• १५ वैशाख २०८१, शनिबार

नपा र गापाको परिणाम आउँदै,पोखरा महानगरको मतगणनामा ढिलाइ

blog

कास्की, जेठ ४ गते  । पोखरा महानगरपालिकाको मतगणना शनिबारदेखि निरन्तर चलिरहेको छ । यहाँका ३३ वडामध्ये अहिलेसम्म सातवटा वडाको अन्तिम परिणाम आइसकेको छ । पोखरामा एक लाख ४३ हजार २१३ मत खसेको थियो । अहिलेसम्म २३ हजार हाराहारी मतगणना भएको छ । 

मतगणना निकै ढिला भएको गुनासो बारम्बार आउने गरेको छ । मतगणना कछुवाको गतिमा हुँदा मतगणना स्थलमा परिणाम सुन्न आएका सर्वसाधारण आक्रोशित हुने गरेका छन् । १० टोलीले ६ ठाउँमा मतगणना गरिरहेको आयोगले जानकारी दिएको छ ।

कास्की समाचारदाताका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले कहिले एक घण्टामा त कहिले तीन घण्टाको फरकमा मत परिणाम सुनाउने गरेको छ । मुख्य निर्वाचन अधिकृतका रूपमा खटिएका जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले राजनीतिक दलका कारण पटक–पटक मतगणना अवरुद्ध हुन गएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलका प्रतिनिधिले आफ्नो पार्टीको भोट पहिला भन्दै कराउँछन् । वडापिच्छे नयाँ प्रतिनिधि आउनुहुन्छ । समस्या भइरहेको हुन्छ ।” 

उहाँले स्वचालित रूपमा जेनेरेटर नहुँदा पनि मतगणना ढिला भएको बताउनुभयो । पोखरामा छिनछिनमा पानी पर्ने र बिजुली जाने हुँदा जेनेरेटर चलाउन समय खर्च भएको भन्दै उहाँले भन्नुभयो, “निर्वाचन आयोगको एउटा मापदण्ड छ । आयोगले मापदण्ड परिमार्जन गरेर दुई हजार मतको एउटा सिफ्ट बनाएको छ । दुई हजार मत गन्न १५ घण्टा समय लागेको छ । यसअघि कर्मचारी एउटा सिफ्टमा आठ घण्टा मतगणनामा बस्थे । अहिले दुई हजार मत गणक कर्मचारीले १३३ रुपियाँ भत्ता पाउँछन् ।”

यति थोरै रकमका लागि १५ घण्टा खटिन कर्मचारी नमानेको उहाँको भनाइ छ । पोखरामा मतगणना गर्न बिहान ६ देखि बेलुका ६ बजेसम्म एउटा सिफ्ट र त्यसपछिको समयलाई अर्को सिफ्टका रूपमा राखिएको छ । उहाँका अनुसार शनिबार र आइतबार छवटा मतगणना स्थलमा ४८ जना कर्मचारी खटिएका थिए । मतगणना ढिलाइ हुँदा गणना स्थल थप्न सकिन्छ कि भन्नेबारे खोजी गरेको उहाँले बताउनुभयो । अहिले उपत्यका विकास समितिका दुई हल, जिल्ला समन्वय समितिका दुई हल र एउटा कोठामा मतगणना गर्ने व्यवस्था गरिएको छ । 

शिक्षामन्त्रीको वडामा स्वतन्त्र निर्वाचित

बागलुङ समाचारदाताका अनुसार बागलुङ नगरपालिका–१२, अमलाचौरमा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । पाँचदलीय गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको हो । 

शर्माले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गुरुदत्त पाठकलाई पाँच सय ३७ मतान्तरले पराजित गर्नुभएको हो । शर्माले एक हजार ३३८ मत प्राप्त गर्दा पाठकले ८०१ मत प्राप्त गर्नुभएको थियो ।  अध्यक्षमा सत्तारूढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले १७८ मत प्राप्त गर्नुभएको छ । विजयी शर्मा यसअघि नेपाली काँग्रेसमा हुनुहुन्थ्यो । अमलाचौर शिक्षामन्त्री देवेन्द्र पौडेल, राष्ट्रिय सभा सदस्य दीनानाथ शर्मा र माओवादी केन्द्र बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माको गृहवडा हो । त्यहाँ सत्ता गठबन्धनले जनमोर्चाका उम्मेदवारलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । 

