• ५ साउन २०८१, शनिबार

दोलखा भीमेश्वरको सिलामा पसिना

blog

सुजन काफ्ले
चरीकोट, साउन ५ गते । 
दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वरको सिलामा  पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रूपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ ।

शनिबार दिउँसो १ः४७ बजेदेखि २ घण्टाभन्दा बढी सिलाको बायाँ भागबाट पसिना आएको भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनुभयो ।

पसिना आएको खबरपछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ । सर्वसाधारणहरू  मन्दिर भित्र पसेर घण्टी बजाएका थिए । सिला एक्कासि चम्किलो भएर तप–तप बग्न सुरु गरेको पसिना दुई घण्टादेखि निरन्तर रहेको स्थानीयले बताएका छन् ।

सिलामा पसिना आउँदा अनिष्टको सूचकका रूपमा लिने जनविश्वास छ । अध्यक्ष श्रेष्ठले जिल्ला प्रशासनमार्फत सरकार र राष्ट्रपतिलाई खबर पुर्‍याइने जानकारी दिनुभयो ।

सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन छ । पसिना पुछिएको कपास महाप्रसादका रूपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाई पठाइने गरिन्छ । कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने विश्वास गरिन्छ ।