• २७ मङ्सिर २०८२, शनिबार

उदघाटन सत्रमा प्रस्तुत मन्तव्यको पूर्णपाठ

एमाले समृद्धिको स्वप्नद्रष्टा हो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली महाधिवेशनको उदघाटनसत्रमा सम्बोधन गनुृहुँदै । तस्बिरः दिनेश भण्डारी

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक एमालेले अर्को एमालेसँग मन मिलाउनु, हात मिलाउनुमै पार्टी र देशको हित भएको बताउनुभएको छ । 

पार्टीको ११ औं महाधिवेशनको उदघाटनसत्रमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन संकटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँको भनाइ छ । एमाले फुटेर होइन, जुटेर संघर्ष गर्दा उपलब्धि हात लाग्छ, उहाँले भन्नुभयो । 


संसद विघटन असंवैधानिक रुपले गरिएकाले त्यसलाई बैधानिक ढंगले पुनःस्थापना आवश्यक रहेको बताउँदै उहाँले पुनःस्थपना गरेरै छाड्ने अडान सुनाउनुभयो । मुलुकको समृद्धि लोकतन्त्रको रक्षाविना सम्भव नरहेको बताउँदै उहाँले त्यसकालागि एमाले एकतावद्ध भएर संघर्ष गर्ने बताउनुभयो । 


अध्यक्ष केपी शर्मा ओलीको एघारौँ महाधिवेशनको उदघाटन समारोहको प्रस्तुत मन्तव्य

तपाईँहरुलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु ।

भक्तपुर– गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा, हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरुको बासस्थान, परिश्रमी र इमान्दार किसानहरुका पसिनाले सिँचित उर्बर भूमि, यस ऐतिहासिक नगरीमा तपाईँहरुको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु । 

सम्झिरहेको छु, तीन महिना अगाडिका ती कहालीलाग्दा दिनहरु– जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो, जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो, र एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरु सकिए, नेताहरुका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।

धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ । मङ्सिरको चिसो सिरेटो पञ्छाउँदै यहाँ आउनु हुने तपाईँहरु सबैलाई फेरि पनि हार्दिक स्वागत छ ।

नेपालको प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौँ । तर, यिनै थोपा भित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।


दाजुभाइ दिदीबहिनीहरु,

आजबाट हामी हाम्रो पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन सुरु गर्दैछौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भए यता हामीले ७७ वर्ष व्यतीत गरेका छौँ । 

ती ७७ वर्षहरु, जसमा हामीले प्रत्येक दिन देशका निम्ति खर्चेका छौँ । जनताका निम्ति सुम्पेका छौँ । देशको सार्वभौमसत्ता, राष्ट्रियता,  राष्ट्रहित र स्वाभिमानका लागि हरपल अर्पेका छौँ । जनताका अधिकार, न्याय र सुख एवं समृद्धिका लागि समर्पित गरेका छौँ ।

नेकपा (एमाले) जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौं । यो एघारौँ महाधिवेशन यस महान् अभियानरुपी यात्रामा एउटा नयाँ मोडको रुपमा भव्यताका साथ आयोजना गरिरहेका छौं । हाम्रा नीतिहरु स्पष्ट छन् । यी नीतिहरु कार्यान्वयन गर्ने सुदृढ, व्यापक र दृढ संकल्पित लोकप्रिय पार्टी र संगठन हामीसँग छ । 

म हाम्रो पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत ती सबै अग्रजहरु, सहिदहरु, योद्धाहरु र आन्दोलनमा वर्णन नै गर्न नसकिने कष्ट सहनु हुने न्यायप्रेमी जनसमुदायप्रति हार्दिक श्रद्धा अर्पण गर्न चाहन्छु, जसको बलिदान बिना हामी यहाँ आइपुग्न सक्दैनथ्यौँ ।

तपाईँहरुलाई साक्षी राखेर सङ्कल्प गर्छु– हामी उहाँहरुको आदर्श र बलिदानलाई कहिल्यै बिर्सने छैनौँ । यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौँ या हामीबाट कमजोरी रहेन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ । कम्युनिष्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएको छ । सात सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएको थियो । यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रह्यो ।

२०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो, आन्दोलनले राजाको निरङ्कुशता र पञ्चायती तानाशाहीलाई अन्त्य ग¥यो ।


