले फस्र्योट अनुपात बढेको प्रतिवेदनमा जनाइएको छ । उच्चमा जिम्मेवारी सरेका मुद्दाको अनुपात भने १०१ प्रतिशतले बढेको छ । जिल्ला अदालतहरूको कार्यबोझ भने शतप्रतिशतले बढेको छ । जिल्लाको कार्यबोझ १००.३५ प्रतिशतले बढेको छ । दस वर्षअघिको जम्मा लगत ९६ हजार ४२४ रहेकोमा अहिले एक लाख ९३ हजार १८४ कायम भएको छ । फस्र्योट अनुपात पनि यो अवधिमा बढेको छ । अनुपात ८२ प्रतिशतले बढेको छ । जिम्मेवारी सरेका मुद्दाको अनुपात पनि जिल्ला अदालतहरूमा उच्च छ । २०७७÷०७८ को वार्षिक प्रतिवेदनअनुसार जिम्मेवारी सरेका सङ्ख्याको अनुपात १२५.७२ प्रतिशतले बढेको छ ।
भेषराज बेल्बासेकाठमाडौँ, वैशाख २ गते । पछिल्लो समय तरलता समस्या चुलिँदै जाँदा बैङ्कहरूमा निक्षेप सङ्कलन र कर्जा प्रवाहको वृद्धिदरमा समेत सङ्कुचन आएको छ । बैङ्किङ प्रणालीमा तरलताको असर देखिँदा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन र कर्जा प्रवाहमा मात्रै नभई निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदरमा पनि असर देखिन थालेको छ । बैङ्क तथा वित्तीय संस्थाबाट फागुनमा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर पनि ४.६० प्रतिशतले घटेको छ । २०७८ असार मसान्तसम्म १३९९ अर्ब तीन करोड रुपियाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई २०७८ फागुन मसान्तमा ११७१ अर्ब कायम हुने देखिएको छ । उक्त सञ्चिति करिब ६.७ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिन्छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको १२.८० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो वृद्धि १७.४० प्रतिशत रहेको थियो ।चालू आर्थिक वर्ष २०७८÷७९ को चैतको अन्तिम सातामा वाणिज्य बैङ्कहरूमा तीन अर्ब रुपियाँ मात्र निक्षेप थपिएको छ भने सोही अवधिमा बैङ्कहरूको कर्जा प्रवाह पनि दुई अर्ब रुपियाँमा सीमित भएको छ ।नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार चैत तेस्रो साता अर्थात् चैत १८ देखि २५ गतेसम्म वाणिज्य बैङ्कहरूमा तीन अर्ब रुपियाँ मात्र निक्षेप थपिएको थियो भने कर्जा प्रवाह दुई अर्ब रुपियाँ भएको थियो ।चैत पहिलो सातमा बैङ्कहरूको निक्षेप तथा कर्जा दुवै घटेको थियो । पहिलो सातामा निक्षेप पाँच अर्ब तथा कर्जा लगानीमा चार अर्बले गिरावट आएको थियो । दोस्रो साता बैङ्कहरूमा दुई अर्ब निक्षेप थपिएको थियो भने दुई अर्ब नै थप कर्जा प्रवाह गरेका थिए । त्यस्तै तेस्रो सातामा एक अर्ब निक्षेप उठाएर छ अर्ब कर्जा प्रवाह गरेका थिए ।चालू आर्थिक वर्षको चैत २५ गतेसम्म बैङ्कहरूले ४३ खर्ब ३४ अर्ब निक्षेप सङ्कलन गरेर ४१ खर्ब ७७ अर्ब कर्जा विस्तार गरेको एसोसिएसनले जनाएको छ । गत फागुन मसान्तसम्ममा बैङ्कहरूले ४३ खर्ब ३३ अर्ब निक्षेप उठाएर ४१ खर्ब ७२ अर्ब कर्जा विस्तार गरेका थिए । पछिल्लो केही महिनादेखि बैङ्कहरूको निक्षेप सङ्कलनमा कमी आउन थालेपछि कर्जा लगानीमा नियन्त्रण गर्दै आएका कारण कर्जा प्रवाह पनि घट्दो क्रममा रहेको छ ।
सुकृत नेपालकाठमाडौँ, वैशाख २ गते । वर्ष २०७८ मा नेपाली रङ्गमञ्चमा खासै चहलपहल हुन सकेन । कारण, कोरोनाको तेस्रो लहर । यसले नेपाली रङ्गमञ्चलाई अधिक नै असर ग¥यो । यसका कारण धेरै रङ्गकर्मी आर्थिक चपेटामा पनि परे । धमाधम नेपाली थिएटरहरूमा नाटक बन्द भए । यसबीच रङ्गकर्मीले भर्चुअल माध्यमबाट केही नाटक देखाउने काम नगरेका होइनन् तर प्रत्यक्ष नाटक देखाउँदा भेटिने ऊर्जा दर्शकहरूले सम्भवतः भर्चुअल प्रदर्शनमा पाउन सकेनन् । वर्षको सुरुमै बन्दजस्तै हुन पुगेको रङ्गमञ्च गत वर्षको मध्यतिर भने केही तङ्ग्रिन थाल्यो । मण्डला, कुञ्ज, कौसी, पुरानो घर, थिएटर मल, शैली, शिल्पीलगायतका मोफसल र राजधानीमा अवस्थित थिएटरहरूमा पूरै जोश र जाँगरका साथ नाटकहरू मञ्चन हुन थाले । अहिले त्यसैको निरन्तरता जारी छ । मण्डलामा यस वर्ष १६ जना विद्यार्थीले डेढवर्षे तालिमपछि अभिनय गरेको नाटक ‘जिजीविषा’, राजन खतिवडा निर्देशित ‘रोगन’, दयाहाङ राई निर्देशित ‘मीतज्यू’ र सोमनाथ खनाल निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मञ्चन भयो । यस्तै २०७८ सालको उत्तराद्र्धमा कौसी थिएटरमा आकाङ्क्षा कार्की निर्देशित ‘एनिमल फर्म’ र ‘हरेक बबाल कुरा’, चन्द्रमान भैरव निर्देशित ‘पचली भैरव’ र आशान्त शर्मा निर्देशित ‘ढल्केको सालैजो’ मञ्चन भएको थियो । सबै नाटकले अपेक्षित दर्शक पाए । वर्ष २०७८ मा एक दशकअघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आयो । रङ्गकर्मी सुनील पोखरेलले नै यो थिएटर सञ्चालनमा ल्याएका हुन् ।