• १६ असार २०८१, आइतबार

ताप्लेजुङका अधिकांश स्थानीय तहमा गठबन्धनको जित

blog

नवनिर्वाचित फुङ्लिङ नगर प्रमुखसहित विजयी र्‍यालीका सहभागी। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ३ गते। ताप्लेजुङका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धन विजयी भएको छ। जिल्लाका नौमध्ये पाँच स्थानीय तहमा गठबन्धन दुवै मुख्य पद तथा दुई तहमा एक प्रमुख र एक उपप्रमुख पदमा विजयी भएको हो।  

चुनावी नतिजा अनुसार जिल्लाको मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ, मेरिङ्देन, मिक्वाखोला र सिरिजङ्घा गाउँपालिकामा गठबन्धन दुवै पदमा विजयी भएको छ। यस्तै फुङ्लिङ नगरपालिकामा भने प्रमुख र सिदिङ्वा गाउँपालिकामा उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

  जिल्लाको मैवाखोला गाउँपालिकामा एमालेको विरासत भत्काउँदै अध्यक्ष पदमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का जिल्ला सहइन्चार्जसमेत रहनुभएका युवा नेता विजयप्रकाश वनेम लिम्बू दुई हजार ६०९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। वनेमले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका राजनकुमार थक्लुङलाई पराजित गर्नुभएको हो। 

थक्लुङले दुई हजार ५२ मत मात्र प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कमलकुमारी लिम्बूले दुई हजार ५१४ मत ल्याएर निर्वाचित हुनुभएको छ। लिम्बूले दुई हजार १०१ मत प्राप्त गर्नुभएकी एमालेकी कौशिला थक्लुङलाई पराजित गर्नुभएको हो। 

विगत बहुदल कालदेखि नै एमाले विजयी हुँदै आएको मैवाखोला गाउँपालिकामा यसपटक गठबन्धनले विजयी भएको हो। एमाले सचिव योगेशकुमार भट्टभराईको गृह क्षेत्र पनि यही गाउँपालिका हो भने तत्कालीन एमाले महासचिव स्वर्गीय मदनकुमार भण्डारी जन्मनुभएको गाउँ पनि यही गाउँपालिका हो। 

त्यस्तै मेरिङ्देन गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका युकहाङबिर हाङ्गाम (डम्बर) दुई हजार ८६९ मतका साथ विजयी हुनुभएको छ। एमालेका केदारजङ्ग चोङ्बाङलाई (दुई हजार ७७० मत) हाङ्गामले पराजित गर्नुभएको हो। उपाध्यक्षमा साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद श्रेङ चोङबाङ विजयी हुनुभएको छ। उहाँले दुई हजार ५९८ मत ल्याउँदा प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले एकहजार ६५७ मत मात्र प्राप्त गर्नुभएको थियो। 

फक्ताङ्लुङ गाउँपालिकामा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का राजन लिम्बू (मुक्ति) अध्यक्षमा र कांग्रेसका रवीन साम्रा लिम्बू उपाध्यक्षमा विजयी हुनुभएको छ। अध्यक्षमा निर्वाचित लिम्बूले दुई हजार ६६० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गर्नुभएको थियो। उपाध्यक्ष साम्राले दुईहजार ३५८ मत ल्याउनुभएको थियो। एमालेकी शान्तिमाया लिम्बू (पौडेल) ले लिम्बूले दुईहजार २१२ मत प्राप्त गर्नुभएको थियो।

यसैगरी सिरिजङ्घा गाउँपालिकामा तीन हजार ३४३ मत ल्याएर लालकृष्ण चौहान अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। चौहान कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो। एमालेका सन्तोषककुमार चाम्लिङ (तीन हजार २७५ मत) लाई पराजित गर्नुभएको हो। उपाध्यक्षमा पनि गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका डा.चित्रकुमार माबो निर्वाचित हुनुभएको छ। माबोले तीन हजार ४६९ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी एमालेकी तुलासा बस्नेतले दुई हजार ३९० मत मात्र ल्याउनुभएको छ।

यता फुङ्लिङ नगरपालिका प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन भारी मतसहित विजयी हुनुभएको छ। मादेनले छ हजार १७९ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका छत्रपति प्याकुरेलले तीन हजार ८९२ मत मात्र प्राप्त गर्नुभएको थियो। फुङ्लिङको उपप्रमुखमा भने एमालेकी भीमादेवी ओझा निर्वाचित हुनुभएको छ। ओझाले चार हजार २७७ मत ल्याएर विजयी हुनुभएको हो। गठबन्धनका उम्मेदवार बमबहादुर भट्टराईले तीन हजार ८४४ मत प्राप्त गर्नुभएको थियो।

सिदिङ्वा गाउँपालिकामा तीन हजार ८५ मत ल्याएर एमालेका मानबहादुर राई अध्यक्षमा निर्वाचित हुँदा माओवादी केन्द्रकी नेतृ कृष्णकुमारी कडरिया (बन्दना) उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। कडरियाले आफ्ना प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई एक मतले पछि पार्दै निर्वाचित हुनुभएको हो। कडरियाको पक्षमा दुई हजार ३७६ मत रहेको थियो भने ताम्लिङले दुई हजार ३७५ मत पाउनुभएको थियो।

उता पाथीभरा याङ्वरक र आठराई त्रिवेणी गाउँपालिकामा भने एमालेले विजयी हासिल गरेको छ। पाथीभरा याङ्वरकमा दुई हजार ७७७ मत प्राप्त गरी एमालेका केशरकुमार सुब्बा अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँले गठबन्धन तर्फका कांग्रेसका प्रत्यासी राम थेबेलाई पराजित गर्नुभएको हो। थेबेले दुई हजार ७४२ मत ल्याउनुभएको थियो। उपाध्यक्षमा पनि एमालेकै रनमाया गुरुङ तीन हजार १८६ मतका साथ विजयी हुनुभएको छ। माओवादी केन्द्रका कुमार सुब्बा लिम्बूले एक हजार ७९१ मत प्राप्त गर्नुभयो।

त्यस्तै आठराई त्रिवेणीमा एमालेको दीपेन पोमु तीन हजार ३६ मत ल्याएर विजयी हुनुभएको छ। गठबन्धनतर्फ कांग्रेसका विश्वनाथ सिटौला (दुई हजार ५२६) लाई पोमूले पराजित गर्नुभएको हो। उपाध्यक्षमा पनि एमालेकी शान्ताकुमारी आङ्बुहाङ निर्वाचित हुनुभएको छ। आङ्बुहाङले दुई हजार ८१९ ल्याउँदा गठबन्धनतर्फका माओवादीका प्रजिन हाङ्बाङले दुई हजार ४१२ मत मात्र ल्याउनुभएको थियो।