टोकियो, असार १८ गते । जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ । भूकम्पका कारण कुनै ठुलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३ः३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो ।
भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले भन्नुभयो, “जुन २१ देखि टोकारा टापु श्रृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय छ । “आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ”, उहाँले भन्नुभयो, “यसको अन्त्य कहिले हुन्छ अनुमान गर्न कठिन भएको छ ।” टोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा भनेको छ, “लगातारको भूकम्पीय गतिविधिका कारण त्यहाँका बासिन्दाहरूमा ठुलो भूकम्पको त्रास बढेको छ । उनीहरू केही दिनदेखि राम्ररी सुत्नसम्म सकेका छैनन् । थकित भएका छन् ।”
एक स्थानीयले क्षेत्रीय प्रसारक एमबिसीसँग भने, “यो टापु निरन्तर हल्लिएको जस्तो महसुस भइरहेको छ । निदाउन पनि धेरै डरलाग्दो अवस्था छ ।”
“यो सबै कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट छैन । मैले आफ्ना बच्चाहरूलाई अन्यत्र सार्ने वा घर खाली गर्ने कि नगर्ने भनेर सोच्नुपर्ने भएको छ,” अर्का एक बासिन्दाले भने । जेएमएका अनुसार यसअघि, सेप्टेम्बर २०२३ मा टोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिएको र ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो । रासस/एएफपी