• १४ वैशाख २०८१, शुक्रबार

अधिकांशमा गठबन्धन विजयी

blog

सचिन पोख्रेल

विराटनगर, जेठ ४ गते । प्रदेश नम्बर १ का विभिन्न पहाडी जिल्लाका अधिकांश स्थानीय तहको मतगणना कार्य सम्पन्न भई अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी प्रदेश १ का तराईका केही स्थानीय तहका मतगणना कार्य पनि सम्पन्न भइसकेको छ । 

प्रदेश १ का विभिन्न जिल्लाबाट प्राप्त अन्तिम मत परिणामअनुसार धेरै स्थानीय तहमा लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली काँग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । प्रदेश १ मा रहेका एक सय सैंतीस स्थानीय तहमध्ये एक मात्र महानगरपालिका विराटनगर, दुई उपमहानगरपालिका इटहरी र धरानका साथै अधिकांश नगरपालिकाको मतगणना कार्य जारी छ ।

अहिलेसम्म मतगणना सम्पन्न भएका स्थानीय तहमध्ये अधिकांशमा लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली काँग्रेसलगायतका दलका उम्मेदवारले विजय हासिल गर्नुभएको छ ।  मत गणना भइरहेका विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकाका साथै अन्य पालिकामा धेरै स्थानमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनु भएको छ । 

सङ्खुवासभामा काँग्रेस अग्र

सङ्खुवासभा समाचारदाता ध्यान कुलुङका अनुसार सङ्खुवासभाका दस स्थानीय तहमध्ये नौ पालिकाको मतगणना सकिँदा नेपाली काँग्रेस अग्रपङ्तिमा रहेको छ । हालसम्म प्रमुख पदमा नेपाली काँग्रेसले छ स्थानीय तह जितेको छ ।

नेकपा एमालेले तीन स्थानीय तहको प्रमुख पद जितेको छ । उपप्रमुख पदमा काँग्रेस र एमालेले तीन–तीन पालिका जितेका छन् । उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले दुई स्थान जितेका छन् । 

नेपाली काँग्रेसका उम्मेदवार महेश थपलियाले सात हजार ६३४ मत प्राप्त गर्दै खाँदबारी नगरपालिकाको प्रमुख पद जित्नुभएको छ । निकटतम नेकपा एमालेका उम्मेदवार जितबहादुर घिमिरेलाई हराउँदै थपलिया विजेता बन्नुभएको हो । 

जिल्लाको पाँचखपन नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विपिन राई चार हजार ७८८ मतका साथ विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुकुमार राईले तीन हजार ४३७ मत मात्र प्राप्त गरेपछि विपिन निर्वाचित हुनुभएको हो । यस पालिकाका उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका सुमुना श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

धर्मदेवी नगरपालिकामा गठबन्धन गरेर चुनावी मैदानमा नेपाली काँग्रेसका उम्मेदवार थलकुमार लिङ्खा एमालेका उम्मेदवार उदयचन्द्र पौडेलसँग पराजित हुनुभएको छ । पौडेलले चार हजार २८२ मत प्राप्त गर्नु हुँदा लिङ्खाले चार हजार १९३ मत प्राप्तभएको छ । उपप्रमुख पदमा भने नेपाली काँग्रेसका उम्मेदवार तारा महत निर्वाचित हुनुुभएको छ । 

मादी नगरपालिकामा नेकपा एमालेका जीवन लिङ्थेप चार हजार ३३१ मतसहित प्रमुख पदमा निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट दुई हजार ६७६ मत ल्याउनुभएका नेकपा माओवादीको दावाछत्र शेर्पालाई उहाँले पराजित गर्नुभएको हो । उपप्रमुखतर्फ पनि एमालेका उम्मेदवार सुनितादेवी भट्टराई विजयी हुनुभएको छ ।

पाँच वडा रहेको चिचिला गाउँपालिकामा जम्मा २७ पदमध्ये २६ पद नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर २ को एक वडा सदस्य नेकपा माओवादी केन्द्रले जितेको बाहेक सबै पद काँग्रेसले जितेको छ । चिचिलाको अध्यक्ष पदमा पासाङनुर्वू शेर्पा र उपाध्यक्ष पदमा मनकला राई निर्वाचित हुनुभएको छ । 