फलेवासमा गठबन्धन विजयी

पर्वत समाचारदाताका अनुसार पर्वतको फलेवास नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका गङ्गाधार तिवारी प्रमुख र माओवादी केन्द्रकी शोभा क्षत्री उपप्रमुखमा विजयी हुनुभएको हो ।

तिवारीले एक हजार ३६२ मतको अन्तरले एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्नुभएको हो । तिवारीले सात हजार ७०० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शर्माले छ हजार ३३८ मत प्राप्त गनुभएको छ । त्यसैगरी उपप्रमुखमा शोभाकुमारी क्षेत्रीले छ हजार ३२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी एमालेकी मञ्जु अधिकारीले छ हजार ५७ मत प्राप्त गर्नुभएको छ । 

फलेवास नगरपालिकाका ११ वडामध्ये वडा नम्बर २, ५, ७, ८ र ११ मा एमाले विजयी भएको छ भने वडा नम्बर १, ३, ४, ६, ९ र १० मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै पर्वतको महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । नेकपा (एमाले)का उम्मेदवार ईश्वरी भुसाल र धनशोभा विक क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्ष पदमा एमालेका भुसालले दुई हजार ७४३ मत ल्याउँदा काँग्रेसका अशोक उच्चै ठकुरीले दुई हजार ३०६ मत ल्याउनुभएको छ ।

उपाध्यक्ष पदमा विकले दुई हजार ७०६ मत ल्याउँदा समाजवादीका उम्मेदवार विराज हमालले एक हजार ९६९ मत ल्याउनुभएको छ । महाशिलाका छवटा वडामध्ये वडा नम्बर ५, लुङ्खुदेउरालीमा नेपाली काँग्रेसको जित भएको छ भने बाँकी सबै वडामा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । यसैगरी पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी हुनुभएको छ ।

मल्ल तीन हजार ८२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठ तीन हजार ३८० मत ल्याएर पराजित हुनुभएको छ । उपाध्यक्षमा भने नेकपा (एमाले)का उम्मेदवार यामकुमारी राना विजयी हुनुभएको छ । रानाले तीन हजार ७७७ मत ल्याउनुभएको छ । उपाध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका जानकी प्रधान तीन हजार ४५८ मत ल्याएर पराजित हुनुभयो । यहाँको वडा नम्बर १ र ७ मा नेपाली काँग्रेस विजयी भएको छ भने बाँकी पाँच वडामा नेकपा (एमाले)ले जितेको छ ।

धवलागिरि अध्यक्षमा काँग्रेस 

म्याग्दी समाचारदाताका अनुसार यहाँको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । धवलागिरिमा काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । 

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रेमप्रसाद पुन तीन हजार १२३ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ भने उपाध्यक्षमा माओवादीका रेशम पुन दुई हजार ८१२ मत प्राप्त गरी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । 

अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)की उम्मेदवार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा एमालेका प्रगति कार्कीले दुई हजार ६१८ मत पाउनुभएको निवाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सातवटा वडा रहेको धवलागिरिमा काँग्रेसले दुई, एमालेले तीन र माओवादीले दुईवटा वडामा अध्यक्ष जितेका छन् । यहाँका ६ स्थानीय तहमध्ये चारवटाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ती निर्वाचित हुनुभएको छ ।

त्यस्तै रघुगङ्गाको अध्यक्षमा काँग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी हुनुभएको छ । यसैगरी मङ्गलाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ । बेनी नगरपालिकाको प्रमुखमा एमालेका सुरज केसी र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने विजयी हुनुभएको छ । अन्नपूर्ण गाउँपालिकामा भने विवाद भएपछि स्थगित भएको मतगणना मङ्गलबारबाट सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

