• १७ चैत २०८२, मङ्गलबार

१६५ वटै निर्वाचन क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गर्ने संयोजक तोकिए

कांग्रेसले सातै प्रदेशमा निर्वाचन समीक्षा गर्ने

blog

फाइल तस्बिर

काठमाडौँ,चैत १७ गते । नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न सातै प्रदेशमा विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग प्रत्यक्ष संवाद र समीक्षा गर्न लागिएको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिको उपस्थितिमा सबै निर्वाचन क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिनेछ ।

पार्टीले सातै प्रदेशका लागि छुट्टाछुट्टै मिति, स्थान र संयोजक समेत तोकेको छ । कोशी प्रदेशको विराटनगरमा चैत २३ गते डा. डिला संग्रौला पन्तको संयोजनमा कार्यक्रम हुनेछ भने मधेश प्रदेशको जनकपुरमा चैत २५ गते फरमूल्लाह मंसुरको संयोजनमा समीक्षा बैठक बस्नेछ ।

यसैगरी, गण्डकी प्रदेशको पोखरामा चैत २७ गते देवराज चालिसे र लुम्बिनी प्रदेशको दाङमा चैत २९ गते योगेन्द्र चौधरीको संयोजनमा कार्यक्रम तय गरिएको छ । आगामी वर्ष २०८३ को वैशाख महिनामा पनि समीक्षा कार्यक्रमले निरन्तरता पाउनेछ । वैशाख ३ गते कर्णालीको सुर्खेतमा कर्णबहादुर बुढा, वैशाख ५ गते सुदूरपश्चिमको कैलालीमा प्रकाश रसाइली स्नेही र वैशाख ७ गते बागमती प्रदेशको हेटौँडामा बहादुर सिंह लामाको संयोजनमा समीक्षा कार्यक्रम हुनेछ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका संयोजकहरूसँग समन्वय गरी जिल्ला कार्यसमितिले व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने प्रेस नोटमा उल्लेख छ । कार्यक्रममा केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहने जनाइएको छ ।