सिलिचोङ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भुपालराज मेवाहाङ निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै देवीता कुलुङ निर्वाचित हुनुभएको छ ।सभा पोखरी गाउँपालिकामा नेपाली काँग्रेसका भीमबहादुर लिम्बूू निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मी चापागाईं निर्वाचित हुनुभएको छ । 

मकालु गाउँपालिकामा नेपाली काँग्रेसका ओङ्दीछिरिङ शेर्पा प्रमुख र नेकपा माओवादी केन्द्रका मनकला राई उपप्रमुख पदमा निर्वाचित हुनुभएको छ ।  भोटखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदमा एमाले उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा वाङछेदर लामा र उपाध्यक्ष पदमा नेकपा एमालेका सहना लामा निर्वाचित हुनुभएको छ ।

खोटाङमा काँग्रेस अगाडि

खोटाङ समाचारदाता राजकुमार भट्टराईका अनुसार दस स्थानीय तह रहेको खोटाङमा आठ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएका स्थानीय तहको नतिजाअनुसार अहिलेसम्म नेपाली काँग्रेस अगाडि रहेको छ । काँग्रेसले गठबन्धनबाट दुई पालिका अध्यक्ष, तीन पालिका उपाध्यक्ष र एक्लै दुई पालिका अध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट दुई पालिका अध्यक्ष र एक पालिका उपाध्यक्ष एक्लै जितेको छ । नेकपा एमालेले दुई पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

साकेला गाउँपालिकाका अध्यक्षमा काँग्रेसका रविप्रकाश राई निर्वाचित हुनुभएको छ । राईले एक हजार ८५० मत पाएर अध्यक्षमा विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले एक हजार ७७२ मत पाउनुभएको छ । खड्का निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । 

वराहपोखरी गाउँपालिकामा पुनः नेपाली काँग्रेसका शालिकराम बन्जारा निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका बन्जारा थप पाँच वर्षे कार्यकालको लागि निर्वाचित हुनुभएको हो । 

कपिलासगढी गाउँपालिका अध्यक्षमा काँग्रेसका समिर राई विजयी हुनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी हुनुभएको छ । 

ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई विजयी हुनुभएको छ । उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष एमालेकी पुष्पकला भुजेललाई पराजित गर्दै गठबन्धनबाट काँग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ ।

जन्तेढुुङ्गा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी हुनुभएको छ । राईले २८८१ मत ल्याएर विजय हुँदा उहाँका प्रतिस्पर्धी एवं निर्वतमान अध्यक्ष एमालेका शङ्खरबहादुर राईले दुुई हजार ५७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको छ । 

खोटेहाङ गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादीका उदिमबहादुर राई विजयी हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका रूपेश राई विजयी हुनुभएको छ । यो गाउँपालिका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिकासमेत हो । 

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र राई विजयी हुनुभएको छ । एमालेका राईले दुुई हजार ८०३ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी काँग्रेसका नइन्द्र राईले दुुई हजार १६२ मत पाउनुभएको छ । उपाध्यक्षमा पनि एमालेकी अरुणा थापा मगर विजयी हुनुभएको छ । रावाबेँसी गाउँपालिका गठबन्धनबाट काँग्रेसका फट्टिक श्रेष्ठ विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेकी कौशिला गुरुङ विजयी हुनुभएको छ । 

पशुपतिनगर समाचारदाता प्रेम अधिकारीका अनुसार इलाम जिल्लाका १० स्थानीय तहमध्ये तीनवटा गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । सातवटा पालिकामा मतगणना भैरहेको छ । सार्वजनिक नतिजाअनुसार इलाममा दुई गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र एक गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । 

इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट राजेन्द्र केरुङ छ हजार ६५० मतले विजयी बन्नु भएको छ । यसैगरी सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट काँग्रेसका तुलाराम गुरुङ विजयी बन्नुभएको छ । 

माङसेबुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हेमन्त राई विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा निवर्तमान गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी बन्नुभएको छ । इलामका सबै मतगणना सक्न पाँच दिन लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । 

