गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायतालाई ‘च्यारिटी’ का रूपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमता अभिवृद्धिका लागि उपयोग गर्न विश्व समुदायसमक्ष अपिल गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो सान्चेजद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पुनर्जीवित गर्दै’ शीर्षकमा आयोजित उच्चस्तरीय ‘राउन्ड टेबल’ छलफलमा मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा कोही पनि पछाडि नपरून् भन्ने सोचका साथ विकास सहायतालाई दिगो शान्ति र विकासका लक्ष्य हासिलनिम्ति उपयोग गर्न साझा पहलका लागि अपिल गर्नुभएको हो ।
उहाँले विकास सहायता र विश्व साझेदारीको ऐक्यबद्धतामा नयाँ अवधारणाका बारेमा नेपालको धारणा व्यक्त गर्दै भन्नुभयो, “उस्तै किसिमका साना साना विकास परियोजनाहरू सरकार र गैरसरकारी क्षेत्रबाट समानान्तर रूपमा सञ्चालन गर्ने प्रवृत्ति पनि देखिएको छ । त्यसरी छरिएको सहायताबाट समतामूलक विकासले गति लिँदैन ।”
प्रधानमन्त्री ओलीले विकास साझेदारहरू निश्चित सञ्जालमार्फत सहायताका लागि अग्रसर हुनुपर्नेमा जोड दिँदै यस विषयलाई सेभिया–प्रतिबद्धताले उत्प्रेरित गरेकाले त्यही मार्गबाट अघि बढ्नुपर्ने सुझाव दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विकसित मुलुकहरूले बोलीमा नभई व्यवहारमा आफ्ना सहायताका प्रतिबद्धता पूरा गर्नुपर्नेतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले वास्तवमै जनताको जीवनमा अर्थपूर्ण परिवर्तनका लागि प्रभाव पर्ने क्षेत्रमा सहकार्य हुनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाल जस्तो अति कम विकसित मुलुकहरूले विभिन्न खालका गतिरोधको सामना गरिरहेको औँल्याउँदै प्रविधि, वैदेशिक ऋण र वित्तीय अभाव झेल्नु परेको उल्लेख गर्नुभयो ।
पानीको पहुँचमा सरकार प्रतिबद्ध
प्रधानमन्त्री ओलीले नेपालका सम्पूर्ण नागरिकलाई सफा पानीमा पहुँच पु¥याउन सरकार प्रतिबद्ध रहेको जानकारी विश्व समुदायलाई दिनुभएको छ । मङ्गलबार स्पेनमा अल्पविकसित तथा साना टापु राष्ट्रहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै उहाँले नेपालको संविधानले स्वच्छ पानी र सरसफाइको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको अवगत गराउनुभयो ।
‘राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको पहलमा खानेपानी र सरसफाइ क्षेत्रमा लगानी’ विषयक उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, “हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न कटिबद्ध छौँ, जहाँ प्रत्येक घरपरिवारले सरसफाइ तथा खानेपानीलगायत आवश्यक सेवाहरूको आनन्द लिने छन् ।”
यस उद्देश्य प्राप्तिका लागि नेपाल सरकारले पहुँच विस्तार गर्न कानुन, नीति तथा कार्यक्रममार्फत सहजता दिलाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । सन् २०२४ सम्म नेपालले ९६ प्रतिशत जनतालाई पानी आपूर्ति गर्न सफलता हासिल गरिसकेको उहाँले बताउनुभयो । तथापि सबैलाई गुणस्तरीय र दिगो सरसफाइका सेवा प्रदान गर्न केही चुनौतीहरू रहेको उहाँले स्वीकार गर्नुभयो ।
