काठमाडौं, वैशाख १ गते । वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण हुनुका साथै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घमा अभिलेखीकरण भएअनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुर्व्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् । श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । विसं २०७७ मा ५१७ पत्रकारको श्रम समस्या रहेकामा २०७८ मा २२१ श्रम समस्या आएको महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । विसं २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३०० पत्रकारका समस्या समाधान भएका छन् । महासङ्घको कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध ३३ घटनाका बारेमा न्यायिक प्रक्रिया चलिरहेको छ । त्यसैगरी, २०७८ मा सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुन बनाउने तथा संसदमा दर्ता गर्ने कार्य भएको छ । “संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थासमेतलाई चुनौती थपिदिएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।कोरोनाभाइरस सङ्क्रमणबाट अहिलेसम्म २६ सञ्चारकर्मीले ज्यान गुमाएको महासङ्घले जनाएको छ । त्यसमध्ये २०७८ सालमा १८ सञ्चारकर्मीले ज्यान गुमाएका थिए । कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्न पत्रकार महासङ्घको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ । कोभिडको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निष्काशन गर्ने कामले निरन्तरता पाएको छ । अध्यक्ष पोखरेलले नयाँ वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फ सेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दवाव, कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाएको छ । महासङ्घले यो वर्ष हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासङ्घले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ पर्याउने योजना बनाएको छ । महासङ्घले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य सङ्घसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन थालेको छ । महासङ्घका महासचिव रोशन पुरीले भन्नुभयो, “तीन तहकै सरकारले ल्याएका, ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनुपर्दछ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरिनु हुन्न, त्यसो भएको खण्डमा आन्दोलनमा उत्रिन्छौँ ।” पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारको पक्षमा विगत वर्षमा जस्तै नेतृत्वदायी भूमिकामा रहेर आवाज बुलन्द पार्ने महासङ्घले प्रतिवद्धता व्यक्त गरेको छ । महासङ्घले महङ्गी, बजार मूल्य वृद्धि भइरहेको सन्दर्भमा श्रमजीवि पत्रकारको पारिश्रमिक ५० प्रतिशतले वृद्धि हुनुपर्ने माग गर्दै आएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले भने गत फागुनमा श्रमजीवी पत्रकारको पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ ।
काठमाडौं, वैशाख १ गते । निर्वाचन आयोगले ३९ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमार्फत ३९ जिल्लाका लागि आवश्यक पर्ने ७० लाख ३३ हजार थान मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो । अहिले दैनिक सरदर आठ लाख थान मतपत्र छाप्ने कार्य भइरहेको उहाँको भनाइ छ।त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनप्रति संशय जनाउने अभिव्यक्ति नदिनका लागि राजनीतिक दलका नेतालाई आग्रह गरेको छ । 'निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, 'निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।'