२०६२–६३ मा कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो, तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो र जनताको हातले संविधान लेखियो । त्यतिबेला अरु पार्टीहरुका भूमिका तपार्इँहरुको सम्झनामा ताजै छन् ।

त्यसैले भन्न सक्छौँ– कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ ।

आज हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न चाहन्छौँ ।

कमरेडहरु, दाजुभाइ दिदीबहिनीहरु

आठ दशकको यस गौरवशाली यात्रामा हामीले केही बिरासतहरु, केही मानकहरु, केही पहिचानहरु बनाएका छौँ । नेकपा (एमाले) अर्थात राष्ट्रियताको पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको नायक । नेकपा (एमाले) अर्थात लोकतान्त्रिक आन्दोलनको अग्रपङ्क्तिको योद्धा, यसको अभेद्य किल्ला । 

नेकपा (एमाले) अर्थात सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’ जसका कारण आज ३८ लाख नागरिकहरुले जीवनमा एउटा सहारा पाउनु भएको छ ।

नेकपा (एमाले) अर्थात सामाजिक सदभाव र राष्ट्रिय एकताको सम्बाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ ।

नेकपा (एमाले) अर्थात समावेशिताको अगुवा, जसले राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागितासहित दलित, अल्पसङ्ख्यक र पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ ।

नेकपा (एमाले) अर्थात् नेपाली विशेषतासहितको समाजवाद निर्माणको अभियन्ता, जनताको बहुदलीय जनवादजस्तो नवीनतम सोचको सम्वाहक र परिपूर्ण लोकतन्त्रको भाष्यकार ।

नेकपा (एमाले) अर्थात् गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठुला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता ।

नेकपा (एमाले) अर्थात मानवतावाद, न्याय, संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त र हामी पक्ष भएका अन्य अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुको पालना र विश्व शान्तिमा आधारित विदेश नीति रहेको पार्टी ।

नेकपा (एमाले) अर्थात् असल, विश्वसनीय छिमेक सम्बन्ध र पारस्परिक हित र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने पार्टी । नेकपा (एमाले) अर्थात् समृद्धिको स्वप्नद्रष्टा र परिकल्पनाकार, जसले भन्छ– प्रकृतिको यति सुन्दर बरदान पाएको र संस्कृतिको धनी नेपाल गरिब रहन सक्दैन, हामी आफ्नै पौरख र बलमा समृद्ध बनाइ छाड्छौँ । 

आजको अन्तरनिर्भरताको समयमा पनि हामी सकेसम्म आत्मनिर्भर अर्थतन्त्रको पक्षमा छौं । यसका निम्ति कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, अर्थतन्त्रको औधोगिकरण र आधुनिकीकरण, आर्थिक उन्नतिका लागि पूर्वाधारको विकास, विकासका लागि प्रविधिको नवीन प्रयोग– हाम्रा नीति हुन् । 

हामी सपना मात्र देख्दैनौँ, सपना मात्रै बाँड्दैनौँ– प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौँ । हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका निम्ति भएका कामले स्पष्ट पार्छन् ।

बिरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ– एमालेको पहिचानको त्यो सूची तपाईँहरुको मनभित्र कुँदिएको छ, तब त सबै बाधा छिचोलेर तपाईँहरु यहाँ आउनुभएको छ । यिनै बिरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ ।

हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं । त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति, सिङ्गो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनुपर्छ । राजनीति, मानव र मानव संशाधनको विकास र खुशहालीसँग सम्बन्धित हुनुपर्छ । हाम्रो राजनीति हाम्रा लागि मात्रै होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रुपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनुपर्छ– ‘बसुधैव कुटम्बकम् ।’ तर हामी माथिका प्रहार पनि कम्ती छैनन् ।

हामी भन्छौँ– देशहरु भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ? हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ ।

हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौँ, जनताको मन जितेर शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ भन्छौँ । हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्छौँ ।

हामी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।

हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौँ । सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्पजस्ता चुनौतीका बिचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ । कमजोरीलाई पनि महशुस गर्छौँ । मुलुक बन्छ र बन्दैछ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरुलाई यो मन पर्दैन । अनि फेरि हामीमाथि प्रहार हुन्छ ।

हामी कमजोर भयौँ भनेमात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन् । हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधै रहन्छ । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ  ।

हामीविरुद्धका शक्तिहरू विभिन्न रङ्गमा अगाडि आउँछन् । कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर । कलर–कलरमा– कलर रेभोलुशन भन्दै देखा पर्छन् । तर तिनको भित्री लक्ष्य एउटै छ– हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने ।

एकपटक सम्झनुस् त ! 