काठमाडौँ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित कुञ्ज थिएटरमा ‘फेरि गुरुकुल’ सञ्चालनमा आएको हो । थिएटर सुरु भएसँगै सुनील पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’को पहिलो मञ्चन गरिएको थियो । पुतलीको घरपछि गुरुकुलमा ‘ताराबाजी लै लै’ मञ्चन भयो । यसै वर्ष कुञ्ज थिएटरमै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भारतीय रङ्गकर्मी तथा प्रशिक्षक अमित बेनर्जीले सात दिन भ्वाइस एन्ड स्पिचको कार्यशाला दिएका थिए । कार्यशालामा देशका ३४ नाट्य संस्थासँग आबद्ध ३४ कलाकारको सहभागिता थियो । यस्तै सिनामङ्गलस्थित पुरानो घर थिएटरले यो वर्ष तीनवटा नाटक मञ्चन ग-यो । ‘म’, ‘लाटीको छोरो’ र ‘खत’ पुरानो घरमा यो वर्ष मञ्चन भएका नाटक हुन् । तीनवटै नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । सबै नाटकले औसत दर्शक बटुलेका थिए । वर्ष २०७८ मा थिएटर मल कीर्तिपुर रङ्गमञ्चले एउटा मात्र नाटक मञ्चन ग-यो । नाटक ‘शिरीषको फूल’ । नाटक अञ्जान प्रदीपले निर्देशन गरेका हुन् भने नाटकको परिकल्पना केदार श्रेष्ठले गरेका हुन् । नाटकले राम्रो दर्शक बटुलेको थियो । यही नाटक पोखराको पोखरा थिएटरमा पनि मञ्चन गरियो । कोरोना कहरले अर्को त्राहिमाम ल्याएन भने यस वर्ष दुई वर्ष लामो महामारीको साङ्लोबाट उम्किएर नेपाली थिएटरले आफ्नो लय समात्ने विश्वास लिन सकिन्छ । थिएटरमा मञ्चनको लामो अन्तरालपछि नयाँ नाटकको तिर्खामा दर्शकहरू पनि सम्भवतः प्रेक्षालयसम्म पुग्न आतुर छन् ।
गोरखापत्र समाचारदाताभक्तपुर, वैशाख २ गते । भक्तपुरस्थित भेलुखेलमा दुईहाते बिस्काः जात्राको लिङ्गो ठूलो प्रयासपछि बिहीबार मध्याह्न ठड्याइएको छ । लिङ्गो उठाउन लिङ्गोको फेदमा राखिने कैँची काठको टेको व्यवस्थापन नहुँदा बुधबार साँझ लिङ्गो उठाउन सकिएको थिएन ।लिङ्गो उठाइएपछि भक्तपुरमा खुसियाली छाएको छ । हिजै हुनुपर्ने भोजभतेर लिङ्गो उठाइएपछि सुरु भएको छ । गुठी संस्थान भक्तपुर शाखा प्रमुख खिमा वलीका अनुसार जात्रालाई व्यवस्थित गरिए पनि सधैँ यस्तै हुने गरेको यो जात्राको इतिहास छ । भक्तपुरको तालाकु वडा नं. २ स्थित पोट्री स्क्वायरमा बुधबार बिस्काः जात्राको लिङ्गो ठड्याइएको थियो । चैत मसान्तका दिन लिङ्गो ठड्याइएपछि उपत्यकाको नेवार बस्तीमा नयाँ वर्षको उल्लाससँगै जात्रा–पर्व सुरु हुने गर्छ । नेपाल रेडक्रस सोसाइटी नवदुर्गा समितिका सभापति तुल्सीनारायण दण्डेख्याका अनुसार भक्तपुर सहरबाहिरका जात्रालुले जात्रा बिथोलिरहेका थिए । घाइते भई उपचार गर्न आउने सबैजसो भक्तपुर भित्री सहरबाहिरका थिए । उनीहरूबाटै लिङ्गो निर्धारित समयमा उठाउन नसकिएको ठम्याइ छ । बिहीबार टोखा नगरपालिका–४ मा सपन तीर्थ मेला भर्न निकै मानिस टोखा आए । वडाध्यक्ष दीपकराज जोशीका अनुसार कुनै राजाका समयमा छोरीलाई कुष्ठरोग भएपछि सपनामा तीर्थस्थलमा स्नान गर्नू भनिएकाले सपना तीर्थ (सपन तीर्थ)मा दुनियाँदारले पनि मेला भरेर स्नान गर्ने प्रचलन रहेको कथन छ । ललितपुरको सुनाकोठीमा पनि नयाँ वर्षको दिन लिङ्गो ठड्याएर सिन्दुरे जात्रा भएको छ । सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव संरक्षण समितिका अध्यक्ष रामकृष्ण महर्जनले बिहानैदेखि जात्रामा आउनेले लिङ्गो ठड्याए । भक्तपुर दधिकोटस्थित चित्रपुरमा र चारखण्डीमा भैरव तथा गणेशको जात्रा सुरु भएको छ । काठमाडौँमा सेतो मत्स्येन्द्रनाथ रथयात्रालाई लगनटोलमा रहेकी उनकी आमाको मन्दिर परिक्रमा गराई बुधबारबाट मत्स्येन्द्रनाथ रथयात्रा समापन भएको छ ।
