• १७ चैत २०८२, मङ्गलबार

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १७ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक र कार्यक्रमको मिति तोकेको छ ।

२०८२ चैत १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार १६५ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूसँग समीक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन गर्न लागिएको हो ।

पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्ति अनुसार, कार्यक्रमलाई प्रभावकारी बनाउन सातै प्रदेशमा फरक-फरक मिति र संयोजकहरू तोकिएको छ । तोकिएको कार्यक्रम अनुसार सम्बन्धित प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य तथा उम्मेदवारहरूको अनिवार्य उपस्थिति रहने छ ।

प्रदेशगत कार्यक्रम र संयोजकको विवरण:

१. कोशी प्रदेश: विराटनगर, २०८२ चैत २३ गते (संयोजक: डा. डिला सङ्ग्रौला पन्त)

२. मधेश प्रदेश: जनकपुर, २०८२ चैत २५ गते (संयोजक: फरमुल्लाह मंसुर)

३. गण्डकी प्रदेश: पोखरा, २०८२ चैत २७ गते (संयोजक: देवराज चालिसे)

४. लुम्बिनी प्रदेश: दाङ, २०८२ चैत २९ गते (संयोजक: योगेन्द्र चौधरी)

५. कर्णाली प्रदेश: सुर्खेत, २०८३ वैशाख ३ गते (संयोजक: कर्णबहादुर बुढा)

६. सुदूरपश्चिम प्रदेश: कैलाली, २०८३ वैशाख ५ गते (संयोजक: प्रकाश रसाइली स्नेही)

७. बागमती प्रदेश: हेटौँडा, २०८३ वैशाख ७ गते (संयोजक: बहादुर सिंह लामा)

विज्ञप्तिमा उल्लेख भए अनुसार सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने छन् । केन्द्रीय प्रतिनिधिको उपस्थितिमा हुने यो समीक्षाले पार्टीको आगामी साङ्गठनिक सुदृढीकरण र रणनीतिक बाटो तय गर्ने कांग्रेसले जनाएको छ ।