हामीले संविधान जारी ग¥यौं, त्यसपछिको तिव्र प्रतिक्रियाले भन्छ– हामीले लिएको अडान कतिलाई मन परेको थिएन । भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन ।

सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन । यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुङ्गा हान्छ र ? ढुङ्गाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि ।

दाजुभाइ दिदीबहिनीहरु

यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैँ ठिङ्ग कसरी उभिरहन्छ ? यति धेरै शक्ति कहाँबाट आउँछ ? यस प्रश्नको उत्तर म यही मैदानमै खोज्न चाहन्छु ।

एकछिन् आफ्नै गाउँ–ठाँउमा, सहरका टोल–टोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त ! त्यसपछि आफैँ महशुस गर्नु हुनेछ । संकटको बेलामा ढल्ने होइन, अड्ने साहस यस पार्टीले यत्तिका वर्ष कहाँबाट बटुलेको रहेछ ? 

भदौ २३–२४ को घटनालाई सम्झौँ न । भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठुलो खेल चलिरहेको थियो ? त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्र थियो ? कि त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ?

भ्रममा पर्नै हुन्न– स्थिरताको बाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर यो त संविधान, संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पु¥याउने दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र थियो । 

तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ–

सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस् । जेनेरेशन–जेड या नवयुवाहरुले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन ।


यी त हामी स्वयंले वर्षौँदेखि उठाउँदै र कार्यान्वयन गर्दैआएका एजेन्डा थिए । सामाजिक सञ्जाल बन्द गर्ने होइन, कानुनी दायराभित्र, देश र नागरिकको सुरक्षाको हिसाबले नियमन गर्ने मात्रै हाम्रो चाहना थियो ।

नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो ।

तर दुःखको कुरा 

त्यो कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूह प्रवेश गरे । अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र  त्यसैका आडमा आफ्नो निहीत स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीको ज्यान जाने दुःखद् एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो ।

भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

घाइते युवाहरू, परिवारका सदस्यहरू, पीडित बुबाआमा, दिदीबहिनी, दाजुभाइ, सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछु । शरीर र मन दुवैको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु ।

साथीहरू,

भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दुःखद् परिणामप्रति गम्भीर हुँदै, तत्कालीन गृहमन्त्रीले राजीनामा गरिसक्नुभएको थियो । त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको थियो । असामान्य परिस्थितिप्रति सरकार गम्भीर र  संवेदनशील थियो ।

तर राज्यविरुद्ध आक्रमणको योजना बनाएका तत्वहरुलाई यी कदम पर्याप्त भएनन् । उनीहरुलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो । परिणामतः भदौ २४ को भयानक दिन देशले भोग्नुप¥यो ।

कार्यपालिकाका वडा कार्यालयदेखि केन्द्रीय प्रशासनिक भवनसम्म, व्यवस्थापिकाका पालिकादेखि संघीय संसद भवनसम्म, र न्यायपालिकाका जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म,  राज्यका तीनवटै अङ्गमाथि एकैसाथ आक्रमण गरियो । दलीय व्यवस्थाका आधारस्तम्भ पार्टीका कार्यालयहरू ध्वस्त पारिए ।

होटल, व्यापारिक प्रतिष्ठान र व्यावसायिक व्यक्तिहरुका निजी सम्पत्ति ध्वस्त पार्दै अर्थतन्त्रको मेरुदण्ड भाँचियो । शान्ति–सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि भयानक प्रहार भयो । कुटपिट मात्रै होइन, निर्ममतापूर्वक हत्या समेत गरियो । 

