• १३ साउन २०८१, आइतबार

डोटीका ७ पालिकामा काँग्रेस, माओवादी र एमाले एक एकमा विजयी

blog

केशवचन्द्र महरा 

दिपायल, जेठ ४ गते । डोटीका ९ वटै पालिकाहरुमो मत परिणाम सार्वजनिक भएको छ । दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटी जिल्लामा नेपाली काँग्रेस सात वटा पालिकामा विजयी भएको हो । नेपाली काँग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा जित हासिल गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक एक पालिकामा मात्रै विजयी भएका छन् ।

दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा नेपाली काँग्रेस मेयर र उपमेयरसहित विजयी भएको हो । त्यस्तै सायल, आदर्श, पूर्वीचौकी र बडीकेदार गाउँपालिकामा पनि नेपाली काँग्रेस अध्यक्ष र उपाध्यक्षसहित विजयी भएको छ ।

जोरायल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेकपा (एमाले) विजयी भएको छ भने बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमेदवार र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित हुनुभएको छ ।

डोटी जिल्लामा ९ वटा पालिका र ६५ वटा वडाहरु रहेका छन् । ६५ वटा वडाहरु मध्य नेपाली काँग्रेस सबैभन्दा बढी ३९ वडामा विजयी भएको छ । नेकपा एमाले १८, नेकपा माओवादी केन्द्र ५ र नेकपा एकीकृत समाजवादी एक वडामा विजयी भएको छ । त्यस्तै एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।

पूर्वीचौकीमा काँग्रेसको ‘क्लीन स्वीप’

पूर्वीचौकी गाउँपालिकामा नेपाली काँग्रेसले एकलौटी विजय हासिल गरेको छ । सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले काँग्रेसका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले डोटीले जनाएको छ ।

गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय , उपाध्यक्षमा पशुपति खड्का विजयी हुनुभएको हो । उपाध्याय ५ हजार १ सय ३३ मतसहित विजयी हुनुभएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णकुमार खड्काले २ हजार २ सय ५ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उमेदवार देवबहादुर खड्का २ सय ३२ मतमा सीमित रहनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार दीपकबहादुर धामीले २७ मत मात्रै प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि काँग्रेसकै पशुपति खड्का ४ हजार ७ सय २१ मतसहित विजयी हुनुभएको छ । निकट प्रतिद्वन्द्वी एमालेका शारदाकुमारी साउदले २ हजार ४ सय ४४ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का उमेदवार हरिश कुवँरले २ सय ५६ मत मात्रै प्राप्त गर्नुभयो ।

पूर्वीचौकी गाउँपालिकामा जम्मा ८ हजार २ सय ५६ मत खसेको थियो । गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भए पनि माओबादी र समाजवादी २ सय ५६ मत भन्दा माथि उक्लिन सकेन ।

२०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी हुनुभएको थियो ।

सायलमा एमालेको सत्ता पल्टाउँदै काँग्रेस उमेदवार विजयी

सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित हुनुभएको हो ।

जोशी र डुम्रेल दुबैजना २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रतिस्पर्धी हुन् । उतिबेला डुम्रेल निर्वाचित भएका थिए ।

यसपटक अध्यक्षमा जोशीले ३ हजार २४३ मत प्राप्त गरि जीत हासिल गर्दा डुम्रेलले २ हजार २४० मत प्राप्त गर्नुभयो । नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डबलबहादुर साउँदले ५ सय ३२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि कांगे्रसकै निर्मला बोहरा ओली निर्वाचित हुनुभएको छ । उहाँले २ हजार ९३७ मत प्राप्त गर्दा एमालेकी विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गर्नुभयो । सिंह निवर्तमान उपाध्यक्ष पनि हुन् । यस्तै माओवादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा एसका टीका सिंहले ६ सय २६ मत प्राप्त गर्नुभयो ।

६ वटा वडा रहेको यो पालिकामा ५ वटामा काँग्रेस जित्दा एकमा मात्रै एमाले जित्यो । अघिल्लो निर्वाचनमा एकमात्रै काँग्रेसले जितेको थियो भने, पाँचमा एमालेले जितेको थियो ।

जोरायल गाउँपालिकामा पुरानै अनुहार

जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरीएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित हुनुभएको हो ।

नेकपा एमालेका उम्मेदवार ओझा ३७ मतको अन्तरले मात्रै विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै उमेदवार बोहरा पनि थोरै मतान्तरले विजयी हुनुभएको छ ।

ओझा ३ हजार ४ सय ४९ मतसहित विजयी हुनुभएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवार दीपकबहादुर विष्टले ३ हजार ४ सय १२ मत प्राप्त गर्नुभयो । नेकपा एकीकृत समाजवादीका तर्फबाट अध्यक्षका उमेदवार किरण मल्लले एक हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उमेदवार रघुनाथ वस्तीले २७ मत मात्रै प्राप्त गर्नुभयो ।

