• ९ असार २०८१, आइतबार

‘प्याराग्लाइडिङ प्रतियोगिता पोखरामै गरौँ’

blog

सन्तोष सुवेदी

कास्की, साउन २६ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेल सञ्चालन पोखरामा नै गर्दा उपयुक्त हुने सुझाव दिइएको छ।  पोखरा रङ्गशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाइडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले सुरक्षासहित अन्य कारणले गर्दा पोखराभन्दा अन्यत्र उक्त प्रतियोगिता सञ्चालन गर्न मनासिब नभएको निष्कर्ष निकालिएको छ। 

पोखरामा साहसिक खेल प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट पाँचमध्येको एकमा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अन्यत्र लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताउनुभयो। उहाँले भन्नुभयो, “केही व्यक्तिले स्याङ्जाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ तर यो खेल सञ्चालन गर्दा जतिसक्दो सुरक्षित र प्राविधिक हिसाबले पनि नेटवर्क भएको स्थानमा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।” 

अन्यत्र उक्त प्रतियोगिता हुँदा समयमै खेलाडीको उद्धारमा प्रमुख समस्या हुने, खानपान र होटल आवासमा समेत अर्को समस्या हुने भएको प्याराग्लाइडिङ खेलाडी रविराज दर्लामी मगरले प्रस्ट्याउनुभयो। पोखरामा ताल माथि र यहाँ केही धानखेतका फाँटसमेत भएकाले गर्दा आपत्कालीन अवस्थामा प्याराग्लाइडिङ अवतरण गर्न सहज हुने उहाँको भनाइ थियो। प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले हावाको चापले उद्धारको उचित व्यवस्थाका कारण पोखराको विकल्प अरू ठाउँमा प्याराग्लाइडिङ प्रतियोगिता हुन कठिन हुने बताउनुभयो। प्रशिक्षक एवं हवाई खेलकुद संस्थानका पूर्वअध्यक्ष योगेश भट्टराईले पोखराभन्दा बाहिर जुनसुकै ठाउँमा लगे पनि अहिलेको अवस्थामा अन्य ठाउँ प्याराग्लाइडिङको उपयुक्त स्थान नहुने दाबी गर्नुभयो। 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खेलमैदान व्यवस्थापन उपसमिति संयोजक एवं राखेपका सदस्य राजेशकुमार गुरुङले कुनै पनि प्रतियोगिता सञ्चालनका लागि सुरक्षा पहिलो प्राथमिकतामा रहने उल्लेख गर्नुभयो।