माओवादीले पल्टायो पासा 

गोरखा समाचारदाताका अनुसार गोरखामा नेकपा (माओवादी केन्द्र)ले जिल्लाका चार स्थानीय तहमा विजय हासिल गरेको छ । सोमबार सार्वजनिक नजिताअनुसार बारपाक र सुलीकोट, शहीद लखन र भीमसेनमा माओवादी विजयी भएको हो । अजिरकोटमा आइतबार नै परिणाम आइसकेको छ । नेपाली काँग्रेस अहिलेसम्म आरुघाटमा मात्र विजयी भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा दुई नगरपालिकासहित नौ स्थानीय तह जितेको काँग्रेसले अहिले एउटा मात्र जितेको छ । आरुघाट गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

काँग्रेसबाट उम्मेदवार बनेका राजु गुरुङ नेकपा (एमाले)का उम्मेदवार कृष्ण नेपालीलाई हराएर अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष गुरुङले पाँच हजार ५५६ मत ल्याउँदा नेपालीको चार हजार ८३३ मत आएको छ । उपाध्यक्षमा पनि काँग्रेसकै कल्पना नेपाली विजयी बन्नुभएको छ । १० वटा वडा रहेको आरुघाटमा वडा नम्बर १, २, ३, ७ र ८ नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर ४, ५, ६ र १० मा एमाले र ९ मा माओवादी केन्द्र विजयी भएको छ ।

बारपाक सुलीकोट गाउँपालिकामा पुनः नेकपा (माओवादी केन्द्र) विजयी बनेको छ । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भट्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ । काँग्रेसका उम्मेदवार जितबहादुर घलेलाई हराउँदै उहाँ विजयी बन्नुभएको हो । भट्टले पाँच हजार ७१९ मत ल्याउनुभएको छ भने घलेको चार हजार ८६४ मत आएको छ । उपाध्यक्षमा माओवादी केन्द्रबाट सनमाया गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले पाँच हजार ७६५ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसकी उम्मेदवार लेखमाया रानाले चार हजार ५७५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी विजयी भएको छ । यसअघि काँग्रेसले जितेको उक्त गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बन्जारा विजयी हुनुभएको छ । उहाँले पाँच हजार ६५१ मत ल्याएर काँग्रेसका उम्मेदवार रोशन गुरुङलाई हराउनुभएको हो । गुरुङले पाँच हजार १७६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा भने काँग्रेसकी अमृता वस्ती विजयी बन्नुभएको छ । वस्तीले पाँच हजार १४७ मत ल्याएर उपाध्यक्षमा पदमा विजयी हासिल गर्नुभएको हो । माओवादी केन्द्रकी उम्मेदवार जुनुमाया श्रेष्ठको भने चार हजार ९२७ मत आएको छ । 

यसैगरी शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रले विरासत जोगाएको छ । अध्यक्षमा रमेशबाबु थापामगर र उपाध्यक्षमा इन्दिरा तिवारी पुनः विजयी हुनुभएको छ । मगरको पाँच हजार ४७४ मत आएको छ । तिवारीले भने चार हजार ९९६ मत पाउनुभएको छ । काँग्रेसका अध्यक्षका उम्मेदवार नारायण लामिछानेको चार हजार ४३२ मत आएको छ । यसैगरी उपाध्यक्षकी प्रत्यासी शर्मिला श्रेष्ठले चार हजार ४३२ मत ल्याउनुभएको छ । जिल्लाको अजिरकोट गाउँपालिकामा भने यसअघि नै माओवादी केन्द्रका उम्मेदवार दीपक देवकोटा र अनिता भुजेल विजयी भइसक्नुभएको छ । 

भिमादमा एमाले 

तनहुँ समाचारदाताका अनुसार नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनलाई पराजित गर्दै भिमाद नगरपालिकाको प्रमुख र उप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको छ । प्रमुखमा दधिराज सुवेदी आठ हजार १२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । सुवेदीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत पाउनुभयो ।