यसैगरी, उहाँले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन बिहीबारदेखि नै ‘स्थानीय तह निर्वाचन इ-बुलेटिन’ प्रकाशन सुरु गर्न लगेको पनि जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख १ गते । पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ सय ६२ जनामा एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, एक हजार आठ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ । कुल ३३ सय ४२ परीक्षणमा चार जना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् ।यसैगरी, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १ गते । स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाबेला निर्वाचनका सम्वन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले विहीबार नियमित पत्रकार भेटघाट मार्फत् सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको हो । ”राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट निर्वाचनका विषयमा संशय हुनेखालका अभिव्यक्ति नदिनु हुन सरोकारवाला सवैलाई आयोग आग्रह गर्दछ“ पत्रकार भेटघाटपछि आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको बताउनुभयो । उहाँकाअनुसार दैनिक सरदर ८ लाख थान मतपत्र छपाई भइरहेको छ ।सोहीअनुसार स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको प्रवक्ता शर्माले बताउनुभयो । ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेको उहाँले जानकारी दिनुभयो ।जसमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेको उहाँले बताउनुभयो । सो निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमतिसम्वन्धी निर्णय गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजैदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशन शुरु गरेको बताएको छ ।बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुने पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने विश्वास आयोगले लिएको छ । सोहीअनुसार आचारसंहिता उल्लंघनका विषयलाई आयोगले नोटिस गरिरहेको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । आचारसंहिता कार्यान्वयन गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ कार्यक्रम जनकपुर, हेटौडा, बुटवल र धनगढीमा बैशाख २ गते गर्ने आयोगले निर्णय गरेको छ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराइने प्रवक्ता पौडेलले बताउनुभयो । यसअघि आयोगले प्रशिक्षण कार्यक्रम विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न गरिसकेको छ । त्यस्तै चैत २९ गते प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम पनि आयोगले सम्पन्न गरेको छ ।
काठमाडौं, वैशाख १ गते। बिहीबार नयाँ वर्ष २०७९ लाई स्वागत गरिएको छ। नयाँ वर्षको अवसरमा विभिन्न ठाउँमा गएर रमाउनेको भीडभाड देखिन्छ। देशभर सबै नेपालीले आपसी सद्भाव, प्रेम र शुभकामना साटासाट गर्दै नयाँ वर्षलाई उत्सवका साथ मनाइरहेका छन्।नयाँ वर्षमा नजिकका साथीभाइसँगै बसेर मीठोमसिनो खाने, राम्रो लगाएर रमाइलो गर्ने गरिन्छ। आफन्तजनसँग घुम्न जाने, रमाइलो गर्ने विशेष दिनको रुपमा लिइन्छ। अन्य क्षेत्रमा जस्तै नयाँ वर्षको अवसरमा राजधानीको भृकुटीमण्डमासमेत भीडभाड थियो। तस्बिरः मनोजरत्न शाही र केशब गुरुङ
काठमाडौं, वैशाख १ गते । गायिका मिलन नेवार र गायक प्रकाश सिङको स्वर रहेको यूके लण्डनमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मकाउमा रहेका गायक सिङले नयाँ वर्षको अवसर पारेर ल्याएको गीतका शब्द राजु आर डीका हुन्। गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ। पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ। गायक सिङले यसअघि नै आधा दर्जन भिडियो ल्याइसक्नु भएको छ। अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अ्मर लिङ्देन, अडियो नेपालका बुद्ध सयमी र काठमडौँका सन्तोष बिश्वोकर्माको हयोगमा भिडियो निर्माण भएको गायक सिङले बताए।