यसै गरी माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुश बहादुर थेवे पाँच हजार १ सय ३५ सहित बिजयी बन्नु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रविना राई बिजयी बन्नु भएको छ । यस्तै इलामकै रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार तामाङ गाउँपालिका अध्यक्षमा बिजयी बन्नु भएको छ । उपाध्यक्षमा एमालेकी बिष्णु खवास बिजयी बन्नु भएको छ ।  

भोजपुरमा पनि काँग्रेस अघि

भोजपुर समाचारदाता गोकुल भुजेलका अनुसार नौवटा स्थानीय तहमध्ये नेपाली काँग्रेसले चार पालिका, नेकपा एमालेले तीन पालिका, माओवादी केन्द्रले एक पालिका  र स्वतन्त्र उम्मेदवारले एक पालिका प्रमुखमा विजय हासिल गरेका छन् । भोजपुर नगरपालिकाका प्रमुखमा नेपाली काँग्रेसका कैलाशकुमार आले विजयी हुनुभएको छ । उहाँ दोस्रो पटक प्रमुखमा निर्वाचित हुनुभएको हो । आलेले नेकपा एमालेका भरतकुमार तामाङलाई पराजित गरी विजयी हुनुभएको हो । 

उपमेयरमा भने एमालेकी निर्मला शेर्पा विजयी हुनुभएको छ । उहाँले रुख चिन्हबाट प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी ममिता राईलाई पराजित गर्नुभयो । नगरका १२ वडामध्ये आठ वडामा काँग्रेस, एक माओवादी र तीन एमालेले विजय हासिल गरेका छन् । जिल्लाको पूर्वी अरुण गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका शालिकराम खत्रीले नेकपा एमालेका नारायणप्रसाद घिमिरेलाई पराजित गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका विनिता ढकाल विजयी हुनुभएको छ । 

त्यस्तै आमचोक गाउँपालिकाका अध्यक्षमा माओवादी केन्द्रका अशोक राई विजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकी सीता राई निर्वाचित हुनुभएको छ ।  पौवादुङमा गाउँपालिकाका अध्यक्षमा नेकपा एमालेका किरण राई विजयी हुनुभयो । उपाध्यक्षमा एमाले उम्मेदवार ज्योत्सना राई विजयी हुनुभएको छ । 

रामप्रसाद राई गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई विजयी हुनुभयो । सत्ता गठबन्धनबाट उम्मेदवार उहाँले एमालेका बलराम राईलाई हराउँदै अध्यक्ष जित्नुभएको हो । उपाध्यक्षमा पनि गठबन्धनबाटै काँग्रेसका वीरेन्द्र राई विजयी हुनुभएको छ  ।

यता हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेमकुमार राईले सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गजेन्द्र कार्कीलाई हराउँदै निर्वाचित हुनुभएको छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष पदमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी सुनिता किराँती विजयी हुनुभएको छ । 

विद्रोही विजयी 

साल्पासिलिछो गाउँपालिकामा भने अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ विजयी हुनुभएको छ । नेकपा एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठनुभएका उहाँले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गर्नुभएको हो । उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी अस्मिता कुलुङ विजयी हुनुभएको छ । 

टेम्केमैयुङ गाउँपालिकामा नेपाली काँग्रेसका सरोज बस्नेत अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा एमालेकी रमादेवी राई निर्वाचित हुनुभएको छ । षडानन्द नगरपालिकामा एमालेका सुरेन्द्रकुमार उदास विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका विरवल राईलाई १०१५ मतले पराजित गर्नुभएको हो । उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी प्रमीला राईले एमालेकी मेरिका राईलाई पराजित गर्नुभयो । 

ओखलढुङ्गा समाचारदाता शेरबहादुर राईका अनुसार ओखलढुङ्गामा नेपाली काँग्रेसले विगतको वर्चश्व कायम गर्ने सङ्केत देखिएको छ । जिल्लाका आठमध्ये छ स्थानीय तहको मत परिणाम आउँदा तीन पालिका र अधिकांश वडा जितेर काँग्रेसले साख फर्काउन सफल भएको हो । 

