अविनाश चौधरीधनगढी, वैशाख १ गते । जिल्ला प्रहरी कार्यालय कैलालीमा चालू आर्थिक वर्षको नौ महिनामा एक हजार ९२ मुद्दा दर्ता भएको छ । नौ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी कार्यालयले आर्थिक वर्षको तुलनामा बढी मुद्दा दर्ता भएको जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको यहीँ अवधिमा एक हजार २४ वटा मुद्दा दर्ता भएको थियो । कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता वेदप्रकाश जोशीले चालू आर्थिक वर्षको नौ महिनामा गत आर्थिक वर्षको तुलनामा ६.६३ प्रतिशत बढी मुद्दा दर्ता भएको जानकारी दिनुभयो । प्रवक्ता जोशीका अनुसार नौ महिनाको अवधिमा लागूऔषध शीर्षकमा १११ मुद्दा दर्ता भएका थिए । उहाँले उक्त दर्ता भएका मुद्दामा नौ महिला र १६१ पुरुष गरी १७९ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गत आर्थिक वर्षको नौ महिनामा लागूऔषध शीर्षकमा ७६ वटा मुद्दा दर्ता भएका थिए भने चार महिला र ९७ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रवक्ता जोशीले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ४६.५ प्रतिशतले लागूऔषध अपराध वृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘लागूऔषध कारोबारमा १५ देखि २५ वर्ष उमेर समूहका व्यक्तिको बढी संलग्नता देखिएको छ ।’’ प्रहरीले चालु आर्थिक वर्षको नौ महिनामा खैरो हेरोइन २४८ ग्राम ७८१ मिलिग्राम, ट्याब्लेट नाइट्राभेट ७८३, क्याप्सुल स्पास्पो ७४१ बरामद गरेको छ । यसैगरी ४१ किलो ५७ ग्राम चरेश, ८० क्याप्सुल नाइट्राजपाम, २३ थान प्रोयवेल स्पाम र आठ थाम ट्रामोडोल प्रहरीले बरामद गरेको छ । त्यस्तै, अदालतबाट फैसला भइ फरार रहेका ६६ जना र अनुसन्धानका क्रममा फरार भएका २५ जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । गत आर्थिक वर्षमा यहि अवधिमा अदालतबाट फैसला भइ फरार भएका ४८ र अनुसन्धानका क्रममा फरार भएका २२ गरी ७० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो । फरार प्रतिवादी पक्राउ यस वर्ष ३० प्रतिशतले वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनसार चालू आर्थिक वर्षको चैतसम्म कर्तव्य ज्यान सम्बन्धी १४ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा कर्तव्य ज्यानका १२ वटा मुद्दा दर्ता भएको थियो । नौ महिनामा प्रहरीले ७२ जना महिलासहित एक हजार ९१ पुरुष गरेर एक हजार १६३ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रवक्ता जोशीले नौ महिनाको अवधिमा भन्सार छली, चोरी, निकासी तथा पैठारीका सामान पक्राउ गरेर एक करोड २० लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । साथै, १२ जना मान्छेसहित १० वटा सवारी साधन पनि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । अपराध न्यूनीकरणसम्बन्धी सचेतना फैलाउनका लागि समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत ‘हाम्रा प्रहरीसँग हामी’, र ‘हाम्रा सन्ततिको भविष्य बचाउ’ अभियान प्रहरीले चालन गर्दै आएको छ । त्यस्तै, उहाँले विद्यालयसहित विभिन्न स्थानमा ४४० वटा जनचेतनाका कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख १ गते। सगरमाथाको आरोहण गर्ने क्रममा बिहीबार बिहान एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको कम्पनीले जानकारी दिएको छ। माप्य दुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेपछि तत्कालै मृत्यु भएको गाइड कुङगा शेर्पाले जानकारी दिनुभयो। मृतकको शव पोष्टमार्टेमका लागि हेलिकप्टरबाट लुक्ला ल्याएको उहाँले जानकारी दिनुभयो। इन्टरनेस्नल माउन्टेन गाइड (आइएमजी) कम्पनीबाट आरोहणका लागि गएका गाइड शेर्पाको लेख लगेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप विभिन्न मानपदवी एवम् विभूषण प्रदान गर्नुभएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा विभूषण एव्म मानपदवी प्रदान गर्ने क्रम जारी छ । यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानव पदवी वितरण गरिने कार्यक्रम छ ।सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरिएका थिए । समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ । तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको छ ।सुप्रसिद्ध प्रबल जनसेवाश्री राजनीतिज्ञ प्रदीप नेपाल, मरणोपरान्त पोष्टबहादुर बोगटी र मार्शलजुलुम शाक्यलाई र उज्ज्वल कीर्तिमय राष्ट्रदीप विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । प्रसिद्ध प्रबल जनसेवाश्री ३९, सुकीर्तिमय राष्ट्रदीप २८, सुप्रबल जनसेवाश्री १५८, कीर्तिमय राष्ट्रदीप ७, प्रबल जनसेवाश्री ३१३ र जनसेवाश्री १८५ जनालाई प्रदान गरिँदैछ ।त्यस्तै, गृह मन्त्रालयको विभूषण शाखा प्रमुख रमा आचार्यका अनुसार, विभिन्न आठवटा अलङ्कार १०७ जना र छवटा पदक ३७ जना सुरक्षाकर्मीलाई प्रदान गरिएको छ । सो अलङ्कार र पदकहरू गृह मन्त्रालयबाट नै वितरण गर्ने कार्यक्रम रहेको छ ।
गोकर्ण पौडेलतुलसिपुर, वैशाख १ गते । लाखौ रुपियाँ पर्ने ट्रकसँग बंगुर फर्म साट्दा अचम्मजस्तो लाग्छ मस्तबहादुरलाई । तुलसीपुर उपमहानगरपालिका १९ का घर्तीमगरले ट्रकसँग बंगुर फर्म साटेर सन्तुष्ट हुनुभएको छ । पछिल्लो समय दिनहुँ बढिरहने पेट्रोलियम पदार्थको मूल््यबृद्धि मासिकरुपमा बैंकमा बुझाउनु पर्ने किस्ता र ब्याजले हैरानी बेहोरिरहेका मस्तबहादुरले चलाइरहेको ट्रकसँग बंगुर फर्म साटेपछि भने अहिले राम्रो कमाई गर्नुभएको छ । मेहनतअनुसारको कमाई हुँदा उहाँ सन्तुष्ट रहेको बताउनुहुन्छ । तुलसिपुर उपमहानगरपालिका १९ पीपलडाँडामा रहेको उहाँको न्यू लालीगुँरास बंगुर फर्ममा अहिले माउ, सुंगुरको भाले र पाठापाठी गरी ८० भन्दा बढी बंगुर रहेका छन् ।मस्तबहादुरले भन्नुभयो, “आफूसँग ट्रक चलाउने सीप थिएन, सवारीसाधन भएर के गर्ने ? जे सीप, क्षमता छ त्यही गरौं भनेर ट्रकसँग बंगुर फर्म साटेको हुँ ।” ट्रकसँग साट्दा उहाँसँग त्योबेला फर्ममा १४ माउ, विर, पाठापाठी थिए । अहिले ६५ वटाभन्दा बढी पाठापाठी छन् । पाँच वर्ष पहिले डेढ लाख रुपियाँको लगानीबाट शुरु गरिएको फर्ममा अहिले सातलाख बढी लगानी भएको उहाँले बताउनुभयो । मलेसिया चार वर्ष र साउदीमा तीन वर्ष रोजगारीको सिलसिलामा समय बिताउनुभएका मस्तलाई अहिले यहीको काम र श्रमको मूल्य प्यारो लाग्न थालेको छ । उहाँले भन्नुभयो, “त्यहाँ अर्काको देश बिरामी पर्दा पनि काम गर्नैपथ्र्यो, मासिक ७० हजार रुपियाँभन्दा यहाँको पचास हजार रुपियाँको आम्दानी मलाई लाख रुपियाँ कमाएजस्तै भएको छ ।” यो व्यवसायमा घरपरिवार सबैको सहयोग मिलेको उहाँले बताउनुभयो । सबै मिलेर जहान परिवारसँग काम गर्न पाइएकाले खुशी र सन्तुष्ट छुँ घर्तीमगरले भन्नुभयो । अहिले आफ्नै गाउँघरमा व्यवसाय गरेर सबै कटाएर वार्षिक ६ लाखसम्म आम्दानी भइरहेको घर्तीमगरले बताउनुभयो । एउटा पोथीले वर्षमा १६ वटासम्म बच्चा जन्माउनेगरेको र एक पाठापाठीको मूल्य ४५ सयदेखि पाँच हजार रुपियाँमा बिक्री गर्दैआएको उहाँले बताउनुभयो । मासुभन्दा पाठापाठी बेचेरै बढी आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । घरमै दाना पिसाउनका लागि मिल राखेको उहाँले बताउनुभयो । “बजारबाट किन्दा महङ्गो पर्ने भएकाले घरमै व्यवस्थापन गरेको छुँ” उहाँले भन्नुभयो । राज्यबाट खोर सुधारका लागि सहयोग हुँदैआएको उहाँको भनाई छ । खोर सुधार कार्यक्रमअन्तर्गत गत वर्ष भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र घोराहीले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । ट्रकसँग बंगुर फर्म साट्दा शुरुमा केही मानिसले गिज्याउने गरेको भएपनि आफूले राम्रो गरेको अहिले आभास भएको घर्ती मगरले बताउनुभयो ।
