• ११ मंसिर २०८१, मङ्गलबार

देशैभर एकै पटक अनुगमन

blog

काठमाडौँ, साउन २६ गते  । सरकारका नियमनकारी निकायले पहिलो पटक बुुधबार एउटै समयमा एकैसाथ आआफ्नो क्षेत्रमा बजार अनुगमन गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र यस मातहतका कार्यालय, देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाले एकैसाथ बजार अनुगमन गरेका हुन् । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले गरेको निर्णयअनुसार बुधबार उपभोग्य वस्तुको मूल्य र गुणस्तरलगायतका विषयमा एकैसाथ अनुगमन भएको हो । विभागका अनुसार बुधबार बिहान ११ देखि १ बजेसम्म एकै पटक अनुुगमन गरिएको हो । 

विभागका निर्देशक हरि पङ्गेनीले बजारमा सरकारको व्यापक उपस्थिति रहेकाले चाहेर पनि अनुचित मूल्य वृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण गर्न सक्दैन भनेर एकै पटक यस्तो खालको अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अबदेखि हरेक महिनाको कुनै एक दिन यसैगरी एकै पटक एउटै समयमा यस्तो अनुगमन हुनेछ । “यही दिन भन्ने समय तोकिएको छैन, अर्को महिनामा पनि अनुगमन हुन्छ । यो आकस्मिक खालको हुन्छ, जुनसकै दिन पनि हुन सक्छ,” उहाँले भन्नुभयो ।   

यस प्रकारको बजार अनुगमनले बजारभाउ नियन्त्रण र गुणस्तर कायम राख्न ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको छ । अहिले एक दिन मात्रै गरिए पनि चाडपर्वका समयमा साताको एक पटक यसैगरी गर्न सकिने निर्देशक पङ्गेनीले बताउनुभयो । 

ललितपुरमा चस्मा पसल सिलबन्दी

जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिलबन्दी गरेको छ । सरकारले मङ्गलबार जारी गरेको निर्देशनअनुसार ललितपुर जिल्ला प्रशासनले चस्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवं बच्चाको कपडासमेत बिक्री वितरण गरेको पाइएकाले सिलबन्दी गरिएको हो । 

ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले नाम एउटा राखेर अर्कै कारोबार गरेको पाइएपछि उक्त पसललाई गरेको कसुरअनुसार कारबाही गरिएको जानकारी दिनुभयो । साथै पसल सञ्चालकलाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिएको उहाँले जानकारी दिनुभयो । 

यसैगरी सोही अनुगमन टोलीले पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि २० हजार रुपियाँ जरिवाना गरेको जनाएको छ । सो चमेना गृहको भान्छा असाध्यै फोहोर रहेको र त्यस चमेना गृहमा बिक्री गर्न राखिएका दही तथा दुनोटलगायतका वस्तुको उत्पादन र उपभोग मितिसमेत उल्लेख नगरेको पाइएकाले तत्काल जरिवाना गरेर सुधारका लागि निर्देशन दिएको पन्तले जानकारी दिनुभयो ।