• १९ असार २०८२, बिहिबार

भारतको बङ्गलादेश क्रिकेट भ्रमण पुनर्निर्धारित हुनसक्छ

blog

ढाका, असार १८ गते  भारत सरकारबाट स्वीकृति आवश्यक पर्ने भएकाले भारतको अगस्टमा हुने बङ्गलादेशको सेतो बल (ह्वाइट बल) को भ्रमण पुनर्निर्धारित हुनसक्ने बङ्गलादेशका एक वरिष्ठ क्रिकेट अधिकारीले बुधबार बताएका छन् ।

तीन एकदिवसीय र तीन टी-२० खेलसहित यो शृङ्खला अगस्ट १७ देखि ढाकामा सुरु हुने तालिका छ । यद्यपि बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) मिडिया कमिटीका अध्यक्ष इफ्तिखार रहमानले यसको भारतीय समकक्ष बिसिसिआईले उहाँहरूलाई भ्रमण ढिलाइ हुनसक्ने जानकारी दिएको बताउनुभयो ।

बिसिसिआईले यस भ्रमणका बारेमा कुनै टिप्पणी गरेको छैन । “यो भ्रमण एफटिपी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको भविष्य भ्रमण कार्यक्रम) को हिस्सा हो त्यसैले रद्द गर्ने विकल्प छैन । तर यसलाई पारस्परिक रूपमा सुविधाजनक समयमा पुनर्निर्धारित गर्न सकिन्छ”, रहमानले थप विवरण नदिई भन्नुभयो ।

बिसिबीका स्रोतहरूका अनुसार भ्रमण भारत सरकारको सहमतिको सङ्केतको प्रतीक्षामा छ । सन् २०२४ अगस्टमा बङ्गलादेशको जन विद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि ढाका र नयाँदिल्लीबिच हालैको कूटनीतिक तनावपछि यो अनिश्चितता आएको हो । बङ्गलादेशले सन् २०२४ सेप्टेम्बर-अक्टोबरमा दुई टेस्ट र दुई टी-२० खेलका लागि भारतको भ्रमण गरेको थियो । रासस/एएफपी