• ३१ असोज २०८२, शुक्रबार

‘जेनजी आन्दोलनलाई देशी–विदेशी प्रपञ्च भनेर टार्न मिल्दैन’

blog

नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल

काठमाडौँ, असोज ३० गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई देशी–विदेशी प्रपञ्च भनेर टार्न नमिल्ने बताउनुभयो ।

पार्टी केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले आन्दोलनको गम्भीर समीक्षा गरी नेतृत्व तहदेखि नै रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकादेखि उच्च सरकारी निकायमा भएका तोडफोड र आगजनीका घटनाबारे तत्कालीन सरकारसँग जानकारी थियो वा थिएन भन्ने प्रश्न उठाउनुभयो । 

पोखरेलले भन्नुभयो, “न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाका केन्द्रहरू, राष्ट्रपति र प्रधानमन्त्रीको निवास, प्रमुख राजनीतिक दलका कार्यालयहरू तथा सयौँ नेता–कार्यकर्ताका घरहरू जलाउने कार्य कसले गरायो ? जेनजी युवाका वास्तविक माग के थिए ? यति ठूलो देशव्यापी हिंसात्मक घटनाको तयारीबारे राज्य संयन्त्रलाई कति जानकारी थियो ? यी सबै प्रश्नको जवाफ खोज्नैपर्छ । यी घटनालाई देशी–विदेशी प्रपञ्च भनेर धुलो टकटकाएर उठ्ने मात्र होइन, अब गम्भीर समीक्षा गरेर नेतृत्व तहदेखि रूपान्तरण गर्नैपर्छ ।”

उहाँले एक व्यक्तिले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै, मन्त्री र सांसद समेत तीन कार्यकालभन्दा बढी नबन्ने नीतिगत व्यवस्था पार्टीले लिनुपर्ने धारणा पनि पोखरेलले राख्नुभयो ।

पोखरेलले पार्टीभित्र युवाको सहभागिता न्यून रहेको भन्दै अब सबै तहका कमिटीमा ३३ प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरूले सहभागिताको माग गरेका छन्, तर हाम्रा कमिटीहरूमा उनीहरूको संख्या नगण्य छ । अब भनौं, सबै कमिटीमा कम्तीमा ३३ प्रतिशत युवाको सहभागिता हुनेछ र महाधिवेशनमा पनि सोही प्रतिशत युवाको प्रतिनिधित्वको सुनिश्चितता गरौँ । यसले युवालाई आफ्नो भविष्य पार्टीमै छ भन्ने विश्वास दिलाउनेछ ।”

उहाँले भ्रष्टाचारमुक्त शासन र सुशासनका लागि युवाले उठाएका मुद्दा जनताले अनुभूत गर्न नसकेको उल्लेख गर्दै पार्टीभित्रका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने प्रस्ताव राख्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्रका उच्च तहका सम्पत्ति र स्रोतको छानबिन गर्न सक्ने शक्तिशाली आयोग गठन गरेर पारदर्शिता कायम गरौँ ।”

पोखरेलले पार्टीमा आन्तरिक लोकतान्त्रिक अभ्यास कमजोर रहेको बताउँदै गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले विगतमा चाहेर वा नचाहेर गुटको भर्‍याङ बनायौँ, अब ती सबै भत्काउनुपर्छ । पार्टीभित्र साँचो लोकतान्त्रिक अभ्यास सुरु गर्न ढिला गर्नु हुँदैन ।”

उहाँले प्रतिनिधिसभा विघटनको परीक्षण सर्वोच्च अदालतले गर्ने बताउँदै अब पार्टी निर्वाचन तयारीमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।