काठमाडौँ, वैशाख १ गते । एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको प्रशिक्षण दशरथ रंगशालामा गराउने जानकारी दिएको हो । टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाउनुभएको छ । एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो तुलनात्मक रुपमा कठिन समूह हो । छनोट खेल कुवेतमा जुन ८ देखि १४ तारिखसम्म हुनेछ । समूहको शीर्ष टोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ । प्रशिक्षणमा बोलाइएका खेलाडी : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र विशाल राई ।
अविनाश चौधरीधनगढी, वैशाख १ गते । जिल्ला प्रहरी कार्यालय कैलालीमा चालू आर्थिक वर्षको नौ महिनामा एक हजार ९२ मुद्दा दर्ता भएको छ । नौ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी कार्यालयले आर्थिक वर्षको तुलनामा बढी मुद्दा दर्ता भएको जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको यहीँ अवधिमा एक हजार २४ वटा मुद्दा दर्ता भएको थियो । कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता वेदप्रकाश जोशीले चालू आर्थिक वर्षको नौ महिनामा गत आर्थिक वर्षको तुलनामा ६.६३ प्रतिशत बढी मुद्दा दर्ता भएको जानकारी दिनुभयो । प्रवक्ता जोशीका अनुसार नौ महिनाको अवधिमा लागूऔषध शीर्षकमा १११ मुद्दा दर्ता भएका थिए । उहाँले उक्त दर्ता भएका मुद्दामा नौ महिला र १६१ पुरुष गरी १७९ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गत आर्थिक वर्षको नौ महिनामा लागूऔषध शीर्षकमा ७६ वटा मुद्दा दर्ता भएका थिए भने चार महिला र ९७ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रवक्ता जोशीले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ४६.५ प्रतिशतले लागूऔषध अपराध वृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘लागूऔषध कारोबारमा १५ देखि २५ वर्ष उमेर समूहका व्यक्तिको बढी संलग्नता देखिएको छ ।’’ प्रहरीले चालु आर्थिक वर्षको नौ महिनामा खैरो हेरोइन २४८ ग्राम ७८१ मिलिग्राम, ट्याब्लेट नाइट्राभेट ७८३, क्याप्सुल स्पास्पो ७४१ बरामद गरेको छ । यसैगरी ४१ किलो ५७ ग्राम चरेश, ८० क्याप्सुल नाइट्राजपाम, २३ थान प्रोयवेल स्पाम र आठ थाम ट्रामोडोल प्रहरीले बरामद गरेको छ । त्यस्तै, अदालतबाट फैसला भइ फरार रहेका ६६ जना र अनुसन्धानका क्रममा फरार भएका २५ जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । गत आर्थिक वर्षमा यहि अवधिमा अदालतबाट फैसला भइ फरार भएका ४८ र अनुसन्धानका क्रममा फरार भएका २२ गरी ७० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो । फरार प्रतिवादी पक्राउ यस वर्ष ३० प्रतिशतले वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनसार चालू आर्थिक वर्षको चैतसम्म कर्तव्य ज्यान सम्बन्धी १४ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा कर्तव्य ज्यानका १२ वटा मुद्दा दर्ता भएको थियो । नौ महिनामा प्रहरीले ७२ जना महिलासहित एक हजार ९१ पुरुष गरेर एक हजार १६३ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रवक्ता जोशीले नौ महिनाको अवधिमा भन्सार छली, चोरी, निकासी तथा पैठारीका सामान पक्राउ गरेर एक करोड २० लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । साथै, १२ जना मान्छेसहित १० वटा सवारी साधन पनि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । अपराध न्यूनीकरणसम्बन्धी सचेतना फैलाउनका लागि समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत ‘हाम्रा