काठमाडौं, वैशाख १ गते । धरहरा को काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणकाे काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणकाे रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन । तर, त्यही धरहरा पुनर्निर्माण पुनर्निर्माण रमन कन्ट्रन्सले अब डेढ वर्षको म्याद थपिदिए को सम्पूर्ण काम सकिने जनाएको छ । कन्ट्रक्सनका आयोजना प्रबन्धक नकर्मीका अनुसार आगामी डेढ वर्षका लागि म्याद थप गर्न सहरी विकास मन्त्रालयलाई पत्र पठाइएको छ । यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई ( आवास तथा भवन) का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले म्याद थपको विषयमा कुराकानी भइरहेको बताउनुभयो । ‘रमन कन्ट्रक्सनले म्याद थपको लागि लामो समम माग गरेको छ । तर, त्यति लामो समय म्याद थप गर्न सकिने अवस्था छैन । दशैँसम्म काम सक्न आग्रह गरेका छौँ,’ अधिकारीले भन्नुभयो । पुनर्निर्माणदशैँसम्म म्याद थप्ने कि भन्ने छ तर निर्णय भएको छैन ।’ धरहराको उत्तर–पश्चिमतर्फ म्युजियम राख्ने योजनानुसार हाल निर्माण कार्य चलिरहेको छ । भएको धरहराअघि केही संरचना सम्पन्न गर्न बाँकी नै रहेको प्रबन्धक नकर्मीले बताउनुभयो । त्यस्तै, टुँडिखेलदेखि खिचापोखरी हुँदै जाने सडक, ल्यान्डस्केपिङ्, बगैँचा ,पार्किङलगायत पूर्वाधार निर्माण गर्न बाँकी नै रहेको नकर्मीको भनाइ छ । साथै, स्थानीयले कुल देवताको पुजा गर्ने ठाउँ र सुन्धारामा पानीको व्यवस्थापनको काम पनि बाँकी रहेको छ । ‘पुरानो धरहरा खुल्ला राख्ने वा अन्य विकल्प प्रयोग गर्ने भन्ने निष्कर्ष निस्किएको छैन यसकारण पनि काममा ढिलाई भएको छ,’ नकर्मी भन्नुहुन्छ ‘सुन्धारामा पानी कहाँबाट ल्याउने र निष्कासन कसरी गर्ने भन्ने पनि टुङ्गो लागेको छैन ।’
सिराज खान नेपालगञ्ज, बैशाख १ गते । बाँके जिल्लामा स्थानीय तहको निर्वाचनका लागि सत्ता साझेदार दलहरुलाई गठबन्धन गर्न समस्या भएको छ । साझेदार दलहरुले नै विभिन्न पालिका नछोड्ने घोषणा गरेका कारण गठबन्धन गर्न सकस भएको दलका अगुवाहरुले बताएका छन् ।जनता समाजवादी पार्टी बाँकेले जिल्लाका चारवटा पालिकामा कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको, काँग्रेसले कोहलपुर र नेपालगञ्जमा दावी नछोडेको र माओवादीले पनि नेपालगञ्ज र कोहलपुर मागेकाले गठबन्धनमा समस्या आएको हो ।जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगञ्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनैपनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । काँग्रेस र माओवादीले पनि तीनै पालिकामा आफ्नो दावी गरेका छन् ।जसपाले चारवटा पालिकामा दावी नछाडेपछि काँग्रेसले पनि गत निर्वाचनमा जितेको राप्तीसोनारी, डुडुवा र दोस्रो भएको कोहलपुर र नेपालगञ्जमा कुनै पनि हालतमा दावी नछाड्ने काँगे्रस बाँकेका सचिव सुधान्सु कोइरालाले बताउनुभयो ।जसपाको निर्णयका कारण बाँकेमा आसन्न निर्वाचनका लागि गठबन्धन बन्ने नबन्ने विषयमा अन्यौल उत्पन्न भएको कोइरालाको भनाई छ । माओवादी केन्द्रले पनि नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा आफ्नो दावी नछोड्ने अडान लिएको माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले बताउनुभयो ।जसपा, काँग्रेस र माओवादीको अडान कायमै रहेमा नेकपा एकीकृत समाजवादीका लागि कुनै पनि पालिका बाँकी नरहने गुनासो सो दलका नेता अशोक कोइरालाको छ । तर सत्ता साझेदार दलहरुवीच सहमति बन्ने र गठबन्धन बनाएर निर्वाचनमा जाने अवस्था आउनेमा आफु आशावादी रहेको माओवादी केन्द्रका संयोजक तुफानले बताउनुभयो ।
काठमाडौँ, बैशाख १ गते । इङ्लिस महारथि म्यानचेस्र सिटी र लिभरपुृल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो । अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा पुगेको हो । सिटीले पहिलो लेग १–० गोलले जितेको सिटी बराबरीसँगै समग्रमा १–० गोलले विजयी भयो । यसैगरी पहिलो लेगमा ३–१ गोलले जितेको लिभरपुल समग्रमा ६–४ गोलले विजयी भयो । एट्लेटिकोको मैदानमा सिटीले बल पोसेसन अब्बल राखेपनि गो्ल फर्काउन सकेन । खेलको अन्तिममा १० खेलाडीमा समेटिएको एट्लेटिकोको गोल फर्काउने प्रयास पनि सफल भएन । यसैगरी गोलको बर्षा भएको खेलमा घरेलु टोली लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गर्नुभयो । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गर्नुभयो । पष्हिलो लेगको फराकिलो हार नै बेन्फिकाका लागि महंगो बन्यो । यससँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलमा लिभरपुलले र स्पेनिक क्लब भिल्लारियल तथा म्यानचेस्टर सिटी र अर्को स्पेनिस क्लब रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलको पहिलो लेग अप्रिल २६ र दोस्रो लेग मे ३ तारिख हुनेछ । फाइनल खेल भने मे २८ तारिख खेलिनेछ । एजेन्सी