विश्वको ठुलो हिस्सा खानेपानीको अभावका कारण पिल्सिरहेको उदाहरण तथ्यहरूमार्फत् उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वमा खानेपानीको पूर्ण प्रत्याभूतिका लागि समन्वयात्मक रूपमा परियोजनाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सबै विकास साझेदारहरूलाई नेपालको प्रयासमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । आपसी सहयोगमार्फत साझा लक्ष्यहरू प्राप्त गर्न आवश्यक पूर्वाधार निर्माण गर्न र यहाँका संस्थाहरूलाई बलियो बनाउन सकिने उहाँले प्रस्ट पार्नुभयो । उहाँले थप्नुभयो, “हामी एउटा यस्तो संसार सिर्जना गरौँ, जहाँ कोही पनि पछाडि नपरोस्, जहाँ प्रत्येक बालबालिकाले सफा पानी पिउने छ, प्रत्येक परिवारमा सुरक्षित शौचालय हुने छ र प्रत्येक समुदाय सम्मानका साथ बाँच्ने छन् ।”
सहुलियतपूर्ण वित्तको आवश्यकता
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहयोगका अवधारणात्मक बुझाइलाई युग सुहाउँदो पुनर्परिभाषित गर्न जरुरी रहेको बताउनुभएको छ । विगतदेखि वर्तमानसम्म जेजसरी विकास सहयोगलाई बुझेको भए पनि विकास सहयोग साझा कार्यगत एकता भएकाले अबको समय भनेको यी शब्दहरूलाई कार्यमा रूपान्तरण गर्ने क्षण भएकाले सोही अनुसार परिभाषित गर्न जरुरी रहेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो ।
अन्तर्राष्ट्रिय वित्त सम्मेलनका क्रममा आयोजित ‘विश्वव्यापी ऐक्यबद्धतामा लगानी : विकास सहयोगको नयाँ दृष्टिकोण’ विषयक एक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब हाम्रा प्रतिबद्धताहरू र प्रभावकारिताका हाम्रा सिद्धान्तहरू दुवैमा समाहित गर्नु पर्छ । हामीले स्रोतहरू परिचालन गर्न र विकास सहयोगलाई वास्तविक रूपमा अर्थपूर्ण बनाउन नवीन तरिकाहरू खोज्नु पर्छ ।”
वर्तमान समयमा विकासशील मुलुकहरू बढ्दो ऋणको बोझसँगै वित्तीय तनावको सामना गरिरहेको उल्लेख गर्दै उहाँले सहुलियतपूर्ण वित्तको आवश्यकता रहेको प्रस्ट्याउनुभयो । सो क्रममा नेपालका लागि विकास साझेदारहरूले गरिरहेका निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विश्वको विकास पुनरुत्थानशील राष्ट्रवाद, बढ्दो संरक्षणवाद र क्षेत्रीय तथा विश्वव्यापी द्वन्द्वहरू चलायमान भएको समयमा विकास सहयोगको अवधारणा परिवर्तन गर्दै विकास सहयोग परोपकारको विषय नभई प्रगतिको साझा प्रयास रहेको औँल्याउनुभयो ।
विकास समुदायलाई सशक्त बनाउने साझेदारीसँगै, संस्थाहरूलाई बलियो बनाउने, क्षमता विकास गर्ने र उत्थानशीलतालाई बढावा दिने नवीन सोच भएको टिप्प्णी उहाँले गर्नुभयो । दिगो शान्तिको, साझा समृद्धिको, जलवायु न्यायको, निष्पक्ष र समतामूलक संसारको जगका लागि विकास आवश्यक रहेको उहाँले प्रस्ट पार्नुभयो ।
बढ्दो चुनौती पार गर्न र समावेशी वृद्धिलाई तीव्र बनाउन साना मुलुकहरूलाई दिगो विश्वव्यापी समर्थनको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले जिकिर गर्नुभयो । विकास सहायताको खण्डीकरणसँगै अति साना परियोजनाहरू, समानान्तर विकास सञ्जालहरू र अत्यधिक प्रतिस्पर्धी प्राथमिकताहरूमा फैलिएका कार्यव्रmमहरूले विकास प्रभावलाई थप कमजोर बनाउने भनाइ उहाँले राख्नुभयो । प्रधानमन्त्री ओलीले मङ्गलबार पनि मित्रराष्ट्रका प्रतिनिधिहरूसँग भेटवार्ता र आपसी छलफल जारी राख्नुभएको जनाइएको छ ।