• १२ वैशाख २०८१, बुधबार

सुदूरपश्चिममा नयाँ नेतृत्व

blog

तस्बिरः सामाजिक सञ्जाल तुर्माखाँद गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि विजयको खुसी मनाउँदै ।

धनगढी, जेठ ४ गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये सोमबार दिउँसोसम्म ५४ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले २३, नेकपा (एमाले)ले १९, नेकपा माओवादी केन्द्रले ११ र स्वतन्त्रले एक पालिकाको प्रमुखमा जित हात पारेका छन् । यस्तै उपप्रमुखमा काँग्रेसका २९, एमालेका १७, माओवादीका सात र नेकपा (एकीकृत समाजवादी)का एक जना निर्वाचित भएका छन् । 

अमरगढीमा काँग्रेस विजयी

डडेल्धुरा/ अमरगढी समाचारदाताका अनुसार मङ्गलबार डडेल्धुराका थप तीन पालिकाको परिणाम आएको छ । योसँगै डडेल्धुरा जिल्लाका सातवटा स्थानीय तहमध्ये छवटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छवटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले चार र नेकपा माओवादी केन्द्रले दुई तहमा जित हात पारेका छन् । एक स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ । 

तीमध्ये धेरै चासो राखिएको अमरगढी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा एमालेले जितेको अमरगढीमा यस पटक एमाले र काँग्रेस बीपीको गठबन्धन रहेको थियो । 

अमरगढीको नगरप्रमुखमा डिल्लीराज जोशी, उपप्रमुखमा पार्वती झुकालसहित १० वटा वडामा काँग्रेसका वडाध्यक्ष निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिनुभयो । ११ वटा वडा रहेको अमरगढीमा १० वटै वडामा काँग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नम्बर ८ मा काँग्रेस बीपीका उम्मेदवार विजयी हुनुभएको छ । 

भागेश्वरमा पुनः काँग्रेस 

नेपाली काँग्रेस संस्थापक नेता स्वर्गीय एनडी प्रकाश चटौतको जन्मस्थल भागेश्वर गाउँपालिकामा फेरि पनि नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । भागेश्वरमा काँग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मतसहित पालिका अध्यक्षमा विजयी हुनुभएको छ । उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित हुनुभएको छ । भागेश्वरका पाँच वडामध्ये चार वडामा काँग्रेसका उम्मेदवार र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । यसअघिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मात्रै जितेको काँग्रेसले यस पटक भने एउटा वडाबाहेक चारवटै वडामा जितेको छ । 

अजयमेरुमा फेरि माओवादी 

अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसका वसन्ती पाल निर्वाचित हुनुभएको हो । अध्यक्ष भट्टले २०७४ मा पनि जित्नुभएको थियो । अध्यक्षमा निर्वाचित भट्टले दुई हजार ४६९ मत प्राप्त गर्नुभएको र उपाध्यक्षमा काँग्रेसका पालले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जानकारी दिएको छ । 

बैतडीमा मिश्रित परिणाम 

बैतडी समाचारदाताका अनुसार बैतडीका १० स्थानीय तहमध्ये आठ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदा मिश्रित नतिजा आएको छ । 

दशरथचन्द नगरपालिकामा एमालेका उम्मेदवार पुष्करराज जोशी प्रमुख र काँगे्रसका कौशिला चन्द उपप्रमुखमा विजयी हुनुभएको छ । पाटन नगरपालिकामा काँग्रेसका गौरीसिंह रावल प्रमुख र माओवादीका कमल बोहरा उपप्रमुखमा विजयी हुनुभएको छ । सिगास गाउँपालिकामा काँग्रेसका हरिसिंह धामी अध्यक्ष र नेकपा एमालेका धाना धामी उपाध्यक्षमा विजयी हुनुभएको छ । 