काठमाडौं, वैसाख १ गते । बेच्लर अफ माउन्टेनेरिङ स्टडिजमा अध्ययनरत आठौं सेमेस्टारका विद्यार्थीहरुले हिमलुङ हिमाल (७१२६ मिटर) को आरोहण गर्ने भएको छ । १५ जना विद्यार्थीहरुले पर्यटन विभागबाट अनुमति लिएर आधारशिविरतर्फ लागेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) ले हिमालको अध्ययन र अनुसन्धान गर्ने गरी चार वर्ष अघिदेखि पठनपाठन शुरु गरेको छ । एकेडेमीले स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीका लागि सात हजार मिटरमाथिको हिमाल अनिवार्य आरोहण गर्नुपर्ने पाठ्यक्रममै समावेश गरेपछिको यो पहिलो आरोहण हो । आरोही विद्यार्थीको टोलीलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड गेल्जे शेर्पाले आरोहणमा नेतृत्व गर्ने एकेडेमीका प्रशासकीय प्रमुख उत्तम भट्टाराईले जानकारी दिनुभयो । टोलीमा एकेडेमीका सुपरभाइजर डा. वेहरोउज मोघाडेसीको समेत सहभागिता रहेको छ । एकेडेमीले स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीका लागि सात हजार मिटरमाथिको हिमाल अनिवार्य आरोहण गर्नुपर्ने पाठ्यक्रममै समावेश गरेकाे छ । एकेडेमीबाट यो पहिलो आरोहण रहेको र प्रत्येक वर्ष नियमित आरोहण गर्नुपर्ने भट्टाराईले जानकारी दिनुभयो । विश्वमै पहिलो पटक हिमाल अध्ययनसँग सम्बन्धित रहेर एकेडेमीले त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर चार वर्ष अघिदेखि बेच्लर अफ माउन्टेन स्टडिस र स्नातोकोत्तर तह विषयको अध्ययन शुरु गराएको हो । नेपालमा पर्वतारोहण सम्बन्धी प्रशिक्षण र अध्ययन गराउने संस्था यही मात्र हाे ।
लक्ष्मण पौडेलभैरहवा, वैशाख १ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार हुने भनिएको परीक्षण उडान स्थगित भएको छ । निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको पहिलो दिन परीक्षण उडान हुने बताइएको थियो । तर बिहीबारको उडान स्थगित गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गते परीक्षण उडान गर्ने पर्यटनमन्त्री प्रेम आलेले केही समय अगाडि विमानस्थल निरीक्षणका क्रममा भन्नुभएको थियो । यसअघि फागुनको दोस्रो साता एरोथाईले क्यालिब्रेसन फ्लाइट गरेको समयमा आउनुभएका मन्त्री आलेले यस्तो निर्देशन दिनुभएको थियो ।मन्त्री आलेले जेठ २ गते बुद्ध पूर्णिमामा जसरी पनि व्यवसायिक रुपमा उडान सुरु गर्ने र त्यो भन्दा अगाडि सके अझै राम्रो हुने बताउनुभएको थियो । तर उहाँले प्रस्ताव गरेको समयमा परीक्षण उडान भएन । मन्त्री आलेसँगै विमानस्थल आयोजनाले पनि वैशाख १ गते अन्तर्राष्ट्रिय विमानबाट परीक्षण उडान गर्ने बताउँदै आएको थियो । तर उक्त उडान स्थगित गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।यता, नेपाल नागरिक उड्ययन प्राधिकरणले भने वैशाख १ गतेको परीक्षण उडानबारे जानकारी नभएको जनाएको छ । बिहीबार गर्ने भनिएको उडानका विषयमै नागरिक उड्यडन प्राधिकरण, विमानस्थल कार्यालय र वायुसेवा निगमका बीचमा समन्वय हुन नसक्दा परीक्षण उडान पछाडि धकेलिएको हो ।प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने भन्ने यसअघि जानकारीमा आएको भए पनि अहिले किन स्थगित गरियो ? भन्ने प्राधिकरणलाई जानकारी नभएको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाईट) गरिएको थियो ।यो विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीहरुलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यवसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरुले चासो देखाएका छन् ।