शान्ता अधिकारी चितवन, वैशाख २ गते । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनमा चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीनवटै पार्टीले पहिलो चरणको चुनावी घरदैलो पूरा गरेर पालिका तहका उम्मेदवार घोषणाको तयारीमा छन् ।महानगर प्रमुखमा एमालेले बागमती प्रदेश सभा सदस्य विजय सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । माओवादी केन्द्रले रेनु दाहाललाई नै नगरप्रमुखको उम्मेदवार बनाउने भएको छ । काँग्रेसमा भने आकाङ्क्षीहरू धेरै देखिएका छन् । जिल्ला पार्टी सभापति राजेश्वर खनालका अनुसार महानगर प्रमुखमा २५ र उपप्रमुखमा २४ जनाले पार्टीसमक्ष उम्मेदवारी दाबी पेस गरेका छन् ।वैशाख ४ गतेभित्र सहमति गरी केन्द्रमा नाम पठाउने परिपत्र सत्तारूढ पाँच दलको केन्द्रीय परिपत्र भए पनि चितवन जिल्लामा कस्तो गठबन्धन बन्ने भन्ने अझै निश्चित भइसकेको छैन ।एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेको चितवन जिल्लामा गत स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा जितेको थियो । काँग्रेसले इच्छाकामना गाउँपालिकामा मात्र जितेको थियो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा एमालेले जितेको थियो । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने जिल्लामा सातवटै स्थानीय तहमा एमालेको जित सुनिश्चित भएको दाबी गर्नुहुन्छ । उहाँका अनुसार एमालेले भरतपुर महानगरपालिका प्रमुख र १५ वटा वडाका वडाध्यक्ष र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा पार्टीले सर्वसम्मतिले उम्मेदवार चयन गरिसकेको छ । एक÷दुई दिनभित्र जिल्लाका वडाको उम्मेदवार तय गर्ने तयारी भएको भन्दै मिल्न नसकेका स्थानको हकमा प्रदेश कमिटीमा पठाउने र निर्णय गर्ने न्यौपानेले बताउनुभयो ।काँग्रेसका जिल्ला सभापति खनालले जिल्लामा आएका नामावली रायसहित प्रदेश समितिमा पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका सातवटा पालिकामध्ये कुनै पनि पालिकाको प्रमुख र उपप्रमुखमा निर्विरोध सिफारिस भएको छैन । उहाँले गठबन्धनलाई मान्ने तर महानगरको प्रमुख पद काँग्रेसले पाउनुपर्ने जिल्ला पार्टीको ‘वटम लाइन’ भएको दाबी गर्नुभयो ।माओवादी केन्द्रको जिल्ला समन्वय समिति चितवनका संयोजक रामचन्द्र अधिकारीका अनुसार पार्टीले भरतपुर महानगरबाहेक अन्य स्थानीय तहमा अझै निर्णय गरिसकिएको छैन । गठबन्धनका स्थानीय नेतृत्वबीच औपचारिक अनौपचारिक छलफल भइरहेको भन्दै उहाँले भन्नुभयो, “पाँच गतेभित्र जिल्लाबाट केन्द्रमा गठबन्धनका उम्मेदवारको नामावली पठाउने गरी तयारी भइरहेको छ ।”भरतपुर महानगर यतिबेला देशकै बहसको केन्द्रमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला र उहाँको निर्वाचन क्षेत्रमा पर्ने भएर मात्र होइन उहाँकी छोरी वर्तमान महानगर प्रमुखसमेत हुनुहुन्छ । गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय भइरहँदा महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस दुवैले दाबी गरिरहेका छन् । माओवादी केन्द्रले नगरप्रमुख दाहाललाई नै दो¥याउने तयारीमा छ । उता काँग्रेस महानगरको नेतृत्व छोड्ने पक्षमा देखिँदैन । २०७४ को स्थानीय तहको निर्वाचनमा छ पालिकामा एक्लाएक्लै उम्मेदवारी दिएको काँग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखमा भागबन्डा गरी चुनावी तालमेल गरेका थिए ।अन्योलमा गठबन्धनका दल सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्लामा गठबन्धनमा रहेका दलहरू उम्मेदवार छान्न अलमलमा परेका छन् ।नौवटा स्थानीय तहमा गरी ७९ वटा वडा रहेको सिन्धुली जिल्लामा नेकपा एमालेले उम्मेदवार टुङ्ग्याउँदै गएको जनाएको छ । कुन पालिका र वडा कसलाई भन्ने भागबन्डा नटुङ्गिँदा उम्मेदवार चयन प्रक्रिया अघि बढ्न नसकेको गठबन्धनमा रहेका राजनीतिक दलहरूले जनाएका छन् ।