जयमान बुढामगर
रुकुमपूर्व, साउन २६ गते । वरिपरि गोठै गोठको छरछिमेक। चारैतिर हरियाली तथा मडारिएको कुहिरो। चरीको चिरबिर आवाज, गोठालाहरूले बजाउने बाँसुरीको सुरिलो धुन। गाईभैँसी, भेडा/बाख्रा र घोडा/खच्चड चरनमा सराबरी। एउटा छुट्टै समाज, एउटा पृथक संस्कार। मानव समाजको इतिहास हराइसकेको आदिम मानवहरूको यायावर (फिरन्ते) जीवनजस्तो लाग्ने फरकपन।
विश्व आधुनिक पुँजीवादी युगमा प्रवेश गरेको छ तर यहाँका अधिकांश मानिस पुरानै पेसामा रहेका छन्। मौसमअनुसार पशुचौपायलाई लेक/बेँसी गराउँछन् र जहाँ चरिचरण धेरै छ, त्यहीँ पुगेर बस्तुभाउ चराउँछन्। लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको जनजीवन सकसभित्र हर्षका भाव अनुभूति गरी यसरी नै चलिरहेको छ।
पशुचौपायलाई मौसमअनुसार घाँस खुवाउने र खेतीपातीका लागि मल बनाउनु नै गोठालाहरू लेकरबेँसी गरिरहनुको मुख्य उद्देश्य रहेको भूमे गाउँपालिका–२, गाबाङका वीरबहादुर बुढामगरले बताउनुभयो। पशुचौपायसहित कृषकहरू लेक/बेँसी गरिराख्ने यो चलनचल्ती पुर्खादेखिको नै रहेको बुढामगरले बताउनुभयो। वैशाख र जेठ महिनामा मूल घर, असारदेखि भदौ महिना लेक तथा बुँकी पाटन र हिउँद याम असोजदेखि चैतसम्म भेडा/बाख्राबाहेकका अरू गोठाला मूल घरमै बस्ने गरेको बुढामगरले जानकारी दिनुभयो। भेडा/बाख्रा गोठाला भने हिउँदमा हिउँबाट बँचाउन हिउँ नपर्ने ठाउँतिर जाने गर्दछन्।
रुकुमपूर्व भूमे गाउँपालिका–२ का गाबाङ, काँक्री गाउँका लेक सानो राम्ली र भूमे–३ क्याङ्सी, झुम्लाबाङ गाउँका लेक ठूलो राम्लीलगायत यो क्षेत्रका प्रायः सबै गाउँलेहरूले आ–आफ्नो पायक पर्ने ठाउँमा लेकाली गोठ बनाएका हुन्छन्, जहाँ सानोतिनो खेतीपाती पनि गरिन्छ। भूमे गाउँपालिकाका लेकहरूमा मात्र नभई आजभोलि सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि गोठालाहरू लेक र बुँकी पाटनमा छप्पक्कै भरिएका छन्। लेकाली क्षेत्रमा खेतीपाती भने राम्रो उत्पादन हुँदैन। “यहाँ जौ उत्पादन हुने गर्दछ। तर, जौ पाक्न भने एक वर्ष नै कुर्नुपर्छ,” अर्का गोठाला पुरबहादुर बुढामगरले भन्नुभयो, “त्यसैले आलु नै उत्पादन गर्ने गरेका छाैँ।”
धेरै समय बसोबास गर्ने तथा मूल घरबास भएको ठाउँलाई मूल घर तथा लेकको अस्थायी बसोबासलाई गोठ भनिन्छ। अरू बेला जता पुगे पनि चाडपर्वको बेलामा भने पशुचौपायसहित सबै मूल घरमै फर्कन्छन्। मूल बस्तीदेखि माथिका ठाउँलाई लेक र तलका ठाउँलाई बेँसीका रूपमा चिनिन्छ।