नेकपा एमालेले एक स्थानीय तहमा प्रमुख र दुई स्थानीय तहमा उपप्रमुख हात पारेको छ । जनता समाजवादी र माओवादीले जिल्लाका एक÷एक स्थानीय तहको प्रमुख पदमा जित हात पारेका छन् । जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा काँग्रेसका तेजेन्द्र खनाल विजयी हुनुभएको छ । उपप्रमुखमा एमालेका केदारबाबु बस्नेत विजयी हुनुभएको छ ।मानेभन्ज्याङमा काँग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली विजयी हुनुभयो । उपाध्यक्षमा काँग्रेसकै आश्राचन राई विजयी हुनुभयो ।   

चम्पादेवी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी निर्वाचित हुनुभएको छ  । उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया मगर विजयी बन्नुभयो । मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित हुनुभएको हो । खतिवडाले प्रतिस्पर्धीलाई दोब्बर बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष जित्न सफल हुनुभयो । 

खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी हुनुभएको छ । जनता समाजवादीका उम्मेदवार शेर्पाले काँग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गर्नुभएको हो । उपाध्यक्षमा काँग्रेसकी सुशिला तामाङ विजयी हुनुभएको छ । 

चिशङ्खुगढी गाउँपालिकाका अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशङ्खुुगढी गाउँपालिकाका उपाध्यक्षमा विजयी हुनुभएको छ । 

पाँचवटामा गठबन्धन

ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाकका अनुसार नौवटा स्थानीय तहमध्ये पाँचवटामा गठबन्धनले दुवै मुख्य पद तथा दुई तहमा एक प्रमुख र एक उपप्रमुख पदमा विजयी हासिल गरेका छन्  । 

मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ, मेरिङ्देन, मिक्वाखोला र सिरिजङ्घा गाउँपालिकामा गठबन्धनले दुवै पदमा जित हासिल गरेको छ । यस्तै फुङ्लिङ नगरपालिकामा भने प्रमुख र सिदिङ्वा गाउँपालिकामा उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ  ।  

मैवाखोला गाउँपालिकामा एमालेको विरासत भत्काउँदै अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का विजयप्रकाश वनेम लिम्बू निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी कमलकुमारी लिम्बू विजयी हुनुभएको छ । एमाले सचिव योगेशकुमार भट्टराईको गृह क्षेत्र पनि यही गाउँपालिका हो भने तत्कालीन एमाले महासचिव स्वर्गीय मदनकुमार भण्डारी जन्मनुभएको गाउँ पनि यही गाउँपालिका हो । 

त्यस्तै मेरिङ्देन गाउँपालिकामा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका युकहाङबिर हाङ्गाम (डम्बर) विजयी हुनुभएको छ । उपाध्यक्षमा साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद श्रेङ चोङबाङ विजयी हुनुभएको छ । 

फक्ताङ्लुङ गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का राजन लिम्बू (मुक्ति) अध्यक्षमा र काँग्रेसका रवीन साम्रा लिम्बू उपाध्यक्षमा विजयी हुनुभएको छ । सिरिजङ्घा गाउँपालिकामा काँग्रेसका लालकृष्ण चौहान अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रका डा. चित्रकुमार माबो निर्वाचित हुनुभएको छ । 

फुङ्लिङ नगरपालिका प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका अमिर मादेन विजयी हुनुभएको छ । उपप्रमुखमा भने एमालेकी भीमादेवी ओझा निर्वाचित हुनुभएको छ । सिदिङ्वा गाउँपालिकामा एमालेका मानबहादुर राई अध्यक्षमा निर्वाचित हुँदा माओवादी केन्द्रकी नेतृ कृष्णकुमारी कडरिया (वन्दना) उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पाथीभरा याङ्वरक र आठराई त्रिवेणी गाउँपालिकामा भने एमालेले विजय हासिल गरेको छ । पाथीभरा याङ्वरकमा एमालेका केशरकुमार सुब्बा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा पनि एमालेकै रनमाया गुरुङ विजयी हुनुभएको छ । आठराई त्रिवेणीमा एमालेका दीपेन पोमु विजयी हुनुभएको छ । उपाध्यक्षमा पनि एमालेकी शान्ताकुमारी आङ्बुहाङ निर्वाचित हुनुभएको छ ।