• १२ पुस २०८१, शुक्रबार

प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरु तलबबाट बञ्चित

blog

फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १० गते । ताप्लेजुङको एकमात्र फुङ्लिङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी तलब खानबाट बञ्चित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कार्यरत सबै कर्मचारीले दुई महिनादेखि तलब सुविधा खानबाट बञ्चित हुनुपरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालको असोज पहिलो साता सङ्खुवासभाको चैनपुर नगरपालिकामा सरुवा भएपछि फुङ्लिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेको छ । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कार्यरत कर्मचारीले दुई महिनादेखि अर्थात असोज र कात्तिक महिनाको तलब खान पाएका छैनन् । नगरपालिका कार्यालय, ११ वटै वडा कार्यालय, स्वास्थ्य संस्था लगायतमा कार्यरत कर्मचारीलाई तलब खानबाट बञ्चित हुनुपरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कार्यरत करिव १५० जना विभिन्न कर्मचारीले तलब खान नपाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारी पाएपछि नगरपालिकाको अरु सबै काम गर्दैआएको, तर आर्थिक कारोबारको अख्तियारी भने आफूलाई नभएको पौडेलले बताउनुभयो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खनालले भदौ महिनाको तलब निकासा गर्दा दसैँ खर्चसमेत निकासा गरिदिएकाले चाडपर्व भने मनाउन पाएको कर्मचारीको भनाइ छ । यता दुई महिनादेखि तलब नपाउँदा तलब थापेपछि गर्ने कामको योजनाहरु सबै प्रभावित भएका उनीहरुको भनाइ छ । 

कर्मचारीका अनुसार कतिपय पूर्व तयारीमा रहेको योजना कार्यान्वयन गर्नलाई तलब नपाएपछि आर्थिक व्यवस्थापन गर्न निकै हैरानी खेप्नु परेको छ । उता नगरपालिकाभित्र कार्यरत बाल विकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र विद्यार्थीको दिवा खाजाको रकमसमेत रोकिएको छ । 

फुङ्लिङ नगरपालिका –८ दोखुस्थित शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक कमल भट्टराईका अनुसार बाल विकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र विद्यार्थीको दिवा खाजाको रकम साउनदेखि नै निकासा भएको छैन । 

फुङ्लिङ नगरपालिकाभित्र ५१ वटा विद्यालय रहेका छन् । उक्त विद्यालयहरुमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता, कर्मचारी र हजारौं विद्यार्थीको दिवा खाजाको रकम चालू आर्थिक वर्षपछि हालसम्म निकासा बताइएको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएदेखि खोजीमा लागे पनि करिव अढाइ महिनापछि भने फुङ्लिङ नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतको टुङ्गो लागेको नगरप्रमुख अमिर मादेनका स्वकीय सचिव अञ्चल गुरुङले बताउनुभयो । उहाँका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतमा विष्णुप्रसाद गुरुङ आउनुहुने भएको छ ।