• १३ असोज २०८१, आइतबार

शाश्वतधाम पर्यटकीय क्षेत्र

blog

कावासोती समाचारदाता 

कावासोती, साउन २६ गते । पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वतधाममा आउने भक्तजनको सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्बीको मुख्य रोजाइमा शाश्वतधाम पर्ने गरेको छ । 

उद्योगपति विनोद चौधरीको लगानीमा निर्मित सो धाममा ओमकार परिवारभित्र रहेका हिन्दु, बौद्ध र जैन धर्मावलम्बीले समेत एकै स्थानमा एकै पटक दर्शन गर्ने व्यवस्था शाश्वतधामले मिलाएको छ । सर्वसाधारणका लागि खुला गरिएको पाँच वर्षको अवधिमा ४२ लाख भक्तजनले शाश्वतधाममा अवलोकन गरेका छन् ।

पछिल्लो समय महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्नेहरू यहाँ प्रवेश गर्नु अनिवार्यजस्तै भएको छ । दक्षिण भारतीय शैलीको यो मन्दिर र यससँगै रहेको पार्क मुख्य आकर्षण रहेको छ । पाल्पा रामपुरकी ५४ वर्षीया सरस्वती घिमिरे भन्नुहुन्छ, “शाश्वतधामको बारेमा सुनेकी थिएँ, देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ ।”

नारायणगढवाट २० किलोमिटर पश्चिम दुम्कौलीमा चौधरी समूहको ८० बिघा क्षेत्रफलमा फैलिएको उद्योग ग्रामनजिकै धाम पनि रहेको छ । महेन्द्र राजमार्गसँग जोडिएको सात बिघा क्षेत्रफलमा यो मन्दिर फैलिएको छ । यो मन्दिर निमार्ण गर्न १४ वर्ष समय लागेको थियो । 

शाश्वतधाम परिसरमा पछिल्लो पटक बुद्धिस्ट सेन्टरसमेत स्थापना गरिएको छ । बुद्ध धर्मको इतिहास झल्काउने सङ्ग्रहालयसमेत यसै परिसरभित्र रहेको छ । वैभवयुक्त एकम्बरेश्वर मन्दिर यहाँको प्रमुख आकर्षण हो । 

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि यो महत्त्वपूर्ण मानिएको छ । हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिङ्ग रहेको छ ।

पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतीदेवीलगायतका थुप्रै हिन्दु देवी–देवताका प्रतिमा एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक सङ्ग्रहालय 

आदिको अवलोकनबाट जो कोही रोमाञ्चित हुने गरेका छन् । यहाँ कक्षा ६, ७, ८ र ९ कक्षासम्म संस्कृत मूल विषय राखेर अध्ययन अध्यापन हुने गरेको छ । शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभई स्थानीयवासीलाई रोजगारको अवसरसमेत प्रदान गरेको छ । 

धामको दक्षिण क्षेत्रमा १३२ होटल तथा नास्ता घर सञ्चालनमा छन् । स्थानीयवासीले धाममा आउने पर्यटकलाई लक्षित गरी व्यापार गर्न पाएका छन् र दैनिकी चलाउन सहज भएको छ । देवचुली नगरपालिकाको पर्यटकीय क्षेत्रको मुख्य पहिचान नै शाश्वतधाम बनेको छ ।