१२ सयभन्दा बढी हतियार खोसिए, झन्डै एक लाख गोलीगठ्ठा र विविध सामग्री लुटिए । सुरक्षाकर्मीका पोशाक मात्र लुटिएनन्, तिनको अपमान र दुरुपयोग समेत गरियो । जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता–कार्यकर्ताका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी, राष्ट्रपति भवनदेखि सिंहदरबार जस्ता राष्ट्रिय सम्पदाहरू, सहिदका शालिक, लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवन समेत १६ सयभन्दा बढी संरचना एकै पटक आगो, ढुंगा र लुटपाटको निशाना बने । 

यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन् । ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए ।

जतिबेला, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै “आन्दोलन”, “बिद्रोह” र “क्रान्ति” का रूपमा महिमामण्डित गरिँदै थियो । त्यही भिडको फुटेज देखाएर कोही सत्ता, कोही सौदा, र कोही सहानुभूति बटुल्दै थिए ।

त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले सुरुदेखि नै स्पष्ट भन्यो– यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो ।


साथीहरू,

राज्यको सिङ्गो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौं । नेताहरू, समाजका अगुवाहरू मारियून्, समाप्त होउन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ– “हेलिकप्टर चढेर भागे” । 

महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नु प¥यो । इतिहासले दोष कसलाई दियो– आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ? प्रश्न त्यत्ति न हो !

त्यो महाविनाश न हामीले विर्सेका छौँ, न विर्सनेछौँ । दोह¥याएरै भन्छु–– ... नर्बिसौं !!! अहिलेलाई यत्ति मात्र । त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस् । अपराधीले सजाय पाउँन् !

साथीहरू,

त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ । देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ । यदि संसदभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबिच सहमति हुनुपर्छ, संसदमार्फत संविधान संशोधन गर्नुपर्छ । प्रतिनिधिसभा विघटन हुनुहुँदैन !

यही हाम्रो दृढ अडान थियो । कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर देशलाई उल्टो दिशामा लगियो– संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो ।

त्यसैले हामी भन्छौँ– अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो । यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले, प्रतिनिधिसभा विघटन मान्य छैन ।

हाम्रो माग स्पष्ट छ– प्रतिनिधिसभा तुरुन्त पुनस्र्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ, के तयारी छ कतै ? अहँ देखिँदैन !

चुनाव चाहने सरकार के गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गथ्र्यो । दलका गतिविधि प्रोत्साहित गथ्र्यो । चुनावको अनिवार्य शर्तका रुपमा रहेको निर्भयताको वातावरण निर्माण गथ्र्यो । तर अहिले के भइरहेको छ ?

संवादको सट्टा निषेध । बहसको सट्टा मुद्दा । प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद ... निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ–

साँचो प्रतिस्पर्धा । स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण !

हाम्रो पनि भनाइ यही हो ।

डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ? तर अहिले कहाँ चुनाव हुँदैछ र ?! चुनावको कुरा मात्र भइरहेको छ ! त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ ।

म उपस्थित सबै दलका नेता गणलाई पनि लोकतन्त्रमाथिको यो प्रहार, संविधानमाथिको यो आघात र राष्ट्रमाथिकै यस सङ्कटलाई बोध गरेर, यसबाट रत्तिभर विचलित नभइ सहकार्यका साथ अगाडि बढ्न आह्वान गर्छु ।

प्रिय युवा साथीहरु,

अहिले केही व्यक्तिहरु नेकपा (एमाले) र प्रतिष्ठित राजनीतिक दलहरुलाई ‘जेन्जी विरोधी’ आरोपित गर्दै तपार्इँहरु र हामीलाई भिन्न धारमा उभ्याउन कोशिस गरिरहेका छन् । उनीहरुको यस्तो प्रयास नौलो होइन । ३० वर्ष अगाडिसम्म हामीलाई बृद्धबृद्धा विरोधी पार्टी भनेर आरोपित गरिन्थ्यो । हामीले व्यवहारबाटै खण्डित ग¥यौँ ।

सशस्त्र हिंसा सुरु भएपछि हामीलाई क्रान्ति विरोधी भनेर आरोपित गरियो । हामीले त्यस आरोपको मिथ्यापनलाई पनि तथ्यहरुबाटै पुष्टि ग¥यौँ ।

