नवराज कट्टेल
विराटनगर, वैशाख २४ गते । विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवाहक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायीलाई स्वघोषणा गराएर नौ दिनपछि जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशनबमोजिम एक पटकलाई व्यवसायीले यो सुविधा पाउने भएका हुन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सारविन्दुमा प्रवेश भएका मालवस्तुको हकमा अब व्यवसायीले मूल्य स्वघोषणा गर्न पाउने छन् । त्यसका आधारमा भन्सारको प्रणालीमा तथ्याङ्क प्रविष्ट हुने छ । त्यसपछि सामान छुट्ने छ ।
सरकारले एमआरपी घोषणाका लागि पहिले दिएको १५ दिनभित्र यसको व्यवस्थापन गर्न नसक्नेका लागि यो बाटो खुलाइएको भन्सार प्रमुख श्रेष्ठको भनाइ छ । त्यसपछि अर्डर भएर आयात हुने मालवस्तुका हकमा भने उत्पादन स्थलमै एमआरपी उल्लेख भएको हुनुपर्ने नियम यथावत् रहेको श्रेष्ठ बताउनुहुन्छ । “हाम्रो उद्देश्य भनेको एमआरपीबिनाको मालवस्तु भन्सारविन्दुबाट जाँचपास नगर्ने हो, त्यही उद्देश्यबमोजिमको निर्देशनलाई कार्यान्वयनमा ल्याउन कडाइ गरिने छ,” प्रमुख भन्सार अधिकृत श्रेष्ठले भन्नुभयो, “सबैलाई त्यही अनुसार मात्रै हुन्छ भनेर हामीले भनिदिएका छौँ ।”
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकी शर्माले भन्सारले तत्काल मालवस्तु जाँचपास सहजीकरण गर्ने निर्णय गरेपछि व्यवसायीले वस्तुको मूल्य घोषणा गरेका छन् । त्यसका लागि व्यवसायीले आफ्नो फर्मको नाममा लिखित दिनुपर्ने हुन्छ । बजारमा पुगेका ती वस्तु बिक्री गर्दाका बखत भन्सारमा घोषणा भएको मूल्यसँग मेल खाए कि खाएनन् भन्ने कुराको नियमनसमेत हुने छ । अध्यक्ष शर्माले एक पटकलाई मात्रै यो सहजीकरण भएको भन्ने कुरा प्रशासनले जानकारी गराएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भन्सार जाँचपास सहजीकरणका लागि एक पटकलाई व्यवसायीले अनुरोध गरेबमोजिम भएको बताउनुभयो । उहाँले व्यवसायीले अर्को पटक यही सुविधा नपाउनेमा ढुक्क हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी कट्टेलले मूल्य स्वघोषणा गरेर बजारमा आएका वस्तु बिक्री हुँदा घोषणा गरेको मूल्य कायम छ कि छैन भनेर हेर्नकै लागि लिखित कागजात माग गरिएको बताउनुभयो । भन्सारविन्दुमा झन्डै दुई सय मालवाहक सवारी रहेका थिए ।