भवानी ऐरगोदावरी (कैलाली), बैशाख १ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ वर्ष एवं सुदूरपश्चिमेलीको महत्वपूर्ण पर्व बिशु २०७९ को सुखद् अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।मुख्यमन्त्री भट्टले आज विहीवार जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्षले सबैका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित सुदूरपश्चिम प्रदेशको समृद्धि र विकासका लागि प्रेरणा मिलोस भन्ने शुभेच्छा ब्यक्त गर्नुभएको छ ।शुभकामना सन्देशमा भनिएको छ– ‘नयाँ वर्ष एवं बिशु पर्वले हामी सबैमा खुशी साटासाट गर्दै आगामी वर्ष हर्साेउल्लासका साथ सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको कामनासहित सामाजिक न्याय सद्भाव सुमधुर सम्बन्ध बढाउन सकोस भन्ने कामना गर्दछु ।’आवधिकरुपमा जनमतका अधारमा राज्य ब्यवस्था सञ्चालन हुनेभएकाले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्नुकासाथै यस वर्ष हुने सबै तहका निर्वाचनको सफलताको कामनासमेत गर्नुभएको छ ।
कन्हैयालाल केशरी पर्सा, वैशाख १ गते । पर्सा जिल्लामा नेपाली काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता गठबन्धन दलसँग गठबन्धन आवश्यक नभएको नेपाली काग्रेँस जिल्ला कार्य समितिका प्रवक्ता रमेश पाण्डेले बताउनुभएको छ । प्रवक्ता पाण्डेले पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरुले जिल्ला कार्यसमितिमा बुझाएको प्रतिवेदनको आधारमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका र १४ वटा पालिकाहरुमा नेपाली काग्रेँस एक्लै चुनाव लड्न सक्षम रहेको र काग्रेँसप्रति सर्वसाधारणहरुको आकर्षण र भरोसा बढ्दै गई काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता साझेदार दलसँग गठबन्धन गर्नुको कुनै ओचित्य नभएको बताउनुभयो । उहाँका अनुसार २०७४ सालको निर्वाचनमा मधेसी दलहरुका पक्षमा जनलहर चलेको समयमा पनि कतिपय पालिकामा काग्रेँस पहिलो र दोस्रो स्थानमा रहेको अनुभवबाट पनि पर्सामा गठबन्धनको आवश्यकता देखिएन । जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्रीले पाचँ वर्षसम्म कार्यकर्ताहरुले नेपाली काग्रेँस प्रति समर्पित भएर काम गरेको फल पाउने समय स्थानीय तहको निर्वाचनमा भागबण्डाको आधारमा निर्वाचनबाट वञ्चित गर्दा घातप्रतिघात हुने बढी सम्भावना प्रबल रहेको बताउनुभयो । उहाँले केही दिन भित्रै हुने सङ्घीय र प्रादेशिक निर्वाचनमा समेत यसको प्रत्यक्ष असर पर्ने भएकाले यसमा सचेत भई कुनै पनि निर्णय गर्न केन्द्रीय तहका नेताहरुले गर्दा जिल्लास्तरीय नेता र सर्वसाधारण कार्यकर्ताहरुको भावना विपरीत केन्द्रले आफ्नो निर्णय जिल्लामाथि थुपार्न खोजे पार्टी ठूलो दुर्घटनामा जानसक्ने भएकाले समयमै विचार गर्न सबै तहका नेता र कार्यकर्ताहरुसँग आग्रह पनि गर्नुभयो ।
तिलाचन पाण्डेतम्घास, वैशाख १ गते । वैशाख १ गते तीन जिल्लाको संगमस्थल सेतिबेनी र रिडीमा कालीगण्डकी नदीमा स्नान गर्ने, शिला शालिग्रामको दर्शन गर्नेको भीड लागेको छ । कालीगण्डकी नदीमा गई स्नान गर्नाले अन्जानमा गरेको पापहरु नष्ट हुने भएकाले पनि कालीगण्डकी नदिमा स्नान गर्नेको भीड लाग्ने गरेको पर्वतको पैँयु गाउँपालिका वडा नम्वर एकका ६५ वर्षीय बृहस्पति बस्यालले बताउनुभयो । यस्तै, एशियाकै ठूलो शिला शालीग्राम पर्वत ,गुल्मी र स्याङजाको संगम स्थल सेतिबेनीमा रहेकाले पनि शिला शालीग्रामको दर्शन गर्नेहरुको बाक्लो उपस्थिती रहने गरेको उहाँको भनाई छ ।अहिलेका नयाँ पुस्ताहरुले धर्मकर्म र संस्कृति संरक्षणमा ध्यान दिन छाडेको कालीगण्डकी गाउँपालिका वडा नं एक हर्मिचौरका ७८ वर्षीय खीमलाल पाण्डेले बताउनुभयो । उहाँले परम्परादेखि चल्दै आएका संस्कृति र परम्पराहरुलाई ध्यान दिन युवा पुस्तालाई आग्रह पनि गर्नुभयो ।सेतिबेनीमा भजन कृतन सँगै बिशेष मेला पनि लागेको छ । यहाँ स्थानीय उत्पादनहरुलाई विक्री वितरणका लागि राख्ने गरिएको छ । स्थानीय उत्पादनहरु डोको, नाङलो डाला, कुुचो लगायतका सामग्रीहरु विक्री वितरणका लागि राखिएको छ । गुल्मी,पाल्पा र स्याङजाको संगम स्थल नेपालकै चार धाम मध्येको एक धाम रुरु क्षेत्रमा प्राचिन समयमा देबदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ ।सोहि धार्मिक मान्यतानुसार यस पवित्रधाम रिडीमा स्नान तथा पुजा आजा गर्नाले पितृ ऋण, देव ऋण तथा रिषी ऋण पुरा हुने धार्मिक प्रचलन छ । यहि धार्मिक प्रचलन र मान्यता अनुरुप कालीगण्डकी नदिमा स्नान गर्ने र बिभिन्न समयमा हुने मेलाहरुमा स्नान गर्ने तथा पुजा आजा गर्ने भत्तजनको घुईचो लाग्ने गर्दछन । रुरु क्षेत्रको ऋषिकेश मन्दिरमा पनि दर्शन गर्नेहरुको भीड लागेको छ ।यस क्षेत्रमा नयाँ वर्ष, असारे एकादशी, कात्तिके एकादशी, माघे संक्रान्तिलगायतका पर्वहरुमा मेला लाग्ने र पूजाआजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।रिडी र सेतिबेनीमा नयाँ वर्षको अवसरमा विशेष मेला लागेकाले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पारिएको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।मेला पर्वको अवसरमा सवारी साधनहरुले ओभरलोड बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने गर्ने भएकाले पनि चेक जाँचलाई अन्य दिनभन्दा कडाई गरिएको उहाँको भनाइ छ ।
गोकर्ण दयाल बैतडी, वैशाख १ गते । बैतडीसहित सुदूरपश्चिममा विसु पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई विसु पर्वका रुपमा मनाउँदै सेल, पुरी, बटुक र माँणा खाएर सिस्नु लगाउने चलन रहेको छ । विसु पर्व मनाउन रोजगारीका स्वदेश तथा विदेश गएकाहरु घर फर्केर आफन्तजनसँग भेटघाट गर्दै मीठो मसिनो खाएर सिस्नु लगाउँदै विसु पर्व मनाउँने परम्परा रहेको स्थानीय बुद्धिजिवीको भनाई छ । बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायमा विसु पर्व मनाउने चलन छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा विसु पर्व मनाइने गरेको किवदन्ती रहेको छ । हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै विसु पर्व मनाउने गरिएको संस्कृतिविद चन्द्रमोहन तिवारीले बताउनुभयो । विसुका दिन बिहानै पवित्र कुवा तथा पँधेरामा गएर स्नान गरेर पूजाआजापछि मात्रै भोजनग्रहण गर्ने चलन रहेको तिवारीले बताउनुभयो । विसु पर्व मनाउन भारतबाट एक वर्षपछि घर फर्केको बझाङका रामसिंह बोहराले बताउनुभयो । विसुका दिन जसरी पनि घर फर्किनु पर्ने भएकाले आफूसँगै रोजगारीमा भारत गएकाहरु घर फर्केको बोहराले बताउनुभयो । विसु पर्व मनाउन भारतमा रोजगारीका लागि गएकाहरु दैनिक दुई सयभन्दा बढी सुदूरपश्चिमेली झुलाघाट नाकाबाट स्वदेश फर्किएको झुलाघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दानसिंह धामीले बताउनुभयो । चौकी ईन्चार्ज धामीले भन्नुभयो, “झुलाघाट नाकाबाट चैत महिनाभरी दुई हजार दुईसय १० जना नेपाली स्वदेश फर्किएका छन् । विसु पर्वकाबेला झुलाघाट नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । ”विसुका दिन देवर–भाउजु, नन्द र भिनाजुलाई सिस्नो लगाएर रमाईलो गर्ने परम्परा छ । सिस्नोले छालाका विभिन्न रोग निको पार्ने जनविश्वास रहेको छ । विसु पर्वकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन समेत रहेको छ ।
मनिला, वैशाख १ गते । फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ ।प्रकोपको नकारात्मक नतिजाहरूको सामना गर्ने मानिसहरूको सङ्ख्या भने नौ लाख २० हजारभन्दा बढी रहेको जनाइएको छ। एनडीआरआरएमसीका अनुसार विपद्का कारण एक लाख ६२ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् ।आँधी अगाटोनका कारण आइतबार देशको पूर्वी तटमा ६० किलोमिटर (३७ माइल) प्रति घण्टाको गतिमा हावा चलेको थियो। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ ।