नेपाली काँग्रेस सिन्धुलीका सचिव ईश्वर बस्नेतले वैशाख ३ गतेसम्म उम्मेदवार टुङ्ग्याएर प्रदेश समितिमा पठाउन केन्द्रबाट सकुर्लर भएकोले त्यति बेलासम्म सबै कुरा मिल्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “जुन पालिकामा जुन दलले जितेको छ, त्यो उसैलाई र वडाको हकमा भोटका आधारमा भागबन्डा गर्ने तयारी भएको छ । कतै भूगोल मिलाउन तलमाथि हुन सक्छ ।” जिल्लाका नौवटा पालिकामध्ये काँग्रेसले तीन, नेकपा माओवादी केन्द्रले तीन र नेकपा एमालेले तीनवटा पालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा जितेका थिए । गठबन्धनको मुख्य दल काँग्रेसको तीनपाटन गाउँपालिका, फिक्कल गाउ“पालिका र दुधौली नगरपालिकाले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । तीमध्ये तीनपाटनमा काँग्रेसले गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरलाई पुनः अध्यक्षमा उठाउने सर्वसम्मत सिफारिस गरेको छ ।नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लेखनाथ दाहालले गठबन्धनको विषय टुङ्गो नलाग्दा अन्योल नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैठक बस्ने तयारीमा छौँ । पहिल्यै उम्मेदवारी घोषणा गर्दा गठबन्धनमा हुने भागबन्डामा कुन कसलाई पर्छ यकिन नभएकाले पछि उम्मेदवारी फिर्ता गर्नुपर्ने हुन्छ कि भन्ने अन्योल छ ।”गठबन्धनमा रहेका दलले बनाएको पालिका स्तरीय संयन्त्रले आफ्नो प्रतिवेदन बुझाइसकेकाले त्यसलाई अध्ययन गरी टुङ्गोमा पुगिने उहाँको भनाइ छ । निर्वाचन लक्षित पार्टी कार्यक्रम र गतिविधि भने भइरहेको उहाँले सुनाउनुभयो ।उता नेकपा एमालेले भने नौवटा पालिकामध्ये गोलन्जोर र मरिण गाउँपालिकामा अध्यक्ष सर्वसम्मत चयन गरेको छ । गोलन्जोर गाउँपालिकामा शङ्कर बराल र मरिण गाउँपालिकामा गोविन्दलाल माझीलाई अध्यक्षमा उठाउने पालिका स्तरीय कमिटीले सर्वसम्मत निर्णय गरी जिल्ला कमिटीमा सिफारिस गरेको एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख सञ्जय दाहालले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “अन्य पालिकामा अध्यक्षको आकाङ्क्षी धेरै भएकाले जित्ने आधार के हो भनी आकाङ्क्षीबीच छलफल चलाइरहेका छौँ । अब सबैको नाम प्रदेश कमिटीमा पठाउछौँ ।” वडाध्यक्षको हकमा भने अधिकांश वडामा उम्मेदवारी टुङ्गिसकेको उहाँको भनाइ छ ।आकाङ्क्षी धेरै हुँदा समस्या दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार स्थानीय निर्वाचनका लागि दोलखामा क्रियाशीला दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भएको छ । स्थानीय तहका प्रायः सबै पदमा आकाङ्क्षी धेरै हुनुका साथै गठबन्धनले समेत आफूले पाउने पालिका टुङ्ग्याउन नसक्दा उम्मेदवार छनोट गर्न सकस भएको बताइएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसबीच आउँदो आइतबारसम्म स्थानीय तहको भागबन्डा टुङ्ग्याउने सहमति भएको छ । दोलखाका काँग्रेस सभापति बर्मा लामाले भन्नुभयो, “एक त गठबन्धन अर्कोतर्फ हरेक पदमा पाँच÷सात जना आकाङ्क्षी देखिएका छन् । पहिला पालिकाको भागबन्डा टुङ्गिन्छ, त्यसपछि पार्टीको उम्मेदवार टुङ्ग्याउनुपर्छ । तालमेल भए पनि नभए पनि ७ गते संसदीय समितिमार्फत उम्मेदवार टुङ्गो लगाउनैपर्छ । विधानले दिएको अधिकार प्रयोग गरी सात गाउँपालिकाको यहीँबाट र दुई नगरपालिकाको केन्द्रमा सिफारिस पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पार्टीको विधानअनुसार नगर÷पालिकाले सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिसकेका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक कुलबहादुर बुढाथोकीले भन्नुभयो, “काँग्रेस चार, माओवादी चार र नेकपा एसलाई एउटा स्थानीय तह दिने गरी तालमेल गर्ने सहमति भएको छ । नगर र पालिका तोक्न बाँकी छ । यो टुङ्गो लागेपछि उम्मेदवार छनोट भइहाल्छ । आकाङ्क्षी धेरै भए पनि पालिकाले छनोट गर्ने भएकाले त्यति सकस नहोला । नेकपा एमालेमा पनि