शिवनाथ गाउँपालिकामा नेपाली काँग्रेसका कर्णबहादुर साउद अध्यक्ष र नेकपा एमालेका शकुन्तला साउद उपाध्यक्षमा विजयी हुनुभएको छ । त्यसैगरी मेलौली नगरपालिकामा माओवादीका भीमबहादुर चन्द प्रमुख र काँग्रेसका पार्वती बोहरा उपप्रमुखमा विजयी हुनुभएको छ । 

सुर्नया गाउँपालिकामा एमालेका अम्मर कुँवर प्रमुख र काँग्रेसका मञ्जु महरा (बोहरा) उपप्रमुखमा निर्वाचित हुनुभएको छ । डिलासैनी गाउँपालिकामा एमालेबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी अध्यक्ष र नेपाली काँग्रेसका भगीरथ बोहराले उपाध्यक्षमा जित्नुभएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा एमालेका गोरखबहादुर चन्द अध्यक्ष र बिना भट्ट उपाध्यक्षमा विजयी हुनुभएको छ । 

उनान्असी वडाको नतिजा सार्वजनिक 

बैतडीका ८४ वडामध्ये ७९ वडाको नतिजा सार्वजनिक भएको छ । मङ्गलबार अपराह्नसम्म नेकपा एमालेले ३३, नेपाली काँग्रेसले ३१ वडा, नेकपा माओवादी केन्द्रले ११ वडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक वडा र स्वतन्त्र उम्मेदवारले तीनवटा वडामा जित हासिल गरेका छन् । 

बेलौरीमा पुनः चौधरी 

कञ्चनपुर समाचारदाताका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाको नगरप्रमुखमा पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रबाट उम्मेदवार चौधरीले आठ हजार ४९६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी कुमारीकमला बोहराले छ हजार ६१४ मत, नेपाली काँग्रेसका हरेन्द्रसिंह विष्टले पाँच हजार ९७९ मत प्राप्त गर्नुभएको छ । बेलौरीमा नगरप्रमुखका लागि छ जना उम्मेदवार चुनावी मैदानमा थिए । 

उपप्रमुखमा एमालेका जोगराम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले सात हजार २८७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मञ्जु शाहले छ हजार ६८२ र काँग्रेसका खिना भण्डारीले छ हजार ३४९ मत प्राप्त गर्नुभएको छ ।

पालिका प्रमुखमा काँग्रेस, वडामा एमाले 

अछाम समाचारदाताका अनुसार अछामका सात स्थानीय तहमा मतगणना पूरा भएकोमा काँग्रेसले पाँच स्थानीय तहको नेतृत्व हात पारेको छ भने नेकपा एमाले र माओवादी केन्द्रले एक÷एक स्थानीय तहको नेतृत्वमा विजय प्राप्त गरेका छन् । 

एमालेले तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी अध्यक्ष र काँग्रेसले उपाध्यक्षमा विजय हासिल गरेको छ । मेल्लेखमा माओवादी–काँग्रेस र एमाले–समाजवादी चुनावी गठबन्धन थियो ।

नेपाली काँग्रेसले चौरपाटी र ढकारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । चौरपाटीमा समाजवादी–माओवादी चुनावी गठबन्धन रहेको थियो । बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस अध्यक्ष र एमाले उपाध्यक्ष, रामारोशन गाउँपालिकामा काँग्रेस अध्यक्ष र माओवादी केन्द्र उपाध्यक्ष र कमलबजार नगरपालिकामा प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस–माओवादी, रामारोशनमा काँग्रेस–समाजवादी गठबन्धन थियो । स्थानीय तहको प्रमुख र उपप्रमुखमा पराजित भएका सबै स्थानीय तहमा नेकपा (एमाले) दोस्रो भएको छ । मत परिणाम सार्वजनिक भएका वडामध्येमा एमालेले २८, काँग्रेसले २५ र माओवादी केन्द्रले पाँच, समाजवादीले तीन र स्वतन्त्र दुई वडाध्यक्षमा निर्वाचित भएका छन् । १४ वडा रहेको मङ्गलसेन नगरपालिकामा मतगणना जारी रहेको छ । १४ वटै वडा रहेको साँफेबगर नगरपालिकाका र १० वडा रहेको पञ्चदेवल विनायक नगरपालिकामा मतगणना हुन बाँकी छ । 