प्रहरीसँग हामी’, र ‘हाम्रा सन्ततिको भविष्य बचाउ’ अभियान प्रहरीले चालन गर्दै आएको छ । त्यस्तै, उहाँले विद्यालयसहित विभिन्न स्थानमा ४४० वटा जनचेतनाका कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख १ गते। सगरमाथाको आरोहण गर्ने क्रममा बिहीबार बिहान एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको कम्पनीले जानकारी दिएको छ। माप्य दुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेपछि तत्कालै मृत्यु भएको गाइड कुङगा शेर्पाले जानकारी दिनुभयो। मृतकको शव पोष्टमार्टेमका लागि हेलिकप्टरबाट लुक्ला ल्याएको उहाँले जानकारी दिनुभयो। इन्टरनेस्नल माउन्टेन गाइड (आइएमजी) कम्पनीबाट आरोहणका लागि गएका गाइड शेर्पाको लेख लगेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप विभिन्न मानपदवी एवम् विभूषण प्रदान गर्नुभएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा विभूषण एव्म मानपदवी प्रदान गर्ने क्रम जारी छ । यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानव पदवी वितरण गरिने कार्यक्रम छ ।सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरिएका थिए । समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ । तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको छ ।सुप्रसिद्ध प्रबल जनसेवाश्री राजनीतिज्ञ प्रदीप नेपाल, मरणोपरान्त पोष्टबहादुर बोगटी र मार्शलजुलुम शाक्यलाई र उज्ज्वल कीर्तिमय राष्ट्रदीप विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । प्रसिद्ध प्रबल जनसेवाश्री ३९, सुकीर्तिमय राष्ट्रदीप २८, सुप्रबल जनसेवाश्री १५८, कीर्तिमय राष्ट्रदीप ७, प्रबल जनसेवाश्री ३१३ र जनसेवाश्री १८५ जनालाई प्रदान गरिँदैछ ।त्यस्तै, गृह मन्त्रालयको विभूषण शाखा प्रमुख रमा आचार्यका अनुसार, विभिन्न आठवटा अलङ्कार १०७ जना र छवटा पदक ३७ जना सुरक्षाकर्मीलाई प्रदान गरिएको छ । सो अलङ्कार र पदकहरू गृह मन्त्रालयबाट नै वितरण गर्ने कार्यक्रम रहेको छ ।
गोकर्ण पौडेलतुलसिपुर, वैशाख १ गते । लाखौ रुपियाँ पर्ने ट्रकसँग बंगुर फर्म साट्दा अचम्मजस्तो लाग्छ मस्तबहादुरलाई । तुलसीपुर उपमहानगरपालिका १९ का घर्तीमगरले ट्रकसँग बंगुर फर्म साटेर सन्तुष्ट हुनुभएको छ । पछिल्लो समय दिनहुँ बढिरहने पेट्रोलियम पदार्थको मूल््यबृद्धि मासिकरुपमा बैंकमा बुझाउनु पर्ने किस्ता र ब्याजले हैरानी बेहोरिरहेका मस्तबहादुरले चलाइरहेको ट्रकसँग बंगुर फर्म साटेपछि भने अहिले राम्रो कमाई गर्नुभएको छ । मेहनतअनुसारको कमाई हुँदा उहाँ सन्तुष्ट रहेको बताउनुहुन्छ । तुलसिपुर उपमहानगरपालिका १९ पीपलडाँडामा रहेको उहाँको न्यू लालीगुँरास बंगुर फर्ममा अहिले माउ, सुंगुरको भाले र पाठापाठी गरी ८० भन्दा बढी बंगुर रहेका छन् ।मस्तबहादुरले भन्नुभयो, “आफूसँग ट्रक चलाउने सीप थिएन, सवारीसाधन भएर के गर्ने ? जे सीप, क्षमता छ त्यही गरौं भनेर ट्रकसँग बंगुर फर्म साटेको हुँ ।” ट्रकसँग साट्दा उहाँसँग त्योबेला फर्ममा १४ माउ, विर, पाठापाठी थिए । अहिले ६५ वटाभन्दा बढी पाठापाठी छन् । पाँच वर्ष पहिले डेढ लाख रुपियाँको लगानीबाट शुरु गरिएको फर्ममा अहिले सातलाख बढी लगानी भएको उहाँले बताउनुभयो । मलेसिया चार वर्ष र साउदीमा तीन वर्ष रोजगारीको सिलसिलामा समय बिताउनुभएका मस्तलाई अहिले यहीको काम र श्रमको मूल्य प्यारो लाग्न थालेको छ । उहाँले भन्नुभयो, “त्यहाँ अर्काको देश बिरामी पर्दा पनि काम गर्नैपथ्र्यो, मासिक ७० हजार रुपियाँभन्दा यहाँको पचास हजार रुपियाँको आम्दानी मलाई लाख रुपियाँ कमाएजस्तै भएको छ ।” यो व्यवसायमा घरपरिवार सबैको सहयोग मिलेको उहाँले बताउनुभयो । सबै मिलेर जहान परिवारसँग काम गर्न पाइएकाले खुशी र