आकाङ्क्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न सकस नै भएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठले भन्नुभयो, “पालिकाभन्दा नि नगरमा धेरै आकाङ्क्षी देखिएका छन् । आन्तरिक छलफल सघन रूपमा चलिरहेको छ । सर्वसम्मतीबाटै उम्मेदवार छनोट हुनेमा आशावादी छौँ ।” गठबन्धन छलफलमा सीमितसिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्न दलहरूलाई सकस भएको छ । स्थानीय सरकारको नेतृत्वमा लिन आकाङ्क्षीहरूको सङ्ख्या बढेपछि पार्टीहरूले पालिकादेखि वडासम्मको उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । चुनावमा तालमेल गर्न सैद्धान्तिक सहमति गरेका सत्ता गठबन्धनले कुन पालिकामा कसरी तालमेल गर्ने भन्नेबारे अहिलेसम्म सहमति गर्न सकेका छैनन् । सत्ता गठबन्धन छलफलमा मात्रै सीमित भइरहेको छ । उम्मेदवारको मनोनयन दर्ता गर्न अब १२ दिन बाँकी छ तर अहिलेसम्म गठबन्धनका दलहरूले आफूले पाउने पालिकाका विषयमा छलफलसमेत अगाडि बढाएका छैनन् र कुन स्थानीय तह आफूले पाउने भन्नेमा अल्झेका छन् । बरु गठबन्धनका दलहरू आआफ्नै उम्मेदवार छनोट गर्न व्यस्त छन् । सत्ता साझेदार नेपाली काँगे्रस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाले पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्ष र सदस्यहरूका उम्मेदवार सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्न सकेका छैनन् । वडा सदस्यदेखि पालिका अध्यक्ष, प्रमुखसम्म दर्जन आकाङ्क्षी भएपछि उम्मेदवार छनोटमा विवाद बढेको छ । एकीकृत माओवादी केन्द्रका केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा ‘सुवोध’ले गठबन्धन दलबीच छलफल चलिरहेको जानकारी दिनुभयो । आआफ्ना धाराण राख्ने, कुन पालिका र वडा कुन पार्टीले पाउने भन्नेबारे छलफल जारी रहेको उहाँले बताउनुभयो । काँगे्रस र माओवादीसहितका दललाई बराबरको भागबन्डा मिलाइनुपर्नेमा माओवादीको दाबी छ । माओवादीले पालिकादेखि वडासम्मका सिफारिस वैशाख ५ गतेभित्र प्रदेश कमिटीमा पठाउने भएको छ । काँगे्रसका जिल्ला सभापति जङ्गबहादुर लामाले सत्ता गठबन्धन दलबीच सकरात्मक छलफल चलिरहेको बताउनुभयो । “निश्चित आधार र मापदण्ड बनाएर पालिकादेखि वडासम्मको भागबन्डा मिलाउन लागिरहेका छौँ,” सभापति लामाले जानकारी दिनुभयो । सत्ता गठबन्धनका दललाई कुन र कति स्थानीय तह दिन सकिन्छ भन्नेबारे पार्टीमा छलफल जारी रहेको भन्दै पालिकाको उम्मेदवार तय गरी वैशाख ३ गतेभित्र प्रदेश समितिमा पठाइने जानकारी दिनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष कमल नेपालले वडा सदस्यदेखि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहितको आकाङ्क्षीको सूच बागमती कमिटीमा बुझाउन लागिएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने भए पनि कतिपय स्थानमा राप्रपा नेपालसँग गठबन्धन गरेर जाने कि भन्नेबारे छलफलमा उठेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा १२ स्थानीय तहमा १०३ वडा रहेका छन् । गठबन्धनको निर्णय कुर्दै एमाले बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार स्थानीय निर्वाचनको मिति आउन २८ दिन बाँकी रहँदा राजनीतिक दलहरू उम्मेदवारहरू छनोटमा अझै अलमलमा रहेका छन् । कुन पालिका र वडा कसरी टुङ्गो लगाउने भन्नेमा सत्ता गठबन्धनका दलहरू छलफलमा रहेका छन् । उता नेकपा एमालेलगायतका दलहरू गठबन्धनका दलहरूको उम्मेदवारको आधारमा आफ्नो उम्मेदवार खडा गर्ने दाउमा रहेका छन् । गठबन्धमा रहेका नेपाली काँग्रेस, नेकपा माओावादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलबीच बढी पालिका र वडा पाउनुपर्ने आआफ्नो दाबी कायमै रहेका कारण पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । काँग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई्रंले गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने विषयले गर्दा हालसम्म उम्मेदवारको टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँले गठबन्धनमा