यस्तै उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार ६६७ मत प्राप्त गरी विजयी हुनुभयो । खनाल यसअघि पनि उपप्रमुख नै हुनुहुन्थ्यो । खनालका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका मिलन आलेले सात हजार २०५ मत पाउनुभयो ।  भिमाद नगरपालिकाको वडा नम्बर २, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ । नेपाली काँग्र्रेसले १, ४, ५, ६ जितेको छ । 

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)ले जितेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो । अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी काँग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिनुभयो । 

उपाध्यक्षमा नेकपा (एमाले)कै राधादेवी अधिकारी चार हजार ४८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले दुई हजार ७४७ मत प्राप्त गर्नुभएको छ । पाँच वडामध्ये तीनवटामा एमाले र दुई वडामा काँग्रेसले विजय हासिल गरेको छ । 

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । एमालेका सुरेन्द्र थापाले माओवादी केन्द्रका पूर्णसिंह थापालाई ६३ मत अन्तरले पराजित गर्नुभयो । सुरेन्द्रले तीन हजार २२९ मत प्राप्त गर्नुभयो भने पूर्णसिंहले तीन हजार १६६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी पञ्चमाया गुरुङ दुई मत अन्तरले विजयी हुनुभयो ।

पञ्चमायाले तीन हजार २७ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रकी करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गर्नुभयो । छवटा वडा रहेको बन्दीपुरमा एमालेले १, ४ र ६ वडा जितेको छ भने माओवादी केन्द्रले २ र ५ वडा जितेको छ । काँग्रेसले वडा नम्बर ३ मात्रै जितेको छ । 

हुप्सेकोटमा काँग्रेस विजयी

कावासोती समाचारदाताका अनुसार पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको छ । छवटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको हो । हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा लक्ष्मीदेवी पाण्डे छ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७१४ मतान्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

एमालेका चेतबहादुर रानाले पाँच हजार ७४१ मत ल्याउनुभएको छ । उपाध्यक्षमा काँग्रेसका पूर्णसिंह राना छ हजार ७०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मनी पाण्डेले पाँच हजार ७३८ मत ल्याउनुभएको छ । पूर्वी नवलपरासीका आठ स्थानीय तहमध्ये तीन पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । बौदीकाली र बुलिङटारमा एमाले विजयी भएको छ भने हुप्सेकोटमा काँग्रेस विजयी भएको छ । 

मादीमा काँग्रेस, अन्नपूर्णमा एमाले

कास्की समाचारदाताका अनुसार कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका देवीजङ्ग गुरुङ विजयी हुनुभएको छ । उहाँले छ हजार ५८४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेन्द्र गुरुङले पाँच हजार ६५० मत पाउनुभयो । उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङ विजयी हुनुभयो । कल्पनाले पाँच हजार ८२८ मत प्राप्त गर्दा गठबन्धनका लालबहादुर गुरुङले पाँच हजार ६१६ मत प्राप्त गर्नुभयो । मादीमा माओवादी र नेपाली काँग्रेसले तालमेल गरेका थिए । मादीको वडा नम्बर १, २, ३, ५, ११ नम्बर वडामा काँग्रेस, ४, ६, ८, ९ मा नेकपा (एमाले), वडा नम्बर ७ र १२ मा माओवादी विजयी भएको छ । अन्नपूर्ण गाउँपालिकामा नेकपा (एमाले)का विष्णु केसी विजयी हुनुभएको छ । उहाँ काँग्रेसका युवराज कुँवरलाई ७६३ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

केसीले छ हजार ७२२ मत प्राप्त गर्दा काँग्रेसका कुँवरले पाँच हजार ९५९ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)की चन्द्रकला अधिकारी छ हजार ६०८ मत प्राप्त गर्दै विजयी हुनुभयो । नेपाली काँग्रेसकी खिमकुमारी गुरुङलाई छ हजार १४ मत प्राप्त भयो । कास्कीको रूपा र अन्नपूर्ण गाउँपालिकामा नेकपा (एमाले), माछापुच्छे र मादीमा नेपाली काँग्रेसले पालिका प्रमुखमा जित निकालेका हुन् । माछापुच्छे गाउँपालिकामा अध्यक्षमा काँग्रेसका मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो । रूपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी हुनुभएको हो ।