धनगढी, जेठ ४ गते । कैलालीको घोडाघोडी नगरपालिका–१० का देवबहादुर शाहीलाई आफूले दिएको मत काम लागेको नलागेको सुन्ने उत्कट चाहना थियो । आफूले रोजेको उम्मेदवारले जिते विजय जुलुसमा सामेल हुने र आफ्नै गाउँघरको सिंहदरबार हाँक्ने सरकार हेरेर नै जाने सोच थियो तर त्यो अवसर नपाउँदै उहाँ झोलाझ्याम्टा बोकी सुक्खड बसपार्कबाट सीमा नाका गौरीफन्टातिर लाग्नुभयो ।
आठ दिनअघि मात्र गौरीफन्टा नाका भएर घर फर्किनुभएका शाही सोही नाका भएर भारततर्फ फर्किनुभयो । भारतको बेङ्लोरमा काम गर्ने शाही मत हाल्नकै लागि नेपाल आउनुभएको थियो । उहाँले भन्नुभयो, “अर्काको काम हो । धेरै बिदा पाइएन, त्यसैले चाँडै फर्कंदैछु ।” नेपालमा मत हाल्न आउँदा बेङ्लोरको कामको जिम्मेवारी अर्का नेपालीलाई पालो लगाएर आएको उहाँले बताउनुभयो ।
कैलालीकै गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय देवबहादुर खत्रीका चार छोरा छन् । चारमध्ये तीन बेङ्लोरमै छन् भने एक जना गौरीगङ्गाको वडामा उम्मेदवार छन् । देवबहादुरलाई पनि आफ्ना छोराको हार जितमा सामेल हुने रहर थियो तर सेठले ‘जल्दी आउनू’ भनेपछि फर्किन थालेको पीडा उहाँले पोख्नुभयो । उहाँ चुनावकै लागि भनेर १६ दिनअघि घर फर्किनुभएको थियो ।
भारत जानेमा नेपालका हरेक बस्तीका सातदेखि १५ जनासम्मको हुल रहने गर्छ । त्यही हुलमा मिसिएर १९ वर्षीय जीवन विष्ट पनि भारत जान थाल्नुभएको छ । मत दिन गाउँ फर्किएका गाउँका आफन्तसँग नेपाल आउनुभएका विष्टले घरमा आमाबुुबासँग भेटघाट गरेर भारत फर्किन थालेको सुनाउनुभयो । यसरी भारतबाट आई मत हालेर परिणाम नसुन्दै भारत फर्किनेमा शाही जस्तै सयौँ नेपाली छन् । सोमबार साँझ मात्र करिब चार सयको हाराहारीमा शाहीजस्तै अरू नेपाली सीमा क्षेत्रमा पुगेका थिए ।
आफूहरूलाई नेपालमै बस्ने र यहीँ काम गर्ने चाहना भए पनि काम नपाएपछि फेरि भारत जान थालेको कञ्चनपुरको वेदकोट नगरपालिका–९ का २१ वर्षीय निरज बीसीले बताउनुभयो । उहाँले आफ्नो उमेर समूहका आफूजस्ता धेरै युवा भारत जानु बाध्यता भएको सुनाउनुभयो । भारत जाने गौरीफन्टा नाकामा मात्र होइन, कञ्चनपुरको गड्डाचौकी नाकामा पनि उत्तिकै लाइन लाग्ने गरेको छ ।
मत दिएर फर्केकाले गाउँगाउँबाट चुनावमा रोजगारी दिने भनेको भए पनि विश्वास नलागेर जान लागेको उहाँले बताउनुभयो । पुख्यौँली घर बझाङ भएर हाल कञ्चनपुरको वेदकोट नगरपालिका–४, दैजी बसोबास भएका ५० वर्षीय लालबहादुर वडले भन्नुभयो– “यहीँ रोजगारी भएको भए किन बालबच्चा लिएर भारत जानुपथ्र्यो र ?” उहाँ श्रीमती रमिला वड र तीन सन्तान लिएर भारत जाँदै हुनुहुन्थ्यो ।
मतदाता नभएका छोरी र बुहारीलाई बेङ्गलोरमै छोडेर आफूहरू वैशाख १२ गते नेपाल आएको बताउँदै ४५ वर्षीया रमिलाले भन्नुभयो, “मत त हाल्यौँ, अब नेपालमै रोजगारी पाउने गरेर उद्योगधन्दा खोल्नका लागि नेताहरूलाई भनेका छौँ । हामीले दुःख पाए पनि हाम्रा सन्तानले दुःख नपाऊन् भन्ने मनमा लागिरहन्छ ।”
कैलालीकै गौरीगङ्गा मसुरियाकी ४० वर्षीया पार्वती कोटकेरीले भने यति धेरै नेपालीलाई नेपालमै रोजगारी दिन सरकारलाई गाह्रो हुने भएकाले आफूहरू भारत गएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा श्रीमान्लाई डिउटीले गर्दा मत हाल्न फुर्सद भएन, त्यसैले म मात्रै आएँ ।” भारतको राजस्थान जान लाग्नुभएका डोटीका भरत भण्डारीले प्रश्न गर्दै भन्नुभयो, “राम्रा मान्छे जित्लान् र काम गर्लान् भनेर सधैँ मत हाल्न आउँछौँ तर हाम्रो जीवनमा खुसी र सुखी हुने दिन कहिले आउने होला ?” उहाँ २५ जनाको समूहमा भारत जानुभएको थियो ।
वैशाख ३१ गतेपछि दैनिक भारत जानेको सङ्ख्या कति छ यकिन तथ्याङ्क कुनै सरकारी निकायसँग छैन । सीमामै रहेको माइती नेपालका कर्मचारी भने तीन दिनयता दैनिक हजारभन्दा बढी नेपाली भारत गइरहेको बताउँछन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वेदप्रकाश जोशी पनि चुनावको दोस्रो दिनदेखि भारत जानेको सङ्ख्या बढेको बताउनुहुन्छ । गौरीफन्टा नाका भएर सुदूरपश्चिमका नौ जिल्ला र कर्णाली प्रदेशका धेरै नेपाली भारत जाने गर्छन् ।