रहेका दलबीच तालमेलबारे छलफल भइरहेको भन्दै पालिका र वडाको विषयमा टुङ्गो लगाउनका लागि शुक्रबार बैठक बोलाइएको बताउनुभयो । यसैगरी नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेलले हालसम्म एक गाउँपालिका र ३८ वटा वडामा सर्वसम्मत उम्मेदवारको टुङ्गो लागेको बताउनुभयो । उहाँले जिल्लाको चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको भन्दै ४५ भन्दा बढी वडामा सर्वसम्मत रूपमा उम्मेदवारको चयन भएको बताउनुभयो । उहाँले आकाङ्क्षी बढी भएका स्थानमा सर्वसम्मत गर्न छलफल अघि बढाइएको बताउनुभयो । माओवादी केन्द्रका जिल्ला सचिव दैवलाल घिसिङले गठबन्धनमा रहेका दलबीच सहमति गरेर निर्वाचनमा जान छलफल भइरहेको भन्दै देखिएका समस्या स्थानीयतरमा नै समाधान गरेर जाने विषयमा गठबन्धनका दलहरू एक रहेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी जिल्ला सचिव दीपक गौतमले गठबन्धनमा रहेका दलबीच आआफ्नै अडान कायम भएकोले उम्मेदवारको टुङ्गो लाग्न नसकेको बताउँदै शुक्रबार र शनिबार बस्ने गठबन्धनका दलहरूको बैठकले पालिका र वडा टुङ्गो लगाउने र टुङ्गो नलागेमा एक्लै निर्वाचनमा जाने बताउनुभयो । यसैबीच नेपाल मजदुर किसान पार्टीले जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर नगरपालिका र चौरीदेउराली गाउँपालिकामा उम्मेदवारी दिने प्रस्ताव केन्द्रमा गरेको जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँले वैशाख ५ गतेभित्र उम्मेदवारको टुङ्गो लगाइने बताउनुभयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठले जिल्लाको १३ वटै पालिका र १३५ वटै वडामा उम्मेदवारी दिने भन्दै अन्य पार्टीसँग तालमेल नहुने बताउनुभयो ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २ गते । हीराकाजी श्रेष्ठको आत्मकथा ‘संसारा’ले संसारको भोकको अवस्था दर्शाउँछ । संसारामा उहाँले आफ्नो जीवनका अनेक पाटोसहित कर्मक्षेत्रको ३४ वर्षे सेवा अवधिमा भोगेको, देखेको सत्यकथालाई पुस्तकको रूपमा सार्वजनिक गर्नुभएको छ । पोखरामा जन्मिनुभएका श्रेष्ठ हुर्कने, पढ्ने परिवेशदेखि जागिरे जीवन, अवकाशप्राप्त जीवनसम्मका सङ्घर्ष, सन्तुष्टिलाई यस पुस्तकमा पढ्न पाइन्छ । श्रेष्ठले दुई दशकसम्म संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमअन्तर्गत नेपालमा काम गर्नुभयो । त्यसपछि खाद्य सङ्कटमा रहेका अन्य मुलुकमा पुगेर काम गर्ने क्रममा देख्नुभएको यथार्थ घटना, खानाको अभावले हुने द्वन्द्व, लुटपाटदेखि हिंसात्मक गतिविधि, अभावबाट प्रभावित महिला, बालबालिकाको कारुणिक अवस्थाले मन अमिलो बनाउँछ । पुस्तकमा कर्ण शाक्य लेख्नुहुन्छ, “हीराकाजीको जीवन साढे तीन दशक विश्व खाद्य कार्यक्रममा काम गरेको साधनाको फल हो ।” उहाँले वि.सं. २०२८ मा एसएलसी परीक्षाको नजिता हेर्न पोखरा विमानस्थल पुगेर गोरखापत्र दैनिकका लागि हवाईजहाज पर्खेको, सोही वर्ष पोखराबाट उच्च शिक्षा पढ्ने धोको लिएर हवाईजहाजमा ६२ रुपियाँ तिरेर राजधानीमा आएको सम्झना पनि पुस्तकमा लेख्नुभएको छ । त्यसैगरी राजधानीमा साथीसँग समूहमा मिलेर बस्दा ५२ पैसा छाकको खाना खाएर पढ्नुभएको सम्झनाले त्यति बेलाको बजारभाउको अवस्था देखाउँछ । हाल उहाँ बागवानी फर्ममा रमाइरहनुभएको छ । घोस्ट राइटिङ नेपालमार्फत बजारमा आएको यस पुस्तक बिक्रीबाट आएको रकम पनि समाजसेवामा समर्पित गर्ने लक्ष्यले पोखरेली दिदीबहिनी समूहद्वारा सञ्चालित ‘असहाय बालबालिका शिक्षा विकास कोष’को खातामा जम्मा गर्ने लेखकको उद्देश्य छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एसिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान पदक’बाट विभूषित हुनुभएको छ । नेपाल स्काउटद्वारा बिहीबार राजधानीमा आयोजित ‘मेधावी योगदान पदक’ सुशोभन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पदकबाट विभूषित गर्नुभयो । स्काउटको विकास र विस्तारमा महìवपूर्ण योगदान गरेको भन्दै नेपाल स्काउटका पूर्वसंरक्षकसमेत रहनुभएका ओलीलाई ‘मेधावी योगदान पदक’ले सुशोभित गरिएको थियो ।