• २३ असार २०८१, आइतबार

साढे नौ हजारभन्दा बढीलाई निःशुल्क उपचार

blog

चितवन, साउन २६ गते । भरतपुर केन्द्रीय अस्पतालले एक वर्षमा सामाजिक सेवा एकाइमार्फत नौ हजारभन्दा बढी जनाले निःशुल्क उपचार सेवा पाएका छन्। 

भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले गत आर्थिक वर्ष २०७८/७९ मा अस्पतालबाट नौ हजार ५२९ विपन्न नागरिकले उपचार सेवा पाएको जानकारी दिनुभयो। उहाँले  विपन्न, गरिब तथा आकस्मिक उपचारमा आएका बिरामीका लागि तीन करोड रुपियाँभन्दा धेरै खर्च भएको बताउनुभयो।

अस्पतालका सामाजिक सेवा एकाइ प्रमुख रामहरि ढकालका अनुसार गत आवमा लक्षित वर्ग समूहका तीन हजार ७९९ महिलासहित सात हजार २८९ जना विपन्न नागरिकले निःशुल्क उपचार पाएको जानकारी दिनुभयो। आकस्मिक विपन्न निःशुल्क कार्यक्रममार्फत ९४२ महिलासहित दुई हजार २४० नागरिकले उपचार पाएका छन्। प्रमुख ढकालले भन्नुभयो, “विपन्न नागरिकको उपचारमा अस्पतालले विपन्न लक्षित वर्ग समूहलाई निःशुल्क सेवा र आकस्मिक निःशुल्क कार्यक्रममार्फत उपचार सेवा दिइरहेको छ।”

आकस्मिक विपन्न निःशुल्क कार्यक्रममार्फत ८१ लाख २० हजार ९७ रुपियाँ र विपन्न लक्षित वर्ग समूहको उपचारमा दुई करोड १० लाख २७ हजार ८७९ लगानी भएको छ। लक्षित वर्ग समूहमा ज्येष्ठ नागरिक, अपाङ्गता, लोपोन्मुख समुदाय, जनजाति, आदिवासी पर्छन्। 

अस्पतालमा चेपाङ, बोटे, मुसहरलगायतले शतप्रतिशत निःशुल्क उपचार पाउँछन्। ज्येष्ठ नागरिक, शहीद परिवार, अपाङ्गता भएकाले कार्ड देखाएमा निःशुल्क उपचार पाउने गरेका छन्।  अन्य विपन्नको हकमा पालिकाको सिफारिस चाहिन्छ। 

आकस्मिक उपचारमा आएका र पैसा नभएका जो कोहीलाई २४ घण्टा निःशुल्क उपचार गर्ने व्यवस्था रहेको ढकालले जानकारी दिनुभयो। आफन्त वा बिरामीको नजिकको कोही आएर उपचारमा लाग्ने शुल्क तिर्न चाहेमा तिरेर जाने गर्दछन् छैन भनेमा समेत उपचार गर्ने गरेको उहाँले बताउनुभयो।