२०६४ को निर्वाचनमा पनि ओझा काँग्रेस उमेदवार विष्टसँगै निर्वाचन लडेका थिए ।

उपाध्यक्षमा बोहरा ३ हजार ५ सय ९९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी चन्द्रा साउँद बोहराले ३ हजार ५ सय १७ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उमेदवार प्रेमाकुमारी ओलीले एक हजार ३ सय १७ मत प्राप्त गर्नुभएको छ ।

६ वटा वडा रहेको जोरायल गाउँपालिकामा दुई वडा काँग्रेसले जिेतेको छ भने अन्य ४ वडामा एमाले विजयी भएको छ ।

आदर्शमा एमालेको सत्ता पल्टाउँदै काँग्रेस उमेदवार विजयी

आदर्श गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा काँग्रेस विजयी भएको हो ।

गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उमेदवार गणेशबहादुर खड्का विजयी हुनुभएको छ । खड्का ३ हजार ७ सय ७३ मतसहित विजयी हुनुभएको हो । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार डम्बर ओलीले ३ हजार ३ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) उमेदवार योगेन्द्रबहादुर खड्काले ९ सय ७ मत मात्रै प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार तारा प्रसाद ओझा १ सय ३६ मतमा सीमित रहनु भयो ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका उमेदवार लक्ष्मी धामी (रोकाया) ३ हजार ६ सय ७४ मत सहित विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्दी एमाले उमेदवार जानकी खड्काले ३ हजार ३ सय ८९ मत प्राप्त गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का उमेदवार रमेश विष्टले ३ सय ३३ मत मात्रै प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार कविता साउदले एक सय ७२ मत प्राप्त गर्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वटा वडा रहेको आदर्श गाउँपालिकामा ४ वडामा काँग्रेस र ३ वडामा एमाले विजयी भएको छ ।

बोगटान फुड्सिलको अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी

बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा ( माओवादी केन्द्र )  र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उमेदवार कमलबहादुर गड्सिला विजयी हुनुभएको हो भने उपाध्यक्षमा नेपाली काँग्रेसका उमेदवार विष्नादेवी बम विजयी हुनुभएको छ ।

अध्यक्ष गड्सिला ३४ मतको अन्तरले विजयी हुनुभएको हो भने उपाध्यक्ष बम ७२ मतको मतान्तरले विजयी हुनुभएको हो ।

गड्सिलाले २ हजार ५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार हस्तबहादुर बुढाले २ हजार २४ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार डीलबहादुर बमले एक हजार ९ सय ३४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा काँग्रेस उमेदवार विष्नादेवी बम  २ हजार ६३ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार ज्ञानु मल्ल बमले एक हजार ९ सय ९१ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा  ( माओवादी केन्द्र ) का उमेदवार कलावती कुमारी चिमालले एक हजार ८ सय ७१ मत प्राप्त गर्नुभयो ।

बोगटान फुड्सील गाउँपालिकाका ७ वटा वडाहरु मध्य २ वटा वडामा नेकपा (एमाले), दुई वटा वडामा नेकपा (माओवादी केन्द्र) र बाँकी ३ वटा वडाहरुमा काँग्रेस विजयी भएको छ ।

बोगटानमा नेकपा (माओवादी केन्द्र)लाई नेकपा (एकीकृत समाजवादी)को पनि साथ रहेको थियो । २०७४ को निर्वाचनमा गाउँपालिकाका अध्यक्षसहित माओवादीले ३ वटा वडा, एमालेले उपाध्यक्षसहित ३ वडा र काँग्रेसले १ वडा मात्रै जितेको थियो ।

बडीकेदारमा काँग्रेस विजयी, समाजवादी माओवादी गठबन्धन तेस्रो स्थानमा

बडीकेदार गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा काँग्रेसका उमेदवार विजयी हुनुभएको हो ।

नेपाली काँग्रेसका उमेदवार भैरब बहादुर साउद २ हजार ३ सय ४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार चक्र बहादुर घर्तिले १ हजार ६ सय ८४ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेकपा समाजवादीका उमेदवार भक्तबहादुर साउद १ हजार ४ सय ७१ मतमा सीमित रहनुभयो ।

गाउँपालिका उपाध्यक्षमा पनि नेपाली काँग्रेसका उमेदवार विजय हुनुभएको छ । काँग्रेस उमेदवार दम्मरीकुमारी विष्ट २ हजार ४ सय ७ मत ल्याएर विजयी हुनु एको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी एमाले उमेदवार सपना सिडारीले २ हजार २ सय ७६ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका उमेदवार देवीसरा देवी घर्तीमगरले ८ सय ३२ मत मात्रै प्राप्त गर्नु भयो ।