एक अवस्था आयो– हामीलाई पहिचान विरोधी, मधेस विरोधी, जनजाति विरोधी बिल्ला भिराउने कोशिस भयो । हामीले व्यवहारबाट त्यस भाष्यलाई चि¥यौँ । आज नेकपा (एमाले) मधेस प्रदेश सभामा सबैभन्दा ठुलो दलका रुपमा स्थापित छ । हाम्रो पार्टी साम्प्रदायिक विद्वेषमा होइन, विविधताबिच राष्ट्रिय एकताको पक्षमा छ । सबै हतियारमा खिया लागेपछि हामीलाई आज जेन्जी विरोधी भनेर भ्रमित गर्ने कोशिस गरिरहेको छ । तर यो भ्रम निराधार छ ।

जुन पार्टीले आफ्ना सबै पार्टी संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था नै गरेको छ, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन सक्छ ? जसले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाका आशालाई हेरेर सीप विकास कार्यक्रम विस्तार ग¥यो, उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो । त्यो कसरी जेन्जीभन्दा टाढा हुन सक्छ ?

जसले सरकारमा हुँदा डिजिटल नेपाल फ्रेमवर्क र एआई नीतिलाई प्राथमिकतामा राख्यो– कसरी तपार्इँहरुभन्दा फरक हुन   सक्छ  ? हामी चाहन्छौं–

नेपाली युवाले प्रविधि हातमा लिएर यहीँ बसेरै विश्वसँग प्रतिस्पर्धा गर्न सकोस् । नयाँ रोजगारी सिर्जना होस् । नवप्रवर्तन जन्मियोस्, नयाँ अवसरको ढोका खुलोस् । त्यसैले जेन्जीको नाममा स्वार्थको रोटी सेकिरहेका तत्वहरुले फिँजाएको भ्रमबाट मुक्त हुन म साथीहरुलाई आग्रह गर्दछु ।

म हाम्रा युवाहरूलाई यो पनि स्मरण गराउन चाहन्छु । प्रविधि जति अगाडि बढे पनि, तपाईंहरूको सुरक्षित भोलि– लोकतन्त्र, संविधान, शान्ति र राजनीतिक स्थायित्वमाथि नै निर्भर छ । यसका लागि दलहरु अनिवार्य पक्षहरु हुन् । कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ । या आफैँ दल खोल्न पनि सकिन्छ । तर विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरुलाई कमजोर गरेर देश बन्दैन । 

विचार बिनाका दल र उत्तरदायित्व बिनाका पात्रहरुले अन्ततोगत्वा मुलुकलाई सङ्कटको भुँवरीमा होम्छन् ।

प्रिय कमरेडहरु, साथीहरु,

हाम्रो महाधिवेशन लोकतान्त्रिक अभ्यास, वैचारिक गन्तव्यप्रतिको स्पष्टता र एकताको एउटा उदाहरणको रुपमा आयोजना भइरहेको छ । यस्तो परिस्थितिमा हामी हरेकले गहिरो जिम्मेवारी बोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरुरी छ । 

यसमा सबैको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु । अर्को कुरा, हामी कसैको कुनै पनि कार्यक्रम बिथोल्ने, बाधा व्यवधान पु¥याउने काम गर्दैनौं । कसैले पनि अरुको कार्यक्रममा व्यवधान उत्पन्न गर्नु सभ्य र लोकतान्त्रिक आचरण होइन । मैले विश्वास लिएको छु–एमालेका कार्यक्रमहरु बिथोल्न कसैले पनि प्रयास गर्ने छैन । 

म नेपालको सम्पूर्ण राजनीतिक दलहरु, अन्य संघ संस्थाहरु, नागरिक समाज, मिडिया र आम जनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु । साथीहरुलाई स्पष्ट हुन म आग्रह गर्छु । आजको हाम्रो सङ्घर्ष– जेन्जी पुस्ता र पाको पुस्ता बिचको हुँदै होइन । पुराना दल र नयाँ पुस्ताबिचको पनि हुँदै होइन । सङ्घर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बिचको हो ।

मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैंभरि देश बनाउने कित्तामा उभिने छ । निश्चय नै, तपाईँहरुको अपेक्षा र राज्यको डेलिभरी क्षमता बिचमा ग्याप छ । तपाईँहरु प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरुको भीड र कर्मचारीको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस् । अवसरहरु सबैका लागि बराबर होउन् ।

आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् । तपाइँहरुका अपेक्षा बिल्कुल जायज छन् । यस दिशामा केही उपलव्धि पनि भएका छन् । तर थुपै्र काम गर्न बाँकी छ ।

तर ती बाँकी काम देखेर या अन्याय देखेर आक्रोशित हुनु स्वाभाविकै हो । तर त्यो आक्रोश रचनात्मक ढङ्गले प्रयोग हुनुपर्छ, जसरी पहाडबाट बगिरहेको खोला बाँधमा बाँधिएर, पेनस्ट्रक पाइपमा छिरेर, टर्बाइनमा पुग्दा ऊर्जाको उज्यालोमा रुपान्तरित हुन्छ । नत्र त त्यसले बाढी बनेर बस्ती बगाउँछ,  विपत्ति सिर्जना गर्छ ।

तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंशको इन्धन बनाउन खोज्नेहरुबाट जोगिनुहोस् । तपाईंहरूका जायज आवाजको आडमा देशको विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस् । देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनु होस् ।

म युवा पुस्तालाई भन्न चाहन्छु–

असहमति राख्नुस् । आलोचना गर्नुस् । जवाफ माग्नुस् । तर एउटा कुरा नबिर्सनुस्–

आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु– जहाँ सकिन्छ त्यहाँ, युवालाई अगाडि सारौँ । उनीहरूको कुरा ध्यान दिएर सुनौँ । उनीहरूको जायज एजेन्डालाई उचित स्थान दिऔँ ।

युवा पुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन, यसको आधार छ । सिद्धान्तमा दृढ, अनुशासन र आपसी एकता भएको पार्टी ।

साथीहरू,

आज हामी सबैभन्दा बढी के कुराको अभाव महसुस गरिरहेका छौँ ? उत्तर हो– सुरक्षा । सुरक्षा– राज्यले प्रत्येक नागरिकलाई दिनै पर्ने प्रशासनिक सुरक्षा त हुँदै हो । त्यसका अतिरिक्त– युवालाई– रोजगारीको सुरक्षा, आमाबाबुलाई– छोराछोरी विदेशिन नपर्ने भविष्यको सुरक्षा, 

श्रमजीवी जनतालाई– पारिश्रमिकको सुरक्षा, किसानलाई– पसिनाको मूल्यको सुरक्षा, उद्योगी–व्यापारीलाई– नीति, स्थिरता र लगानीको सुरक्षा, विद्यार्थीलाई– सपनाको सुरक्षा । आम नागरिकलाई– न्यायको सुरक्षा ।

भाषा, पहिरन, धर्म, आस्था, जात–जातिको गौरव– सबैको पहिचानको सुरक्षा । संविधान, लोकतन्त्र, अदालत, संसद, संस्थाहरू– सबको अस्तित्वको सुरक्षा । त्यसैले हामी भन्छौँ– हाम्रो राजनीति केवल सत्ता बदल्ने राजनीति होइन । जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षा हो । 

अर्को शब्दमा– सुरक्षा, समृद्धि र सुखको सुनिश्चित्ता हो । जहाँ नागरिकको ज्यान, अधिकार, सम्मान, देशको अस्तित्व र भविष्य सुरक्षित होस् ।  


प्रिय कमरेडहरु, साथीहरु,

यस जटिल परिस्थितिमा अनेक चुनौतीहरुको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौं । अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं ।

वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ । त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने । ‘सरकार–जेनजी सम्झौता’ जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरुको जालो पनि बुनिरहेको छ । यस स्थितिलाई तोडेर संविधानलाई पुनः लिकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस् ।

साथीहरू,

सुरक्षित नेपालको पहिलो सर्त के हो ? हामी–हामीबिचको एकता । एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक “एघार” लाई एकछिन् ध्यान दिएर हेरौँ । एघारमा दुई वटा “एक” हुन्छन् । तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका “एक” होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका “एक” हुन् । त्यसैले, हामी प्रत्येक एक— एमालेले अर्को एक– एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै “एघार” बन्छौँ, बलियो शक्ति बन्छौँ ।

एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे– हामी साधारण “एक–एक, एक” मात्र रहने छौँ । तर एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी “एक–एक एघार” बन्छौँ । हामी एघार बन्दै अघि बढ्यौँ भने– यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ । सबैलाई शुभकामना ! धन्यवाद !