सन्तुष्ट छुँ घर्तीमगरले भन्नुभयो । अहिले आफ्नै गाउँघरमा व्यवसाय गरेर सबै कटाएर वार्षिक ६ लाखसम्म आम्दानी भइरहेको घर्तीमगरले बताउनुभयो । एउटा पोथीले वर्षमा १६ वटासम्म बच्चा जन्माउनेगरेको र एक पाठापाठीको मूल्य ४५ सयदेखि पाँच हजार रुपियाँमा बिक्री गर्दैआएको उहाँले बताउनुभयो । मासुभन्दा पाठापाठी बेचेरै बढी आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । घरमै दाना पिसाउनका लागि मिल राखेको उहाँले बताउनुभयो । “बजारबाट किन्दा महङ्गो पर्ने भएकाले घरमै व्यवस्थापन गरेको छुँ” उहाँले भन्नुभयो । राज्यबाट खोर सुधारका लागि सहयोग हुँदैआएको उहाँको भनाई छ । खोर सुधार कार्यक्रमअन्तर्गत गत वर्ष भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र घोराहीले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । ट्रकसँग बंगुर फर्म साट्दा शुरुमा केही मानिसले गिज्याउने गरेको भएपनि आफूले राम्रो गरेको अहिले आभास भएको घर्ती मगरले बताउनुभयो ।
काठमाडौं, वैशाख १ गते । धरहरा को काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणकाे काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणकाे रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन । तर, त्यही धरहरा पुनर्निर्माण पुनर्निर्माण रमन कन्ट्रन्सले अब डेढ वर्षको म्याद थपिदिए को सम्पूर्ण काम सकिने जनाएको छ । कन्ट्रक्सनका आयोजना प्रबन्धक नकर्मीका अनुसार आगामी डेढ वर्षका लागि म्याद थप गर्न सहरी विकास मन्त्रालयलाई पत्र पठाइएको छ । यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई ( आवास तथा भवन) का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले म्याद थपको विषयमा कुराकानी भइरहेको बताउनुभयो । ‘रमन कन्ट्रक्सनले म्याद थपको लागि लामो समम माग गरेको छ । तर, त्यति लामो समय म्याद थप गर्न सकिने अवस्था छैन । दशैँसम्म काम सक्न आग्रह गरेका छौँ,’ अधिकारीले भन्नुभयो । पुनर्निर्माणदशैँसम्म म्याद थप्ने कि भन्ने छ तर निर्णय भएको छैन ।’ धरहराको उत्तर–पश्चिमतर्फ म्युजियम राख्ने योजनानुसार हाल निर्माण कार्य चलिरहेको छ । भएको धरहराअघि केही संरचना सम्पन्न गर्न बाँकी नै रहेको प्रबन्धक नकर्मीले बताउनुभयो । त्यस्तै, टुँडिखेलदेखि खिचापोखरी हुँदै जाने सडक, ल्यान्डस्केपिङ्, बगैँचा ,पार्किङलगायत पूर्वाधार निर्माण गर्न बाँकी नै रहेको नकर्मीको भनाइ छ । साथै, स्थानीयले कुल देवताको पुजा गर्ने ठाउँ र सुन्धारामा पानीको व्यवस्थापनको काम पनि बाँकी रहेको छ । ‘पुरानो धरहरा खुल्ला राख्ने वा अन्य विकल्प प्रयोग गर्ने भन्ने निष्कर्ष निस्किएको छैन यसकारण पनि काममा ढिलाई भएको छ,’ नकर्मी भन्नुहुन्छ ‘सुन्धारामा पानी कहाँबाट ल्याउने र निष्कासन कसरी गर्ने भन्ने पनि टुङ्गो लागेको छैन ।’
सिराज खान नेपालगञ्ज, बैशाख १ गते । बाँके जिल्लामा स्थानीय तहको निर्वाचनका लागि सत्ता साझेदार दलहरुलाई गठबन्धन गर्न समस्या भएको छ । साझेदार दलहरुले नै विभिन्न पालिका नछोड्ने घोषणा गरेका कारण गठबन्धन गर्न सकस भएको दलका अगुवाहरुले बताएका छन् ।जनता समाजवादी पार्टी बाँकेले जिल्लाका चारवटा पालिकामा कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको, काँग्रेसले कोहलपुर र नेपालगञ्जमा दावी नछोडेको र माओवादीले पनि नेपालगञ्ज र कोहलपुर मागेकाले गठबन्धनमा समस्या आएको हो ।जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगञ्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनैपनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । काँग्रेस र माओवादीले पनि तीनै पालिकामा आफ्नो दावी गरेका छन् ।