प्रत्येक वर्ष विश्व स्काउटको एसिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गर्दै आएको छ । नेपाल स्काउटका अनुसार ‘मेधावी योगदान पदक’बाट विभूषित हुने ओली पहिलो नेपाली हुनुहुन्छ । विश्वमा अहिलेसम्म ११ जना यस पदकबाट विभूषित भइसकेका छन् ।सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल स्काउटको तर्फबाट नेपालको पहिलो स्काउट मास्टर ९५ वर्षीय गोविन्दनारायण ज्यापूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । पदक प्रदान गर्दै राष्ट्रपति भण्डारीले स्काउटले बालबालिका तथा युवालाई कर्तव्यपरायण बनाएर सभ्य, सुसंस्कृत र विकसित समाज निर्माण गर्न ठूलो योगदान पु¥याइरहेको चर्चा गर्नुभयो । ‘मेधावी योगदान पदक’बाट विभूषित ओलीले यस क्षेत्रमा लाग्न अरू नेपालीलाई समेत प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले आफू यो पदक स्वीकार गरेको बताउनुभयो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले ‘एक घर, एक स्काउट र एक पालिका, एक स्काउट एकाइ’ गठन गर्ने उद्देश्यसहित’ मुलुकको ७५३ वटै स्थानीय तहमा स्काउट विस्तारकार्य भइरहेको जानकारी दिनुभयो । सन् १९०७ मा बेलायतमा स्थापना भएको स्काउट ४५ वर्षपछि सन् १९५२ मा नेपालमा स्थापना गरिएको थियो ।
गोरखापत्र समाचारदाता काठमाडौैँ, वैशाख २ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिद गरेको रकम भुक्तानी गर्न सरकारसँग दुई अर्ब रुपियाँ ऋण मागेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमको घाटामा चुलिँदै गएको छ । आगामी दिनमा तेल खरिद गर्न रकम अभाव भएपछि निगमले सरकारसँग ऋण मागेको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सञ्चित कोष र मूल्य स्थिरीकरण कोषमा भएको रकम सकिएपछि सरकारको जमानीमा राष्ट्रिय वाणिज्य बैङ्कमार्फत दुई अर्ब ऋण माग गरिएको जानकारी दिनुभयो । “इन्डियन आयल कर्पाेरेसन (आईओसी)लाई इन्धन खरिद गरेको रकम भुक्तानी गर्नका लागि अपुग भएकाले ऋण मागेका छौँ,” साहले भन्नुभयो, “आगामी २३ अप्रिलमा आईओसीलाई इन्धन खरिदको १४ अर्ब ६५ करोड रुपियाँ भुक्तानी गर्न‘पर्नेमा निगमलाई दुई अर्ब रुपियाँ अपुग छ ।”“राष्ट्रिय वाणिज्य बैङ्कमार्फत ऋण लिनका लागि सरकार जमानत बस्नुपर्छ,” साहले भन्नुभयो, “यसका लागि उद्योग वाणिज्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेका छाँै ।” साहका अनुसार निगमसँग भएको १९ अर्ब सञ्चित मुनाफा र मूल्य स्थिरीकरण कोषमा भएको १४ अर्ब रुपियाँ सकिसकेको छ । पछिल्लो एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगम घाटामा छ । आर्थिक वर्ष २०७१/७२ देखि २०७७/७८ वर्ष निगम नाफामा थियो । त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले निगम नाफा कमाएको थियो । जसका कारण गर्दा आर्थिक वर्ष २०७७/७८ असारसम्म निगमले १९ अर्ब सञ्चित मुनाफा जम्मा गरेको छ । कोभिडका कारण गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा तेलको उत्पादन कम भएसँगै मूल्य बढ्न थाल्यो । त्यसको स्थानीय बजारमा प्रभाव पर्न थाल्यो । निगम आर्थिक वर्ष २०५९/६० देखि २०७० सम्म घाटामा गएको थियो । सो अवधिको बीचमा एक वर्ष (२०६५/६६)मा भने नाफामा गयो । सो अवधिमा लामो समयसम्म घाटामा गएर निगमको ऋण ३७ अर्ब रुपियाँ पुगेको थियो । त्यतिबेला निगमले सरकार जमानत बसेर बैङ्कमार्फत ऋण लिएर तेल खरिद गरेको रकम भुक्तानी गरेको थियो । आव २०७१/७२ पछि लगातार छ वर्ष नाफामा गएको निगम गत वर्षदेखि मूल्य बढेको कारण घाटामा गएर ऋण लिनुपर्ने अवस्थामा पुगेको साह बताउनुहुन्छ । हाल निगमको मूल्य स्थिरीकरण कोषमा ३० करोड रुपियाँ मात्र रहेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अहिलेको खरिद तथा बिक्री मूल्यका आधारमा एक महिनामै १० अर्ब रुपियाँ घाटा पुगेको छ । पछिल्लो पटक इन्धनको मूल्य वृद्धि गर्दा पनि गत महिना नौ अर्ब २७ करोड रुपियाँ घाटा बेहोर्न‘परेको निगमले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म निगम ३३ अर्ब ४० करोड घाटामा गएको छ । निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपियाँ घाटा रहेको छ । यस्तै पेट्रोल प्रतिलिटर २२ रुपियाँ ९८ पैसा र डिजल २८ रुपियाँ घाटा रहेको छ । मट्टीतेल प्रतिलिटरमा छ रुपियाँ ९९ पैसा र हवाई इन्धन आन्तरिकमा १७ रुपियाँ र बाह्यमा ६७ रुपियाँ ६५ पैसा नाफामा रहेको छ । छिमेकी मुलुक भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर २७ र डिजेल २० रुपियाँ सस्तो रहेको छ ।