सिर्जना खत्री काठमाडौं, वैशाख १ गते । आजबाट हामीले नयाँ वर्षलाई स्वागत गरेका छौँ। २०७९ सालको स्वागतका लागि नेपाली पर्वकै रुपमा हामी मनाउँदैछाैँ । नयाँ वर्षसँगै आउने नयाँ उमङ्ग र उल्लासको अवसरमा नयाँ योजनाका साथै नयाँ कामहरुको थालनी गर्ने दिनका रुपमा लिइन्छ । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ पछिल्लो समय नयाँ वर्षलार्ई धूमधाममा साथ मनाउने प्रचलन नेपालीहरुका बीचमा बढ्दै गएको छ । नयाँ वर्षलाई मित्रता एकता तथा सद्भावको पर्वका रुपमा पनि लिइन्छ । यो दिन आफन्तहरु भेला भएर विभिन्न मिठा परिकार पकाएर खाने गरिन्छ । त्यस्तैगरी, नयाँ वर्षमा परिवार–परिवार मिलेर घुम्न जाने, पिक्निक जाने प्रचलन बढ्दै गइरहेको छ । घरबाट बाहिर गएको बेलामा घरमा बनाएर खाना लैजानुभन्दा पनि बजारमा पाइने विभिन्न परिकारका खाद्यान्नको उपभोग बढी हुने गर्छ । बच्चाहरुलाई भुलाउन आइसक्रिम, केक, पाउरोटीजस्ता खानेकुरा दिइन्छ । बेकरी आइटमहरु केक, पाउरोटी, आइसक्रिमका साथै फास्टफुड र चिल्लोमा तारेर बनाइने मिठाइ, समोसा, पुरीलगायतका खानेकुरा खाने प्रचलन नेपाली समाजमा झन् बढ्दै गएको छ । यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या आई वर्षभर नै अस्पताल धाउनुपर्ने अवस्था आउन सक्ने चिकित्सक बताउँछन् । नेपालमा प्रयोग हुने हानिकारक तेलजन्य परिकारका कारण कम उमेरमा नै हृदयाघात, मतिष्कघात, उच्च रक्तचाप, मघुमेह, मोटोपन र अन्य धेरै रोगको समस्या देखिनुका साथै अकालमै मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । बजारमा उपलब्ध कतिपय तेलकै कारण अस्पतालमा मुटु र मिर्गौलाका समस्या लिएर आउने बढेको चिकित्सकको अनुभव छ । यसको प्रमुख कारण मानिसहरुले दैनिक उपभोग गरिने हानिकारक चिल्लोयुक्त खाना र यसको अधिक प्रयोगका साथै शारीरिक व्यायामको कमीले हो । चिल्लोयुक्त खानामा अत्यधिक मात्रामा ट्रान्सफ्याट हुनेहुँदा यस्ता खानेकुरा नखान सुझाव दिनुहुन्छ, वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. प्रेम राज वैद्य । प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातमा निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ । डा. वैद्यका अनुसार, यस्ता खानेकुराले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । “यस्ता खानाले स्वास्थ्यमा फाइदा गर्ने एचडिएल कोलेस्ट्रोल घटाउँछ र खराब गर्ने एलडिएच कोलेस्ट्रोल बढाउँछ,” उहाँले भन्नुभयो । कोलेस्ट्रोल जमेर धमनीमा अवरोध भएर हृदयाघात हुने वैद्य बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धमनीको अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक मतिस्क घात र हृदयाघात पनि हुन सक्छ ।” विश्व स्वास्थ्य सङ्गठनको र विश्वव्यापी मान्यता अनुसार ट्रान्सफ्याट हुँदै नभएको वा दुई प्रतिशत भन्दा कम भएको खानेकुरा हानिकारक हुँदैन ।ट्रान्सफ्याट मिसिएका खाना खाँदा मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पु¥याउने र यसले मानिसको मुत्युदर पनि बढाउन थालेको अनुसन्धानमा पनि पत्ता लागेको छ । त्यसैगरी, विश्वभर नै ट्रान्सफ्याट भएका खाद्यान्नलाई प्रतिबन्ध लगाउने अभियान शुरु गरिएको छ । नेपालमा प्रयोग हुने हानिकारक तेलजन्य परिकारका कारण कम उमेरमा नै हृदयाघात, मतिष्कघात, उच्च रक्तचाप, मघुमेह, मोटोपन र अन्य धेरै रोगको समस्या देखिनुका साथै अकालमै मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । नयाँ अध्ययन अनुसार, ट्रान्सफ्याटयुक्त खानाको प्रयोगका कारण विश्वमा पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विश्व बजारमा उपलब्ध गराइने खाद्यवस्तुलाई कारखानामा उत्पादन गरिएको ट्रान्सफ्याक्टमुक्त बनाई त्यसमा स्वस्थकर तेल उपलब्ध गराउन सकिएमा प्रतिवर्ष पाँच लाख मानिसको जीवन बचाउन सकिने तथ्य अध्ययनले देखाएको छ ।त्यसैले, सन् २०२३ सम्ममा औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशतमा झार्ने लक्ष्य विश्व स्वास्थ्य संगठनको छ । अहिले विश्वका ४० मुलुकले ट्रान्सफ्याट दुई प्रतिशतमा झारिसकेका छन् । ट्रान्सफ्याट भनेको के हो ?