जसपाले चारवटा पालिकामा दावी नछाडेपछि काँग्रेसले पनि गत निर्वाचनमा जितेको राप्तीसोनारी, डुडुवा र दोस्रो भएको कोहलपुर र नेपालगञ्जमा कुनै पनि हालतमा दावी नछाड्ने काँगे्रस बाँकेका सचिव सुधान्सु कोइरालाले बताउनुभयो ।जसपाको निर्णयका कारण बाँकेमा आसन्न निर्वाचनका लागि गठबन्धन बन्ने नबन्ने विषयमा अन्यौल उत्पन्न भएको कोइरालाको भनाई छ । माओवादी केन्द्रले पनि नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा आफ्नो दावी नछोड्ने अडान लिएको माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले बताउनुभयो ।जसपा, काँग्रेस र माओवादीको अडान कायमै रहेमा नेकपा एकीकृत समाजवादीका लागि कुनै पनि पालिका बाँकी नरहने गुनासो सो दलका नेता अशोक कोइरालाको छ । तर सत्ता साझेदार दलहरुवीच सहमति बन्ने र गठबन्धन बनाएर निर्वाचनमा जाने अवस्था आउनेमा आफु आशावादी रहेको माओवादी केन्द्रका संयोजक तुफानले बताउनुभयो ।
काठमाडौँ, बैशाख १ गते । इङ्लिस महारथि म्यानचेस्र सिटी र लिभरपुृल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो । अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा पुगेको हो । सिटीले पहिलो लेग १–० गोलले जितेको सिटी बराबरीसँगै समग्रमा १–० गोलले विजयी भयो । यसैगरी पहिलो लेगमा ३–१ गोलले जितेको लिभरपुल समग्रमा ६–४ गोलले विजयी भयो । एट्लेटिकोको मैदानमा सिटीले बल पोसेसन अब्बल राखेपनि गो्ल फर्काउन सकेन । खेलको अन्तिममा १० खेलाडीमा समेटिएको एट्लेटिकोको गोल फर्काउने प्रयास पनि सफल भएन । यसैगरी गोलको बर्षा भएको खेलमा घरेलु टोली लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गर्नुभयो । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गर्नुभयो । पष्हिलो लेगको फराकिलो हार नै बेन्फिकाका लागि महंगो बन्यो । यससँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलमा लिभरपुलले र स्पेनिक क्लब भिल्लारियल तथा म्यानचेस्टर सिटी र अर्को स्पेनिस क्लब रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलको पहिलो लेग अप्रिल २६ र दोस्रो लेग मे ३ तारिख हुनेछ । फाइनल खेल भने मे २८ तारिख खेलिनेछ । एजेन्सी
काठमाडौं, वैसाख १ गते । बेच्लर अफ माउन्टेनेरिङ स्टडिजमा अध्ययनरत आठौं सेमेस्टारका विद्यार्थीहरुले हिमलुङ हिमाल (७१२६ मिटर) को आरोहण गर्ने भएको छ । १५ जना विद्यार्थीहरुले पर्यटन विभागबाट अनुमति लिएर आधारशिविरतर्फ लागेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) ले हिमालको अध्ययन र अनुसन्धान गर्ने गरी चार वर्ष अघिदेखि पठनपाठन शुरु गरेको छ । एकेडेमीले स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीका लागि सात हजार मिटरमाथिको हिमाल अनिवार्य आरोहण गर्नुपर्ने पाठ्यक्रममै समावेश गरेपछिको यो पहिलो आरोहण हो । आरोही विद्यार्थीको टोलीलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड गेल्जे शेर्पाले आरोहणमा नेतृत्व गर्ने एकेडेमीका प्रशासकीय प्रमुख उत्तम भट्टाराईले जानकारी दिनुभयो । टोलीमा एकेडेमीका सुपरभाइजर डा. वेहरोउज मोघाडेसीको समेत सहभागिता रहेको छ । एकेडेमीले स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीका लागि सात हजार मिटरमाथिको हिमाल अनिवार्य आरोहण गर्नुपर्ने पाठ्यक्रममै समावेश गरेकाे छ । एकेडेमीबाट यो पहिलो आरोहण रहेको र प्रत्येक वर्ष नियमित आरोहण गर्नुपर्ने भट्टाराईले जानकारी दिनुभयो । विश्वमै पहिलो पटक हिमाल अध्ययनसँग सम्बन्धित रहेर एकेडेमीले त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर चार वर्ष अघिदेखि बेच्लर अफ माउन्टेन स्टडिस र स्नातोकोत्तर तह विषयको अध्ययन शुरु गराएको हो । नेपालमा पर्वतारोहण सम्बन्धी प्रशिक्षण र अध्ययन गराउने संस्था यही मात्र हाे ।