गाउँपालिकाका ५ वटा वडाहरु मध्य काँग्रेस २, एमाले २ र माओवादी १ वडामा विजय भएको छ ।

बडीकेदार गाउँपालिकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विशेष चासो राखेका थिए । काँग्रेससँग तालमेल नमिलेपछि सो पालिकामा नेकपा (समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको थियो ।

काँग्रेसले २५ वर्षपछि फर्कायो दिपायल सिलगढीमा गुमेको विरासत

दिपायल सिलगढी नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली काँग्रेस मेयर÷उपमेयरसहित भारी मतले विजयी भएको हो ।

नगर प्रमुखमा नेपाली कांँरेसका उमेदवार बाजीसिंह खड्का (विजय) ५ हजार १३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेदवार खगेन्द्रबहादुर साउद (केबी)ले १ हजार ९८३ मत मात्रै प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका उमेदवार रोशन भण्डारीले ५६ मत प्राप्त गर्नुभएको छ भने जनता समाजवादीका उमेदवार कलादेवी श्रेष्ठले १४ मत प्राप्त गर्नु भयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका उमेदवार नरेश आलेले ५ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार असोक बिक (लुहार)ले ४ मत प्राप्त गर्नुभयो ।

नगर उप–प्रमुखमा नेपाली कांग्रेसकै उमेदवार कलावती महर (साउँद) ४ हजार ७६८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार रुपा कठायतले ४ हजार १२९ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार ऐश्वर्या भण्डारी (विष्ट)ले ५७८ मत मात्रै प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार शान्तिकुमारी बोगटी (खड्का)ले १८७ मत मात्रै प्राप्त गर्नुभयो ।

दिपायल सिलगढी नगरपालिकामा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काँग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ मा भएको निर्वाचनमा एमालेले कब्जा जमायो । जसमा एमालेका पूर्णराज जोशी जितेका थिए ।

निर्वाचित मेयरका उमेदवार खड्का २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उमेदवार मञ्जु मलासीसँग पराजित हुनुभएको थियो । ०७४ मा काँग्रेसले ४ वटा वडा मात्रै जितेको थियो भने एमाले ५ वडा सहित मेयर÷उपमेयरमा विजयी भएको थियो ।

यसपटक एमालेको विरासत तोड्दै काँग्रेस पाँच वटा वडामा विजयी भएको छ । स्वतन्त्र जितेका एक जना वडाध्यक्ष यसअघि काँग्रेसबाट विजयी भएका थिए । एमाले नगरका दुई वटा वडा र माओवादी एक वडामा विजयी भएको छ ।

केआईसिंहमा पुरानै अनुहारले पाए लोकप्रिय मत

केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित चार वडामा काँग्रेसका उमेदवार विजयी हुनुभएको हो ।

गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४ हजार २६२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २ हजार ६६१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उमेदवार मिना देवी विष्ट ४ हजार ७२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार  निर्मला अवस्थीले २ हजार ५३६ मत प्राप्त गर्नुभएको छ ।

केआईसिंह गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनमा चुनाव लडेका थिए । केआईसिंह नेकपा माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एकीकृत समाजवादीका नेत्री सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीको गृह पालिका हो ।

अध्यक्षमा निर्वाचित शाही र उपाध्यक्षमा निर्वाचित विष्ट २०७४ को निर्वाचनमा पनि ७ वटा वडासहित भारी मतले विजयी हुनुभएको थियो ।

केआईसिंह गाउँपालिकाका सात वटा वडामध्ये चार वडामा नेपाली काँग्रेस, एक वडामा राप्रपा र एक÷एक वडामा समाजवादी र माओवादीका उमेदवार विजयी हुनुभएको छ ।

शिखर नगरपालिकामा काँग्रेस विजयी

शिखर नगरपालिकामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ । काँग्रेसले मेयर, उपमेयर सहित ७ वटा वडामा जीत हासिल गरेको हो ।

नगर प्रमुखमा नेपाली काँग्रेसका उमेदवार दीर्घ बलायर ६ हजार ५६२ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार भीम बलायरले ४ हजार ५ ९१  मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उमेदवार सागर भट्टले ३०२ मत प्राप्त गर्नुभयो भने राप्रपाका उमेदवार गिरी रोकाया ४२ मतमा सीमित रहनुभयो ।

नगर उप प्रमुखमा नेपाली काँग्रेसका उमेदवार सुनीता रावल (जोरा) ६ हजार ४२६ मत ल्याउँदै विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी एमाले उमेदवार लक्ष्मीदेवी मल्लले ४ हजार ६४५ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेदवार रमेशप्रसाद जोशीले ३६६ मत मात्रै प्राप्त गर्नुभयो ।

नगरका ११ वटा वडामध्ये ७ वडामा काँग्रेस र ४ वडामा एमाले उमेदवार विजयी हुनुभएको छ ।