नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेल सञ्चालन पोखरामा नै गर्दा उपयुक्त हुने सुझाव दिइएको छ। पोखरा रङ्गशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाइडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले सुरक्षासहित अन्य कारणले गर्दा पोखराभन्दा अन्यत्र उक्त प्रतियोगिता सञ्चालन गर्न मनासिब नभएको निष्कर्ष निकालिएको छ।
मदन पुरस्कार २०७८ का लागि आठवटा पुस्तक छानिएका छन्। मदन पुरस्कार गुठीले सोमबार २९९ पुस्तकमध्ये आठ पुस्तकको सूची सार्वजनिक गरेको छ। सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ‘गृष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सतीस् इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छन्। यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेको छ । मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सिलर श्रम र मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबी, साउदी अरेबियाको जेद्दा र ओमनको स्कटमा राजपत्राङ्कित द्वितीय श्रेणीका शाखा अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने गरेको छ ।
गुल्मीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । बुधबार मात्रै गुल्मी जिल्लामा ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । बुधबार ७७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । यो सङगै जिल्लामा कुल सक्रिय संकमितको संख्या ११२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनका लागि ठाउँको खोजी सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको नेतृत्वमा गएको टोलीले पोखरामा कलेजका लागि उपयुक्त विभिन्न ठाउँको बुधबार अवलोकन गरेको हो । सो अवसरमा मन्त्री श्रेष्ठले चालू आर्थिक वर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिनुभयो । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफूले प्राथमिकतामा राखेको श्रेष्ठले बताउनुभयो ।
सानिमा बैङ्कले विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट दुई अर्ब ५४ करोड रुपियाँ (दुई करोड डलर) विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभाव बढेपछि बैङ्कले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउने प्रयास अघि बढाएको थियो । यसरी प्राप्त ऋण बैङ्कले साना तथा मmभौला व्यवसायमा कर्जा प्रवाह गर्न उपयोग गर्ने जनाएको छ । आईएफसीबाट प्राप्त ऋणले तरलताको असहज परिस्थितिमा कर्जा प्रवाहका लागि सहजता हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताउनुभयो ।
सरकारका नियमनकारी निकायले पहिलो पटक बुुधबार एउटै समयमा एकैसाथ आआफ्नो क्षेत्रमा बजार अनुगमन गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र यस मातहतका कार्यालय, देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाले एकैसाथ बजार अनुगमन गरेका हुन् ।
भौगोलिक रूपमा विकट मानिने सर्लाहीको उत्तरी चुरे भेगमा पछिल्लो समय चिटिक्क परेका घर निर्माण हुन थालेका छन्। आधुनिकताले गाउँसम्म छुन थालेपछि स्थानीयको रहनसहन र बसाइँमा निकै परिवर्तन आउन थालेको छ। केही वर्षअघिसम्म स–साना झुपडी मात्रै देखिने चुरे भेगमा अहिले भने धमाधम चिटिक्क परेका घर बन्न थालेका हुन्। चुरे भेगसँग जोडिने जिल्लाको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाका डाँडा–पाखामा बस्तीमा दर्जनौँ पक्की घरसमेत बनिसकेका छन्। “विगत दुई/चार वर्षभित्र यहाँको अवस्था धेरै नै फेरिएको छ,” चुरे भेगस्थित लालबन्दी नगरपालिका–१५, माथिल्लो देउरालीका नरहरि रायले भन्नुभयो, “धेरैले पक्की घर बनाइसके, पक्की नहुनेले पनि टायलको छानो हालेर काठ पातकै चिटिक्क परेका घर
पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वतधाममा आउने भक्तजनको सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्बीको मुख्य रोजाइमा शाश्वतधाम पर्ने गरेको छ ।
वरिपरि गोठै गोठको छरछिमेक। चारैतिर हरियाली तथा मडारिएको कुहिरो। चरीको चिरबिर आवाज, गोठालाहरूले बजाउने बाँसुरीको सुरिलो धुन। गाईभैँसी, भेडा/बाख्रा र घोडा/खच्चड चरनमा सराबरी। एउटा छुट्टै समाज, एउटा पृथक संस्कार। मानव समाजको इतिहास हराइसकेको आदिम मानवहरूको यायावर (फिरन्ते) जीवनजस्तो लाग्ने फरकपन। विश्व आधुनिक पुँजीवादी युगमा प्रवेश गरेको छ तर यहाँका अधिकांश मानिस पुरानै पेसामा रहेका छन्। मौसमअनुसार पशुचौपायलाई लेक/बेँसी गराउँछन् र जहाँ चरिचरण धेरै छ, त्यहीँ पुगेर बस्तुभाउ चराउँछन्। लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको जनजीवन सकसभित्र हर्षका भाव अनुभूति गरी यसरी नै चलिरहेको छ।
कपुरकोट बजार पहिरोको जोखिममा परेको छ। खारा पहिरोका कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार र राप्ती लोकमार्ग बर्सेनि भासिँदै गएका छन्। पहिरोका कारण कपुरकोट बजारका चार दर्जनभन्दा बढी घरधुरी अति जोखिममा रहेका छन्। कपुरकोट गाउँपालिका–२, कपुरकोटका केशव शर्माले दिनप्रतिदिन जमिन भासिँदै गएपछि स्थानीयवासी त्रसित भएको बताउनुभयो।
बैतडीका छवटा स्थानीय तहका पदाधिकारीले एक वर्षमा तीन करोड रुपियाँ बराबरको खाना खाएका छन् । नियमअनुसार पाउने सेवा सुविधा बुझेर पनि थप तीन करोड रुपियाँ बराबरको खाना खाएर नियमविपरीत खर्च गरेको पाइएको छ ।
आदर्श गाउँपालिका–१, बाहुनटाँकका नवीन खड्का कक्षा ३ मा पढ्छन् । अरू दिन विद्यालय गए पनि शनिबारको बिहान ७ बजे पढाइ शिविरमा सहभागी बन्छन् । पढाइ शिविरमा सहभागी हुनुअघि पढाइमा मन नलगाउने, बोल्न लजाउने नवीन विद्यालयबाट फर्केपछि बिदाको समय गाउँघर डुलेरै बिताउँथे । नवीनकी आमा कल्पनाका अनुसार उनी अहिले निरन्तर विद्यालय जान्छन् । पढ्न रुचाउँछन् । निर्धक्क बोल्न र प्रश्नको जवाफ दिन्छन् । घरको पढाइ कुनामा आफूले बनाएका चित्र र पुस्तक जतन गरी राख्छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले आगामी पाँच वर्षभित्र गाउँपालिकाका सबै घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराउने बताउनुभएको छ । उहाँका अनुसार हाल गाउँपालिकाको वडा नम्बर ५ मा रहेका करिब ५० घरधुरीले मात्रै राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् प्रयोग गर्दै आएका छन् ।
भरतपुर केन्द्रीय अस्पतालले एक वर्षमा सामाजिक सेवा एकाइमार्फत नौ हजारभन्दा बढी जनाले निःशुल्क उपचार सेवा पाएका छन्। भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले गत आर्थिक वर्ष २०७८/७९ मा अस्पतालबाट नौ हजार ५२९ विपन्न नागरिकले उपचार सेवा पाएको जानकारी दिनुभयो। उहाँले विपन्न, गरिब तथा आकस्मिक उपचारमा आएका बिरामीका लागि तीन करोड रुपियाँभन्दा धेरै खर्च भएको बताउनुभयो।