चिकित्सकका अनुसार ट्रान्सफ्याटलाई हानिकारक चिल्लोको रुपमा लिइन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भन्ने गरिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ । प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट धेरै मात्रामा हुने भएकाले ठिक्क मात्रामा प्रयोग गर्दा खासै हानि नगर्ने चिकित्सक वैद्य बताउनुहुन्छ । कृत्रिम ट्रान्सफ्याट भने वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पु¥याउँछ । उहाँका अनुसार यस्तो ट्रान्सफ्याट सामान्य कोठाको तापक्रममा पनि जम्ने गर्दछ । चिकित्सकका अनुसार वनस्पती घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातमा निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ । ट्रान्सफ्याटयुक्त तेल खानै नहुने चाँहि होइन । पूरा तेलको २ प्रतिशतभन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा उपयुक्त हुने वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. वैद्यको सुझाव छ । कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकाले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । यस्ता ट्रान्सफ्याटयुक्त घिउमा बनाइएका मिठाई, सेल माल्पुवा, ग्वारामरी, पुरी, स्वारी, हलुवालगायत अन्य तयारी जंक फुडहरु नखान चिकित्सकको सुझाव छ । कम उमेरमै हृदयाघात बढ्नुको कारण ४० वर्ष नाघेपछि हृदयाघातको खतरा प्राय सबैमा हुन्छ । तर नेपालमा ४० वर्षभन्दा कम उमेरका मानिसको हृदयाघातबाट मृत्यु हुनेको संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाउँछ । डा वैद्यका अनुसार, उमेरकै कारणले बढ्दै जाने यो खतरा रोक्न नसकिए पनि ट्रान्सफ्याक्टको कारण हुने हृदयाघातलाई रोक्न सकिन्छ । “खराब कोलेस्ट्रोल वृद्धि गर्ने र राम्रो कोलेस्ट्रोल घटाउने यो ट्रान्सफ्याक्टको कारण हुने हृदयाघातलाई रोक्न सकिन्छ । खराब कोलेस्ट्रोल वृद्धि गर्ने र राम्रो कोलेस्ट्रोल घटाउने यो ट्रान्सफ्याक्टलाई नियन्त्रणमा राख्नुपर्छ,” उहाँले भन्नुभयो ।मानिसलाई कोलेस्ट्रोल नभइ नहुने वस्तु हो । हामीलाई फाइदा गर्ने कोलेस्ट्रोल शरीरमा धेरै हुनुपर्छ र हानि गर्ने कोलेस्ट्रोल कम हुनुपर्छ । शरीरमा बन्ने सबै हार्मोनहरु कोलेस्ट्रोलकै कारण बन्ने हुन्छ । घामको किरण मानिसको छालामा परेपछि त्यही कोलेस्ट्रोलबाट भिटामिन डी बन्ने गर्छ । यदि हाम्रो शरीरमा खराब कोलेस्ट्रोल धेरै भयो भने धमनी भित्र जम्छ र यसैको कारणले कम उमेरकाहरुमा हृदयाघात, मतिष्कघात हुन जान्छ,” वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. बैद्यले भन्नुभयो । जंक फूडमा किन ट्रान्सफ्याक्ट बढी प्रयोग गरिन्छ ?बिस्कुट, कुकिज, केक, पफ, दुनोट, दालमोठ, चाउचाउ, आलुचिप्स, चिजबल, फेन्च फ्राई बर्गर, चाउमिन, माइक्रोेओभनमा बनाइएको पप कर्न, फ्रोजन पिज्जालगायत तारेका अन्य परिकारहरु, कफीमा राखिने तयारी क्रिम आदिमा पनि प्रशस्त मात्रामा ट्रान्सफ्याक्टयुक्त तेल राखिएको हुन्छ । किनभने यस्ता खानेकुराहरु लामोसम्म खान मिल्नेगरी बनाइएको हुन्छ । हाइड्रोजन मिश्रित ट्रान्सफ्याक्टयुक्त तेल नबिग्रिने भएकाले रेस्टुराँहरु, खाद्य पसल, पार्टी प्यालेस होटलहरुले हाइड्रोजन मिश्रित घिउ तेल राखेर परिकारहरु तयार गर्ने अध्ययनहरुले देखाएको छ । यस्ता खानेकुराहरु डाल्डा घिउमा पकाएको हुन्छ, जसमा ट्रान्सफ्याट धेरै हुन्छ । हाइड्रोजन बनाइएको वनस्पति तेल वा घिउ सस्तो हुनुका साथै परिकार पनि स्वादिष्ट हुनाले व्यापारीहरुले यसको प्रयोग गर्ने चिकित्सक बताउँछन् । बजारमा मिठाई पसलहरुमा अधिकांशले मिठाई बनाउन ट्रान्सफ्याक्टयुक्त वनस्पति घिउ तेल नै प्रयोग गर्दछन् । यसले गर्दा नेपालमा वनस्पति तेल घिउको बजार ठूलो छ । कुन तेल चाँहि उपयुक्त हो ? खसी, बाख्राजस्ता चौपायाको रातो मासु र गाईभैँसीको दूधमा हुने प्राकृतिक ट्रान्सफ्याटले खासै हानि नगर्ने चिकित्सक बताउँछन् । त्यस्तै, उद्योगहरुबाट उत्पादन हुने कृत्रिम ट्रान्सफ्याटले धेरै हानि गर्न सक्दछ । वनस्पति तेललाई धेरैबेर र धेरैपल्ट तताउँदा त्यसमा ट्रान्सफ्याटको मात्रा बढ्दै जान्छ र त्यसमा पकाएका खानेकुरा हानिकारक हुने चिकित्सक बताउँछन् । हाइड्रोजेनेसन नगरिएको शुद्ध वनस्पति तेल प्रयोग गर्नुपर्छ । घरमै बनाएको भए धेरै राम्रो । चिल्लो पद्धार्थको प्रयोग गरेपछि त्यही अनुसार व्यायाम गर्नुपर्ने चिकित्सकको सुझाव छ ।