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटी र साँफेबगर नगरपालिका–१३ बाब्लामा मतदानका क्रममा शुक्रबार झडपका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । लयाँटीमा मङ्गलबार मतदान भएर रातिबाट नै मतगणना गर्ने तयारी छ भने बाब्लामा शुक्रबार मतदान हुने भएको छ । 

अध्यक्षमा एमाले, उपाध्यक्ष माओवादी

घोडाघोडी समाचारदाताका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कर्ण कुँवर विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार २९६ मतान्तरले पराजित गरी उहाँ अध्यक्षमा विजयी हुनुभएको हो । विजयी कुँवरले पाँच हजार ४८२ र पराजित हुनु भएका कठरियाले चार हजार १८६ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गणेशराज गिरी चार हजार ५६९ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँले नेकपा (एमाले)का उम्मेदवार इन्दु कठरियालाई ३१४ मतान्तरले पराजित गर्नुभयो । २०७४ को निर्वाचनमा बर्दगोरिया गाउँपालिकामा नेपाली काँग्रेसले जितेको थियो । यस पटकको निर्वाचनमा गठबन्धन गर्दा पनि नेपाली काँग्रेसले आफ्नो विरासत गुमाएको छ । 

बडीमालिकामा एमाले 

बाजुरा समाचारदाताका अनुसार बाजुराको बडीमालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । बडीमालिकाको प्रमुखमा अम्मरबहादुर खड्का र उपप्रमुखमा नन्दाकुमारी थापा विजयी हुनुभएको हो । खड्काले नेपाली काँग्रेसका उम्मेदवार धनराज पण्डितलाई ४६७ मतान्तरले पराजित गर्नुभएको छ । मङ्गलबार सार्वजनिक भएको परिणामअनुसार खड्काले चार हजार १९ मत ल्याउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा विजयी नन्दाकुमारी थापाले प्रतिद्वन्द्वी राधिका सिंहभन्दा ८८२ बढी मत पाउनुभयो । नौ वडा भएको बडिमालिका नगरपालिकामा एमालेले सात र काँग्रेसले दुई वडा जितेको छ । यस्तै स्वामीकार्तिक गाउँपालिकामा काँग्रेसका भरत रोकाया र उपाध्यक्षमा पनि काँग्रेसकै मैना जोशी विजयी हुनुभएको छ । सो पालिका यसअघि एमालेले जितेको थियो । नौ पालिका रहेको बाजुरामा अझै चार पालिकाको नतिजा आउन बाँकी छ । तीमध्ये बूढीनन्दा नगरपालिकाको वडा नम्बर ८ मा शुक्रबार रोकिएको निर्वाचन मङ्गलबार सम्पन्न भएको छ । बूढीगङ्गामा काँग्रेसले २, ३, ५ र ९ मा एमालेले बुथ कब्जा गरेको भन्दै फेरि चुनाव हुनुपर्ने अडान राखेको छ भने एमालेले मतगणना हुनुपर्ने बताउँदै आएको छ । 

दिपायल सिलगढीमा काँग्रेस विजयी 

डोटीको दिपायल सिलगढी नगरपालिकाको प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ । प्रमुखमा काँग्रेसका बाजीसिंह खड्का र उपप्रमुखमा कलावती महर साउँद विजयी हुनुभएको छ । मङ्गलबार साँझ प्राप्त परिणामअनुसार खड्काले पाँच हजार १३८ र मलासीले तीन हजार ५१५ मत पाउनुभएको छ । गत स्थानीय तहको निर्वाचनमा सो नगरमा एमालेले जितेको थियो ।