दुई खर्बको इन्धन आयातनिगमका अनुसार चालू आर्थिक वर्षको साउनदेखि १५ चैतसम्म एक खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपियाँ बराबरको २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन आयात भएको छ । आव २०७७/७८ मा एक खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले झन्डै दुई खर्ब रुपियाँ बराबरको इन्धन आयात भएको निगमको तथ्याङ्क छ । त्यस्तै साउनदेखि १५ चैतसम्म १२ लाख २४ हजार ५१२ किलोलिटर डिजल, पाँच लाख १९ हजार १८ किलोलिटर पेट्रोल, ११ हजार ७७८ किलोलिटर मट्टीतेल, एक लाख ८५ हजार ५६ किलोलिटर हवाई इन्धन आयात भएको छ । खाना पकाउने एलपी ग्यास भने तीन लाख ७२ हजार ८१३ मेट्रिक टन आयात भएको छ । बजारमा मासिक पेट्रोल ६१ हजार किलोलिटर, डिजल एक लाख ४४ हजार किलोलिटर खपत हुने गरेको छ । यस्तै मट्टीतेल एक हजार ३८५ किलोलिटर, हवाई इन्धन १२ हजार ७७१ किलोलिटर मासिक खपत हुने गर्छ । खाना पकाउने एलपी ग्यास ४३ हजार ८६० मेट्रिक टन खपत हुने गरेको निगमको तथ्याङ्क छ ।
धनगढी समाचारदाताधनगढी, वैशाख २ गते । जङ्गलमा पाइने औषधीय गुण भएको महुवा सङ्कलनको याम सुरु भएको छ । महुवाको रुखबाट फूल झर्न थालेपछि कैलालीको वन क्षेत्र आसपासका बासिन्दाले महुवा सङ्कलन गर्छन् । वसन्त ऋतु सुरु भएसँगै महुवाको रुखबाट फूल झर्ने गर्छ । सोही फूल स्थानीयवासीले सङ्कलन गर्ने गर्छन् । स्थानीयस्तरमा महुवाबाट सुगन्धित रक्सी बनाउने गरिएको छ । अहिले गहुँ भित्र्याउने चटारो भए पनि महुवा बटुल्नेको पनि कमी छैन । खास गरेर ज्येष्ठ नागरिक, बालबालिका महुवा बटुल्न वन पस्ने गरेका छन् । गहुँ भित्र्याउने चटारोसंँगै अहिले महुवा बटुल्ने काम पनि भइरहेको भजनी नगरपालिका–३ का विक्रम चौधरीले बताउनुभयो । “स्थानीय गाउँवासीले महुवाको रक्सी बनाउने गर्छन्,” उहाँले भन्नुभयो, “यसको रक्सी राम्रो हुने गरेकाले महुवा बटुल्नेको वनमा तँछाडमछाड नै हुने गरेको छ ।”महुवाबाट औषधिसमेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमा मात्रै सीमित रहेको पाइएको छ । राम्ररी अध्ययन गरेर यसको थप सदुपयोग गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने संरक्षणकर्मीसमेत रहनुभएका विजयराज श्रेष्ठ बताउनुहुन्छ । “महुवा बहुउपयोगी फूल हो । यो धेरै चिजमा औषधिको रूपमा काममा आउन सक्छ,” उहाँले भन्नुभयो, “तर यसको बारेमा विस्तृत अध्ययन नभएका कारण गाउँघरमा केवल रक्सी बनाउन मात्रै महुवा सीमित छ ।” महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिको वृक्षको फूल हो । वसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्छ । झरेको फूललाई स्थानीयवासीले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्छन् । महुवा शक्तिवद्र्धक जडीबुटी रहेको कतिपयको बुझाइ छ । महुवा दूध वा तातोपानीमा मिसाएर खाए पनि शरीरलाई धेरै फाइदा गर्ने गरेको बताउँछन् । महुवा परम्परागत रूपमा स्थानीय थारू समुदायले प्रयोग गर्ने औषधीय गुण भएको जडीबुटी रहेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टले बताउनुभयो । “औषधीय गुण भएको यसलाई थारू समुदायले रक्सी बनाउन प्रयोग गर्दै आएका छन्,” उहाँले भन्नुभयो, “यो के–केमा उपयोगी हुन सक्छ भन्ने पत्ता लगाउन हामी अनुसन्धान गर्नेछौँ ।” महुवा बहुउपयोगी हुन सक्ने भन्दै उहाँले यसको संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।